युरोपेलीहरु पनि यसरी नै ‘लकडाउन’ को बेवास्ता गर्थे…

-लक्ष्मण अधिकारी



????????????????????????????????????

‘हिजो एक दुई जनालाई कोरोना भाइरस देखिंदा सरकारी अनुरोधको वेवास्ता गरियो, आज लास उठाउने मानिस पनि भेटिन छोड्यो, लाससँग सुत्नुपर्ने कहाली लाग्दो स्थिति उत्पन्न भएको छ ।’कोरोनाग्रस्त युरोपियन मुलुकका विशेषज्ञहरु र त्यहाँस्थित नेपालीहरुले यस्तै अनुभव प्रसारण गरिरहेका छन् ।

उनीहरुको अनुभव छ, इटालीमा जनवरीमै कोरोना भाइरस देखिदा पनि शुरुमा वास्तै गरिएन, संक्रमित र मृतकको संख्या तीब्र गतिमा बृद्धि भएपछि सरकारले लकडाउनको घोषणा त गर्‍यो तर मानिसहरु घरमा नवसी बाहिर निस्के । आज उनीहरु रुदै भनिरहेका छन् ‘लकडाउनका वेला घरमा नवस्नु नै महाभूल भयो ।’

इटालीमा बस्ने नेपालीहरु नेपालतिर फर्केर भनिरहेका छन, ‘इटालीमा गरिएको गल्ति नेपालमा नदोहोरियोस्, हुलबाँधेर बाहिर ननिस्कीदिनुस्, घरमै बसिदिनुस् प्लिज।’

फ्रान्सका एक नेपाली युवाले भनेका छन्, ‘रोग संक्रमण हुन्छ भनेर आफन्तलाई लास छुन समेत दिइएको छैन, सरकारी मानिस दुई–तीन दिनपछि आउँछन् र लट्ठीले घोचेर हुत्याउँदै लास लैजान्छन् ।’

हाल दैनिक आठ सयभन्दा बढी नागरिकहरुले कोरोना भाइरसकै कारण जीवन गुमाइरहेको इटालिका वासिन्दाको अनुभव छ, ‘सुरुमा यसलाई मजाकको रुपमा लिएर उडाइयो, सामाजिक जमघट, फुटवल गेमहरु, सपिङ, स्विमिङ, जिम, डान्स क्लव र घरायसी जमघटहरु कुनैमा कमी गरिएन तर आज जब कोरोनाले महामारीको रुप लियो, तब शहरमा सन्नाटा छाएको छ, आम मानिसहरु भयभित भएर नजरबन्द जस्तै उकुसमुकुसमा बसिरहेका छन्, उपचार गर्ने सामग्री र जनशक्तिको अभावमात्र होइन, लास सदगद गर्ने मानिसको पनि अभाव पैदा भएको छ । यस्तो गल्ति कसैले नगरोस् ।’

इटाली, फ्रान्स, स्पेनको हालत लगभग उस्तै छ । हालैका घटनाहरुलाई हेर्दा बेलायत, जर्मनी, अष्ट्रेलिया र अमेरिकाको स्थिति पनि यतै तिर बढिरहेको छ । नागरिकले विलासी जीवन जीउने र स्वतन्त्रताको उपभोग गर्ने कुरालाई आममानिसको जीवनको मूल्यभन्दा बढी महत्व दिएका कारण पनि सुविधा सम्पन्न ती विकसित मुलुकका शहरहरुमा सन्नाटाको गहिराई र लासको थुप्रो सँगसँगै बृद्धि भइरहेको ।

उता व्यक्तिगत स्वतन्त्रता भन्दा मानिसको जीवनलाई बढी महत्व दिइरहेका चीन, जापान, दक्षिण कोरिया, सिंगापुरले सामाजिक सम्बन्ध विच्छेद र एकान्तवासको अनुशासनलाई शुरुमै कडाइका साथ पालना गराएकाले रोगलाई लगभ नियन्त्रणमा लिइसकेका छन् । तर युरोप अमेरिका र अष्ट्रेलियामा रोग नियन्त्रणभन्दा बाहिर गइरहेको तथ्यांयकहरुबाट देखिएको छ । ती देशहरुमा हरेक दिननयाँ संक्रमणका रोगी र मृत्यु हुनेको संख्या बृद्धि भइरहेको देखिन्छ । अहिले अमेरिकामा संक्रमितको संख्या एक लाख २०हजार नाघेर सवैभन्दा बढी संक्रमित भएको मुलुक बन्न पुगेको छ । राष्ट्रपति ट्रम्प अभिमानको सुइ अलिकता डाउन गरेर चिनिया राष्ट्रपतिसँग ‘मिलेर काम गरौँ’ भन्ने तहमा पुगेका छन् ।

कोरोना भाइरसग्रस्त मुलुकका भुक्तभोगीहरुको कहाली लाग्दा अनुभव सुनिरहेका नेपाली विश्लेषकहरुले नेपालमा अझ त्योभन्दा भयावह स्थिति उत्पन्न हुनसक्ने आंकलन  गरिरहेका छन् । नेपाल सरकारले रोग नियन्त्रणका लागि सामाजिक सम्बन्ध विच्छेदको हतियार अघि सारेर लकडाउन घोषण गरेको छ । तर मुलुकभर यसको कडाइका साथ पालना हुननसक्दा नेपालमा कोरोना भाइरसको महाहामारीको संकट टर्नेभन्दा बढ्ने खतरा धेरै देखिदै छ ।

कोरोनाको सन्त्रास फैलिएसँगै युरोप, अमेरिका, अष्ट्रेलिया, खाडी राष्ट्र, भारत, चीनलगायतका छिमेकी मुलुकहरुबाट लाखौँ नेपाली मुलुक भित्रिएका छन् । ती सवै मानिसहरुलाई कोरोना भाइरस नलागेको होस् भनेर प्रार्थना गर्नसम्म त सकिन्छ तर यथार्थता त्यस्तो छैन् ।

रोगको लक्षण देखिन भाइरस संक्रमण भएको तीनचार दिन देखि दुई हप्ता सम्मलाग्ने हुँदा योबीच धेरैलाई संक्रमण भइसक्ने खतरा हुन्छ । यसैका कारण आइतवारसम्म विदेशबाट आएका पाँच जनामा रोग देखिइसकेको छ । यसबीच ती संक्रमित मानिसहरु को को सँगको सम्पर्कमा आए र तीमध्ये कति संक्रमित भए भन्ने आंकलन कसैले गर्न नसक्ने स्थिति छ ।

कोरोना संक्रमित धनगढीका ३४ वर्षीय पुरुष चैत्र ६ गते दुबइबाट इमिरेट्स एयरको विमानमार्फत दिल्ली र त्यसपछि हवाइजहाजमै काठमाडौ आएका थिए । उनी काठमाडौ एक रात बसेर हवावाइ जहाजमार्फत नेपालगञ्ज र त्यसपछि बसमा धनगढी गएका थिए । यस्तैगरी नेपालमा भेटिएकी अर्को संक्रमित महिला चैत्र ४ गते बेल्जियमबाट कतार हुँदै काठमाडौ आएकी थिइन । उनी हवाइजहाजबाट पोखरा र त्यहाँबाट माइक्रो वसमा बाग्लुङ गएको बताइएको छ । उनलाई चैत्र सातगते ज्वरो आएर अस्पताल गएपनि रोगको पुष्टि भइनसक्दासम्म स्थानीय भेटघाटमा व्यस्त भएकी थिइन । उनलाई कारोना भाइरस संक्रमण भएको पुष्टि भएपछि मात्र बाग्लुङका स्थानीयवासीहरु र उनलाई भेट्ने परिचितहरु आतंकित भएका छन् ।

उनीहरुले कतिलाइ थाहानपाइ रोग सारे र उनीहरबाट कतिमा रोग फैलिइसकेको छ भन्ने कुरा अहिले तुरुन्तै भन्न सकिने स्थिति हुन्न । हरेकलाई यो भाइरस सरेको चौध दिनसम्ममा रोगका लक्षण देखिने भएकाले संक्रमितहरुको सम्पूर्ण श्रृङखला पत्तालाग्न डेढ दुई महिना नै कुर्नुपर्ने हुनसक्छ । जनवरीमा रोग देखापरेको इटालिमा मार्चको अन्त्यमा आइपुग्दा करिव दश हजारको मृत्यु भइसकेको छ भने ९० हजारभन्दा बढीमा संक्रमण फैलिइसकेको छ । अहिले बल्ल त्यहाँ कडाइका साथ लकडाउन कार्यान्वयन गरिदै छ ।

भारतको उदाहरण हेर्ने हो भने पनि त्यस्तै कहालीलाग्दो स्थिति छ । गत मार्च ७मा इटालीबाट पञ्जाव आएका एक भारतियलाई कोरोना भाइरसको संक्रमण भएको पाइयो र केही दिन अघि उपचारकै क्रममा उनको मृत्यु भयो । उनी भारत आउँदा कोरोनाको कुनै लक्षण थिएन । यसबीच उनले कैयौँ व्यक्तिसँग भेटघाट गरे । त्यसमध्ये २३ जनालाई रोग संक्रमण भएको पुष्टि भएको छ । यसमध्ये अघिकांस परिवारका सदस्य भएको बताइएको छ । यसबाहेक अरु कतिलाई उनी मार्फत रोग सरेको छ त्यो अझै ज्ञात भइसकेको छैन ।

यस हिसावले हेर्ने हो भने विदेशबाट आएका कति नेपालीहरु संक्रमित थिए र उनीहरुमार्फत कतिलाई रोग संक्रमण भयो भन्ने कसैले एकिन गर्न सकिने स्थिति नै छैन । केही दिन अघि मात्र भारतीय सीमा क्षेत्रबाट हजारौँको संख्यामा हुल बाँधिएर नेपालीहरु भित्रिएको सवैले देखेकै हो । भारत आफैँ संक्रमण दर बढ्दो अवस्थामा भएको मुलुक हो । त्यस्ता मुलुकबाट आएकाहरु राम्ररी परीक्षण नै नगरी गाउँ गाउँ पुगेका छन् । कमजोर स्वास्थ्य पूर्वाधार भएको नेपाल जस्तो मुलुकको ग्रामीण क्षेत्रमा यो रोग फैलियो भने सम्हाल्न नसक्ने स्थिति आउने निश्चित छ ।

यसको नियन्त्रणको उपाय भनेको उनीहरुलाई एकान्तवासमा राख्नु र निगरानी गर्नु नै हो । यसका साथै आम नेपालीले सरकारले गरेको लकडाउनको घोषणालाई पूर्ण पालना गरेर घरमा वस्नु नै हो । पछि रोग लागेपछि उपचारको भिख माग्नुभन्दा घर बसेर रोगबाट बच्ने सजिलो उपाय अपनाउनु नै बुद्धिमानी हुन्छ । युरोपको पीडाबाटै भए पनि हामीले केही त सिक्ने पर्छ ।

(अधिकारी स्वास्थ्य तथा सौन्दर्य मासिक साधनाका सम्पादक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्