विदेशबाट आएका व्यक्तिलाई गाउँ प्रवेशमा रोक



कविराज नेपाल, पाल्पा ।

कोरोना भाइरसको संभावित जोखिमबाट बच्नका लागि सरकारले लकडाउन र विदेशबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न निर्देशन दिएपनि त्यसलाई कडाइका साथ पालना नभए पछि पाल्पा जिल्लाका गाउँहरुमा गाउँ प्रवेश निषेध गरी वाहिरबाट आएका व्यक्तिलाई कडाइ गर्न थालिएको छ । खासगरी विदेशबाट आएका धेरै व्यक्तिहरु खुलेआम घुमेको र गाउका व्यक्तिहरु पनि खुलेयाम हिडडुल गर्ने, भोजभतेर गर्ने रमाइलो गर्ने आदी गरेको हुदा लक डाउनलाइ कडाइ गर्नका लागि नाका थुन्ने काम भएको हो ।

पश्चिम पाल्पाको रिव्दीकोट गाउ पालिकामा वडा कार्यालयले नै वाटोमा प्लाष्टिकका ड्रम तेर्साएर नाका वन्द गरेको छ । सरकारको नियमलाई पूर्ण पालना गर्नका लागि अत्यवस्यक काम भएमा घर वाहिर निस्कने अन्यथा घरभित्रै वस्न भनिएको वडा अध्यक्ष विष्णु गैरेले वताउनु भयो ।

त्यसै गरी पूर्वी पाल्पाको निस्दी गाउँपालिका ६ अर्चले नारी भञ्ज्याङ्ग टोलका स्थानीयहरुले अपरिचित तथा अन्य स्थानबाट आएका व्यक्तिहरुलाई गाउँ प्रवेशमा रोक लगाएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण फैलन नदिन सरकारले लकडाउनको घोषणा गरे पनि मानिसहरुको आवतजावत नरोकिए पछि नाकाहरुमा वार लगाएर हालेर प्रवेश निषेध गरेका हुन् । लेकाली युवा क्लबको सक्रियतामा स्थानीयहरुले पूर्वखोलाको सिलुवाबाट अर्चले हुँदै मित्याल जोड्ने सडकको दुर्व तर्फ बार लगाएका हुन ।

 

क्वारेन्टाइनमा राख्न समस्या : 

पाल्पा जिल्लामा कोरोना भाइरसको सम्भावित संक्रमण, फैलावट र त्यसबाट निम्तिन सक्ने विपद् व्यवस्थापनका लागि स्थानीय तहले तीन सय बढी क्वारेन्टाइनहरु निर्माण गरेपनि अधिकांस खाली नै रहेका छन् । स्थानीय तहले विद्यालय, स्वास्थ्य संस्था तथा खाली चौरलाई उपयोग गर्दै निर्माण गरेका अधिकांश क्वारेन्टाइनहरुमा हालसम्म करिव एक सयको हाराहारीमा विदेशवाट आएका व्यक्ति मात्र वसेका छन । भारत तथा तेस्रो देशबाट आएका नागरिकहरु सेल्पm क्वारेन्टाइनमा वस्ने भन्दै क्वारेन्टाइनमा बस्नै नमानेपछि खाली रहेका हुन् । स्थानीय तहले भन्दा सेल्फ क्वारेन्टाइनमा वस्ने विदेशबाट आएका धेरै व्यक्तिहरु खुलेआम घुमेका छन् ।

जिल्लाका स्थानीय तहले निकालेको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा १ हजार १ सयको संख्यामा भारत लगायत तेस्रो मुलुकबाट नागरिकहरु जिल्ला प्रवेश गरेको भनिएको छ तर तराइको सिमानासँग जोडिएका तिनाउ, माथागढी, रैनादेवी छहरा र निस्दी गाउँपालिकाको बाटो भएर विभिन्न नाकाहरुबाट लुकिछिपी मानिसहरु प्रवेश गर्ने गरेका छन् । जसले गर्दा कोरोना संक्रमणको जोखिम रहने भन्दै स्थानीयवासीहरुले चिन्ता व्यक्त गरिहेका छन् ।

विपन्न परिवारको खोजी :

दैनिक रुपमा ज्यालादारी गरेर जीविकोपार्जन गर्नुपर्ने परिवारलाई लक डाउनका कारण असजिलो भएको गुनासो वढेपछि यहाका स्थानीय तहले विपन्न परिवारका लागि दैनिक उपभोग्य सामाग्री वितरण गर्ने प्रयोजनका लागि तथ्याङ्क संकलन गर्न थालेका छन । पहिले तथ्याङ्क संकलन गर्ने र आवश्यकता अनुसार सामाग्री वितरण गर्ने माथागढी गाउपालिका अध्यक्ष सन्तोष थापाले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्