उपचारमा खटिने कर्मचारीलाई २० लाखको बिमा



शिक्षा पन्त, लमजुङ  ।

लमजुङको मस्र्याङदी गाउँपालिकाले नोवेल कोरोना भाइरस विरुद्धको स्वास्थ्य उपचारमा खटिने कर्मचारीका लागि प्रति कर्मचारी २० लाख रुपैयाँको जीवन बिमा गर्ने भएको छ ।

उपाचारमा संलग्न स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र सवारी चालकको प्रति कर्मचारी २० लाखको जीवन विमा गर्ने निर्णय गरेको छ । बिहीबार गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा स्थापना गरिएको विपद् व्यवस्थापन कोषबाट हाललाई ५० लाखसम्म कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथाम सम्बन्धी आवश्यक कार्यक्रममा खर्च गर्ने निर्णय भएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार संक्रमण बढ्दै गई थप जटिलता उत्पन्न हुन गएमा अन्य शिर्षकबाट समेत रकमान्तर गरि कोष बृद्धि गर्ने निर्णय गरेको छ ।

बैठकले गाउँपालिका भित्र बसोबास गरी दैनिक ज्यालादारीमा निर्भर परिवारका लागि हालको विशेष परिस्थितिलाई मध्यनजर राखी सहयोग गर्ने भएको छ । हाललाई प्रति परिवारका लागि वडा सम्बन्धीत वडाध्यक्षको समन्वयमा पायक पर्ने स्थानीय खाद्य पसलबाट सामाग्री उपलब्ध गराउने भएको छ । प्रति परिवारलाई चामल ३० किलो, दाल ३ किलो, खाने तेल १ लिटर, नुन १ पोका, डिटोल साबुन ३ वटा दिने अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिकामा भित्रका आर्थिक रुपमा विपन्न नागरिकलाई कोरोनासंग सम्बन्धी उपचारका लागि नेपाल सरकारले तोकेको अस्पतालमा जान परेमा बढीमा १० हजार सहयोग गर्ने छ ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा आइसोलेशन कक्ष स्थापनाका लागि २ लाख दिने निर्णय गरेको उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्