काठमाडौंमा थालियो राहत वितरण, परिवारअनुसार चामलसहितको प्याकेट हुने



ईश्वरराज ढकाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले राहत वितरण शुरु गरेको छ । एक जना विपन्नका लागि चार किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारी वितरण गरिनेछ ।

 

दुईदेखि चार जनाको परिवारलाई १२ किलो चामल, दुई किलो दाल, एक किलो नुन, आधा लिटर तेल, दुई किलो चिउरा र तीन किलो तरकारी हुनेछ । त्यस्तै पाँच जनाभन्दा धेरै परिवारलाई १६ किलो चामल, तीन किलो दाल, एक किलो नुन, एक लिटर तेल, तीन किलो चिउरा र तीन किलो तरकारी छ ।
कामपाले तयार गरेको ‘कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड २०७६’मा व्यवस्था भएअनुसार राहत वितरण शुरु गरेको हो ।

 

मापदण्डअनुसार अति विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने भएको छ ।
कामपाले वडास्तरीय समितिले केही साना वडाको परिवारलाई राहत वितरण शुरु गरिसकेको छ भने बाँकी वडाको हकमा केही दिनभित्र तथ्याङ्क संकलन गरी राहत वितरण गर्नेछ ।

 

राहतमा सबै सामग्री भएको प्याकेट व्यवस्था गरिएको छ । सो प्याकेट एक साताका लागि भएको कामपा प्रशासन महाशाखा प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार केही वडाले राहत वितरण शुरु गरेको र केहीले फारम भर्ने काम गरिरहेका छन् । सरकारले एकसाताका लागि लकडाउन थप गरेको कारण उक्त सामग्री एक साताका लागि मात्रै भएको उहाँको भनाइ छ ।

 

कामपाका मेयर विद्यासुन्दर शाक्यले दैनिक ज्यालादारीमा रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खानकै लागि समस्या पर्ने भएकाले समान प्रकारको राहत र सहयोग उपलब्ध गराउन मापदण्ड बनाइएको जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो– ‘राहत विवरण गर्न समिति गठन गरिसकेको छ । महानगरले केही दिनभित्र राहत बाँढ्नेछ । राहत वितरण गर्न ठूला वडालाई चार, मझौलालाई तीन र सानो वडालाई दुई लाख रुपियाँ उपलब्ध गराएको छ ।’

 

मापदण्डले महानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका अनाथाश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिद आदिमा आश्रित व्यक्ति उल्लेख गरेको छ ।

 

आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौ धौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ ।

 

दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिबाहेक काठमाडौं महानगरमा विगतदेखि दैनिकरुपमा ज्याला मजदुरी गर्दै आएका, काठमाडौंमा घर जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने कामदार तथा मजदुर उल्लेख छ । तर काठमाडौंमा घर जग्गा भएका वा नभएका बेरोजगार युवालाई यो मापदण्डले समेट्दैन ।

 

मापदण्डअनुसार वडाले राहत वितरण गर्न तयार विवरणमा नाम समावेश भएका परिवारलाई राहत दिनुपर्नेछ । यसबाहेक वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्थासमेत गर्न सक्नेछ ।

 

राहत वितरण गर्न वडाले धार्मिक, परोपकारी वा यस्तै उद्देश्य भएका संस्थाको सहयोग लिन वा परिचालन गर्न सक्ने व्यवस्था मापदण्डमा छ ।
दाताले असहाय, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई खाना, खाजा र यस्तै खाद्य पदार्थ तथा सामग्री वितरण गर्न चाहेमा स्थानीय प्रहरीको समेत सहयोग लिई वडाले सामग्री वितरणको व्यवस्था मिलाउन सक्नेछ ।

 

मापदण्डमा उल्लेख भएका खाद्य सामग्री खरिद गर्न ‘महामारी तथा अन्य रोग नियन्त्रण कार्यक्रम’ शीर्षकमा वडामा निकासा भएको रकमबाट खर्च गर्नुपर्नेछ। खर्च गरेको दैनिक प्रगति विवरण मेयरसमक्ष पठाउनुपर्नेछ ।

 

सबै वडाले गर्ने कामको समानस्तर र अभिलेख प्रणाली एउटै बनाउन मापदण्डमा दुईवटा अनुसूची उल्लेख छ । पहिलोमा असहाय, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिको विवरणसम्बन्धी फारम र अनुसूची २ मा राहत सामग्रीसम्बन्धी विवरण उल्लेख छ ।

 

वडाले व्यक्तिको विवरण लिँदा नाम थर, स्थायी ठेगाना, अस्थायी ठेगाना, घरधनीको नाम थर, कार्यरत क्षेत्र, परिवार संख्या उल्लेख गर्नुपर्छ । परिवार संख्यासँगै अभिभावकसँग एकाघरमा बस्ने व्यक्ति–व्यक्तिबीचको नाता पनि उल्लेख गर्ने व्यवस्था गरेको छ ।

 

निवेदक र उसको परिवारको सदस्यको नागरिकताको प्रतिलिपि समावेश गर्नुपर्नेछ । नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्र समावेश गर्नुपर्नेछ । यसरी भरिएको विवरण फारमलाई वडाध्यक्षले प्रमाणित गर्नुपर्ने मापदण्डमा उल्लेख भएको मेयर शाक्यको भनाइ छ।

 

१५ वडामा समिति गठन

काठमाडौं महानगरको वडा १५ वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा ‘राहत वितरण तथा व्यवस्थापन समिति’ गठन गरेको छ ।

 

हिजो बुधबार स्थानीय राजनीतिक प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय संघसंस्था, सामाजिक कार्यकर्तासहितको १५ सदस्यीय समिति गठन गरिएको हो ।

 

समितिको सदस्यमा वडा सदस्यहरु निमा घ्याम्छो तामाङ, आनन्दराम गौतम, मैयालक्ष्मी महर्जन, अनिता परियार छन् ।

 

राजनीतिक दलतर्फ नेकपाका रत्नकाजी महर्जन र उदय पसखल, नेपाली कांग्रेसबाट काठमाडौं जिल्ला समिति सदस्य एवं सामुदायिक सेवा मञ्चका अध्यक्ष अमिन पाण्डेय, नेपाली कांग्रेस क्षेत्र नं ८ का क्षेत्रीय सभापति बद्री नेपाल, राप्रपाका केन्द्रीय सदस्य केदारबहादुर धमला, माओवादी (क्रान्तिकारी)का किरणराज शाही, संघीय समाजवादी पार्टीका मङ्गलरत्न ताम्राकार हुनुहुन्छ ।

समितिको सदस्य–सचिवमा वडा सचिव जयदेव घिमिरे रहनुभएको छ । समितिको कामलाई नेपाली सेना, महानरीय प्रहरी वृत्त स्वयम्भू, सशस्त्र प्रहरीले सहयोग गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्