भरतपुरको खाद्य उद्योगमा आगलागी



न्युज अफ नेपाल,चितवन ।

मंगलबार बिहान भरतपुर ४ स्थित लंकू धारापानी चोकनजिक रहेको सरस फूड इन्ड्रस्ट्रिजमा आगलागी भएको छ । अनिल अग्रवालले सञ्चालन गरेको सो उद्योगमा दालमोठ, बदाम। फुरनदानालगायतका खाद्य सामग्री उत्पादन हुन्थ्यो । स्थानीय रघुनाथ सापकोटाका अनुसार बिहान पाँच बजेतिर उद्योग क्षेत्रबाट धुँवाको मुश्लो निस्केको थियो । आकासमा फैलिएको सो मुश्लो टाढा टाढाबाट पनि देखिन्थ्यो ।

भरतपुर महानगरपालिकाका दुईवटा, खैरहनी नगरपालिका, नवलपुरको कावासोती नगरपालिका र नेपाली सेनाको एक–एकवटा गरी पाँचवटा दमकल तथा एउटा डोजर परिचालन गरेर बिहान नौ बजे तर आगलागी नियन्त्रणमा लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए । आगलागीका कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

आगलागीबाट तयारी सामग्री र बदाम, दाल, बेसनजस्ता कच्चा सामग्रीहरुका साथै तेल पनि नष्ट भएको छ । मुचुल्का उठाउने काम भइरहेका आगोले पुर्‍याएको नोक्सानीको आँकलन भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्