पाल्पामा कोरोना संक्रमणबाट बच्नका लागि सुरक्षात्मक उपाय अपनाइदै



कविराज नेपाल, पाल्पा ।

पछिल्लो समय विश्वभर संन्त्रास फैलाइरहेको कोरोना संक्रमणबाट बच्नका लागि जिल्लामा सुरक्षात्मक उपायहरुलाई कडाइका साथ पालना गर्न र गराउन थालिएको छ ।

सरकारले लागू गरेको लक डाउनको पूर्ण पालना गर्ने, संकास्पद व्यक्ति लाई क्वारेन्टाइनमा राख्ने, आइसोलेसन कक्ष निर्माण गर्ने देखि लिएर नयाँ र अपरिचित व्यक्तिलाई गाउ प्रवेशमा रोक लगाउने लगायतका उपाय यस अघि भएकोमा पछिल्लो समयमा पाल्पा जिल्लामा सरसफाइ गर्ने, सामाजिक दूरी कायम गर्ने, एम्वुलेन्स चालक र विरामी बीच दूरी व्यवस्थापन गर्ने, छुट्टै ज्वरो क्लिनिक संचालन गर्न थालिएको छ । त्यसै गरी फैलिरहेको कोरोना संक्रमणबाट बच्नका लागि जिल्लामा संवेदनशील स्थानमा किटनासक ओैषधी( डिस इन्फेक्सन स्प्रे ) गरिन थालेको छ । यि प्रयासहरुले गर्दा कोरोना संक्रमणलाई धेरै हदसम्म रोक्न सकिने विश्वास सरोकारवालाहरुको रहेको छ ।

कोरोना संक्रमणलाई रोक्नका लागि जिल्लामा सञ्चालित एम्बुलेन्स सञ्चालक संस्थाहरुले चालक र विरामीको दुरी व्यवस्थापन गर्न लागेका छन् । चालकहरुले आफुहरु असुरक्षित भएकाले एम्बुलेन्स नचलाउने घोषणा गरेपछि कोरोना संक्रमण रोकथाम तथा उपचारार्थ गठित कमाण्ड पोष्टको बैंठकले एम्बुलेन्स सञ्चालक संस्थाहरुलाई बिरामी र चालकको बीचमा अनिवार्य रुपमा बार वा पर्दा लगाएर चालकको सुरक्षालाई ध्यान दिदै एम्बुलेन्स चलाउन निर्देशन दिएसँगै चालक र विरामीको दुरी व्यवस्थापन गर्न लागेका हुन् । एम्बुलेन्समा जस्तासुकै विरामीहरु पनि राखेर अस्पताल पु¥याउनु पर्ने भएकाले चालक र विरामीको दुरीलाई व्यवस्थापन गरी चालकलाई सुरक्षित राख्नका लागि आफुहरुले एम्बुलेन्समा बार लगाएर सञ्चालन गरिएको रेडक्रस पाल्पा शाखाका कार्यक्रम अधिकृत विनोद भारतीले बताउनु भयो । उहाले भन्नुभयो – ‘एम्बुलेन्स चालक विरामीहरुबाट बढी जोखिममा रहने भएकाले उसको सुरक्षाका लागि माक्स,गलप्स,चस्मा, रेनकोट, क्यापको व्यवस्था गरेका छौं ।’

संयुक्त एम्बुलेन्स चालक संघ जिल्लाका अध्यक्ष सुरज केसीका अनुसार त्रासैत्रासमा विरामी बोक्नु पर्ने बाध्यता रहेकाले चालकको व्यक्तिगत सुरक्षाको व्यवस्था हुनुपर्छ । यसका लागि आवश्यक प्रवन्ध हुनुपर्ने उहाको माग छ । जिल्लामा जम्मा २२ वटा एम्वुलेन्स छन । जसका चालकको सुरक्षाको प्रवन्ध हुनुपर्ने जिल्लाका सरोकारवालाहरुले बताउँदै आएका छन् । चालकको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को व्यवस्था हुनुपर्ने चालकको माग छ । जिल्लाका सबै स्थानीय तहलाई एम्बुलेन्स र चालकलाई सुरक्षित रुपमा तयारी अवस्थामा सहन निर्देशन दिएको जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख मीरा मरासिनीले वताउनु भयो ।

उता बिरामीले अस्पतालबाट उपचार नपाएको गुनासो हुन थाले पछि जिल्लाका चार अस्पतालहरूमा ज्वरो आएका विरामीका लागि छुट्टै ‘फिभर क्लिनिक’ सञ्चालनमा आएको छ । जिल्लाका पाल्पा अस्पताल, लुम्विनी मेडिकल कलेज, प्रभास, युनाइटेड मिसन अस्पताल र रामपुर अस्पतालले फिभर क्लिनिक सञ्चालन गरेका हुन् ।

‘फिभर क्लिनिक’ सञ्चालन पछि ज्वरो, रुघाखोकीका बिरामीले सहज रुपमा उपचार पाएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । केही दिन अघि यहाका प्रतिष्ठित अस्पतालले ज्वरोका विरामीलाई अस्पतालको गेटबाटै फर्काएको गुनासो आएपछि जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्य टोलीले समेत आइतबार बैठक बसेर हरेक अस्पतालमा विरामीकलाई आवश्यक उपचार गर्नुपर्ने र अनिवार्य रुपमा फिभर क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको थियो ।

तानसेनका संवेदनशील स्थानमा औषधी छर्कन सुरु : 

त्यस्तै कोरोनाबाट सुरक्षित रहनकै लागि जिल्ला सदरमुकाम तानसेनका विभिन्न स्थानमा रासायनिक औषधी छर्कन सुरु गरिएको छ ।
तानसेनका संवेदनशील स्थानमा रासायनिक औषधी छर्कने काम (डिस इन्फेक्सन स्प्रे ¬) नगरका सम्वेदनशिल मानिने बसपार्क, लहरेपीपल, आन्दोलनचोक, शित्तलपाटी, हुलाकचोक, टक्सार हुँदै विशालबजारसम्म गरिएको हो ।

पहिलो चरणमा तानसेन वडा नं ६, स्थित जनप्रिय माविमा स्थापना गरिएको क्वारेन्टाइन क्षेत्रमा स्प्रे गरिएको तानसेन नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले जानकारी दिनुभयो । उहाका त्यसपछि अर्काे चरणमा तानसेनमा अति भीडभाड हुने क्षेत्र, फोहोर हुने क्षेत्रलाई आधार बनाएर हानिकारक कीटनासक औषधि छर्किने काम गरिएको हो ।

डिस इन्फेक्सन स्प्रे छर्किने काम नगरका अन्य स्थानमा पनि हुने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो र्।
त्यसै गरी पछिल्लो समयमा भिडभाड नगर्ने, जथाभावि वाहिर ननिस्कने र पसलहरुमा निश्चित दूरी वनाएर सामान किन्ने गोलो घेरा वनाउने गर्न थालिएको छ भने घरमा पनि सुरक्षात्मक उपायहरु गर्न थालिएको पाइएको छ ।

सुरक्षात्मक उपाय :

 लक डाउनको पूर्ण पालना गर्ने

 संकास्पद व्यक्ति लाई क्वारेन्टाइनमा राख्ने

 आइसोलेसन कक्ष निर्माण गर्ने

 अपरिचित व्यक्तिलाई गाउ प्रवेशमा रोक लगाउने

 सामाजिक दूरी कायम गर्ने,

 एम्वुलेन्स चालक र विरामी बीच दूरी व्यवस्थापन गर्ने,

 छुट्टै ज्वरो क्लिनिक संचालन गर्न

 संवेदनशील स्थानमा किटनासक ओैषधी छर्कने

 पसलहरुमा निश्चित दूरी वनाएर सामान किन्ने

प्रतिक्रिया दिनुहोस्