‘लकडाउन’ लागु गरेपछि अस्पताल सुनसान



शिक्षा पन्त, लमजुङ ।

सरकारले मंगलबारबाट ‘लकडाउन’ लागु गरेपछि लमजुङका अस्पतालमा विरामीको संख्या घटेको छ ।

दैनिक सयौं संख्यामा विरामी सेवा लिन आउने गरेका अस्पतालमा खाली जस्तै भएको छ । बेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा अस्पताल आउनेको संख्या ह्वात्तै घटेको छ । मंगलबारबाट सरकारले लकडाउन गरेपछि विरामीको संख्या घटेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मंगलबार ३१ जना विरामी आएका थिए । उनीहरुमा रुघाखोकी, ज्वरो, हाडजोर्नीका विरामी थिए । बुधबार १७ जना विरामी आएका थिए । अस्पतालले लकडाउनपछि आकस्मिक सेवा मात्र दिँदै आएको छ ।

आकस्मिको बाहेकको सेवा बन्द भएकाले पनि विरामीको संख्या कम भएको अस्पतालले जनाएको छ । अस्पतालमा यसअघि ओपीडीमा २ सय ५० जना सम्म र आकस्मिक सेवामा ३० जनासम्म आउने गरेका थिए । अस्पतालमा यसअघि भर्ना भएका केही विरामी छन् । प्रसूति सेवा लिएका पनि छन् । सामुदायिक अस्पतालसंगै निजी अस्पतालमा पनि विरामीको संख्या कम छ । बेंसीसहरस्थित लमजुङ मोडल हस्पिटलमा पनि विरामीको संख्या कम छ । अस्पतालका डाक्टर तिलक घिमिरेका अनुसार मंगलबार ६/७ जना विरामी इमरजन्सी सेवामा आएका थिए । बुधबार ४ जना मात्र आएको उहाँले बताउनुभयो । हस्पिटलमा ज्वरो, रुघाखोकी र चोटपटक लागेका विरामी आएका थिए । यसअघि दैनिक ३०÷३५ जना हस्पिटलमा आउने गरेका थिए ।

लकडाउनसंगै विरामी कम आउने गरेको जनाएको छ । सुन्दरबजार, मध्यनेपाल, राइनास नगरपालिकामा रहेका अस्पतालमा पनि बिरामी संख्या घटेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्