कोरोना भाइरस: निजी अस्पताललाई जवाफदेही बनाउनुपर्ने मागसहित सर्वोच्च बारद्धारा रिट निवेदन दायर



विकास भट्टराई, काठमाडौं ।

 

कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि निजी अस्पताललाई पनि जवाफदेही बनाउनलगायतका माग राखी सर्वोच्च अदालत बार एशोसिएशनले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ । सो रिट निवेदनको प्रारम्भिक सुनुवाई आजै मंगलबार हुँदैछ । सो सुनुवाईका लागि न्यायाधीश मनोजकुमार शर्माको इजलास तोकिएको छ ।

 

रिट निवेदनमा राज्यले अत्यावश्यक सेवाका लागि बनाएको नियम कानून निजी अस्पतालले पनि पालना गर्नु पर्ने उल्लेख गर्दै लागेको खर्च सरकारसँग सोधभर्ना हुने गरी त्यस्ता अस्पतालले पनि आइसोलेसन बेड तयार गर्न लगाउनु पर्ने जनाइएको छ ।

 

गम्भीर प्रकृतिका अपराधमा संलग्न भएका बाहेक अन्य फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका र हिरासतमा रहेका आरोपीलाई जमानी छाड्न आदेशको माग पनि रिट निवेदनमा गरिएको छ ।

 

कोरोना भाइरसबाट संक्रमित भएका र आशंकित ब्यक्तिलाई घरबाट नै सुरक्षित रुपमा आइसोलेसनमा पुर्याउने व्यवस्थाका लागि सरकारलाई आदेश दिन पनि सर्वोच्च बारले अदालतसँग माग गरेको छ ।

 

सुरक्षित माक्स तथा सेनिटाइजर सर्वसुलभ रुपमा उपलब्ध गराउन, टोलटोलमा भीडभाड नहुने गरी घूम्ती पसल, सुपथ पसल, अनलाइन सेवालगायतबाट अत्याबश्यक खाद्य बस्तु, तरकारी, दूध, पानीलगायतको व्यवस्था गर्न पनि आदेश हुनुपर्ने माग रिट निवेदनमा गरिएको छ ।

 

रिट निवेदनमा यस्ता ब्यवस्थाहरुको लागि कार्यान्वयन गर्न कानून अभाव भएमा अध्यादेशमार्फत आवश्यक कानून तर्जुमा गर्न लगाउन पनि बारले माग गरेको छ । यसरी अध्यादेश जारी गर्नु अघि संसदको दुवै सदनको अधिवेशन अन्त्य हुनु पर्ने रिट निवेदनमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्