सिप्यान अवार्ड रकम कोरोना कोषलाई प्रदान



फिरोज राजोपाध्याय, काठमाडौँ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण कहि पनि केही पनि कार्यक्रम गर्न संभव बनेको छैन ।

विश्वभरिका ठूल्ठूला कार्यक्रम स्थगित हुँदै गएको अवस्था छ । यस्तो नाजुक स्थितिमा खेलकुदका कार्यक्रम गर्न पनि संभावना छैन । कोरोना भाइरसकै कारण नेपालमा पनि कुनै खेलकुद भएको छैनर । यस्तैमा क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले राम्रो निर्णय लिएको छ ।

सोमबार सीप्यानका अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले गरेको प्रेसविज्ञप्तिमार्फत् एनसीसीएस सिप्यान क्रिकेट अवार्ड रद्द गरेको जानकारी गरायो । साथै अवार्डको पुरस्कार रकम नेपाल सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा दिने निर्णय लिएको छ । सो अवार्डको कूल पुरस्कार रकम ४ लाख ६२ हजार रुपियाँ उक्त कोषमा दिने लागेको हो ।

विज्ञप्तिमा भनिएको छ,’ हालको परिस्थितबाट सिर्जित आवश्यकता र प्राथमिकतालाई मध्यनजर राख्दै सरकारले खडा गरेको कोषमा सम्पूर्ण क्रिकेट खेलाडीलाई प्रतिनिधित्व गर्दै सीपान र एनसीसीएस गु्रप को तर्फबाट पुरस्कार रकम जम्मा गर्ने जानकारी गराउँछौं । ‘

एनसीसीएस गु्रप सीप्यान अवार्डका प्रायोजक हुन्, जसमा काठमाडौंका नेसनल कलेज अफ कम्प्युटर स्टडिज, नेसनल क्रिएटिभ को एडुकेसनल स्कुल र एनसीसीएस हाइर सेकेण्डरी स्कुल रहेका छन् । सिप्यानले विभिन्न ५ विधामा क्रिकेट खेलाडी पुरुष, महिला, उदीयमान क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने सार्वजनिक गरेको थियो । ५ विधामा दिने रुकम ४ लाख ६२ हजार रुपैयाँ कोषमा दिइने जनाएको थियो ।

उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १ लाख ३२ हजार रुपैयाँ तथा वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डको विजेताले समान ६६ हजार रुपैयाँ दिने घोषणा गरिएको थियो । तर विश्वभरि उब्जेको विषम परिस्थितिले गर्दा चैत २१ गते हुने भनिएको सो अवार्ड स्थगित भएको छ र आगामी वर्ष गर्ने आयोजक सिप्यानले जनाएको छ ।

विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण ३० हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने ७ लाख भन्दा बढी संक्रमित छन् । नेपालमा ५ जनामा कोरोना भाइरसको संक्रमण भएको अहिलेसम्मको दाताले जनाएको छ । त्यसमध्ये १ जना उपचारपछि निको भइसकेका छन् भने ४ जना उपचार गराइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिप्यानले विज्ञप्तिमार्फत् नै चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित सम्बन्ध सबैको योगदानप्रति सम्मान गर्दै कोरोनाभाइरस नियन्त्रणमा आउने विश्वास समेत गरेको छ ।

यसअघि नेपालका नम्बर एक स्पिनर सन्दीप लामिछानेले सरकारले खडा गरेको कोषका लागि १ लाख रुपियाँको सहयोग प्रदान गरेका थिए । यस्तै खेलकुदतर्फबाट अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना चार वटा एकेडेमीलाई क्वारेन्टिनका लागि सरकारलाई उपलब्ध गराएको छ । तर अझै पनि अन्य खेलकर्मी भने सहयोगका लागि अघि बढेको देखेको छैन ।

प्रतिक्रिया दिनुहोस्