कोरोना प्रभाव : कालिकामा पूजा र बलि नहुने



शिक्षा पन्त,लमजुङ  ।

वर्षेनि लमजुङ कालिकामा दिइदै आएको बलि र पुजा यसवर्ष रोएिको छ । कोरोना भाइरस (कोभिड १९) बाट जोगिन र यसको रोकथामका लागि सरकारी निर्णयअनुरुप कालिका मन्दिरमा यसवर्ष पूजापाठ,बलि र मेला रोकिएको बेसीशहर नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष सूर्यकुमार श्रेष्ठको भनाई छ ।

लमजुङ कालिका मन्दिरमा यसवर्ष चैतेदसैंमा भक्तजनले गर्ने पूजापाठ र बलि रोकिएको हो । कालिका मन्दिरको दरबार क्षेत्रमा चैते दसैंका दिन ठूलो मेला लाग्ने भएपनि यसवर्ष पहिलोपटक मेला नहुने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । मन्दिरका मूल पुरोहित माधव प्रसाद बरालका अनुसार मन्दिरमा जो कसैलाई पनि आउन प्रतिबन्ध लगाइएको छ ।

उहाँका अनुसार नियमित पूजापाठअन्तर्गत बुधबार प्रतिपदादेखि सरकारी बलि दिने कार्यक्रम सुरु भएको छ । तिनै कालिकालाई भूमिसुधार मन्त्रालय अन्तरगतको गुठी संस्थानले मालपोत कार्यालयमार्फत बर्षेनी बलि चढाउँदै आएका थिए ।

पहिले जिल्ला प्रशासन कार्यालय मार्फत पूजा गराउँदै आएकोमा देशमा राजा हटेपछि मालपोत कार्यालयमार्फत हुँदै आएको छ । लमजुङ कालिका मन्दिर ५ सय वर्ष पुरानो मानिन्छ । नियमित पूजापाठ भने केही पूजारीले गर्दै आएका छन् । वि.सं. १५५० मा कास्कीबाट ल्याइएका राजा यशोब्रम्ह शाहले गाउँसहर दरबारसँगै कूलपूजाका लागि कालिका मन्दिर स्थापना गरेको इतिहासमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्