सयौं भारतीय नागरिक प्रहरी नियन्त्रणमा



कृष्णउदास खनाल, वीरगन्ज । 

कोभिड–१९को संक्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने तीन सय ५२ भारतीय नागरिकलाई बुधबार पर्सा प्रहरीले वीरगन्जबाट नियन्त्रणमा लिएको छ ।वीरगन्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३ सय ३६ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

देशको विभिन्न स्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगन्ज नाकाबाट भारततर्फ जाने क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।

 

उहाँले नियन्त्रणमा लिइएकालाई हाल वीरगन्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी कम्यापसको एजुकेसन भवनमा राखिएको बताउनुभयो । काठमाडौं, चितवन, मकवानपुर, पोखरालगायतका स्थानमा रही काम गर्दै आएका भारतीय नागरिक मालवाहक वाहनमा लुकिछिपी तथा पैदल यात्रा गर्दै वीरगन्जसम्म आइपुगेको प्रहरीले जनाएको छ ।

 

मंगलबारदेखि नै प्रहरी नियन्त्रणमा रहेकालाई आदर्शनगर ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले खानाको प्रबन्ध गरेको छ । उनीहरुलाई क्वारेनटाइनमा राख्ने विषयमा छलफल भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्