लकडाउनको तेस्रो दिन: सुनसान भक्तपुर



पुष्कर बुढाथोकी, भक्तपुर।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनको तेस्रो दिन आज पनि भक्तपुरका चोक तथा बजारहरु सुनसान देखिएका छन् ।

अत्यावश्यक बस्तुका खरिदका लागि बिहान दुई घन्टा र बेलुका दुई घन्टाको समय छुट्याईएको र त्यस समयमा समेत हुल नगरि सामान खरिद गर्न प्रशासनले आग्रह गरेपछि स्थानीयहरु सो समयमा आवश्यक खाद्यान्न सामानहरु किन्ने गर्दछन् ।

आज पनि अत्याश्वयक सवारी साधन र पास भएका सवारी साधन मात्र सडकमा गुडि रहेका छन् भने अन्य सवारी साधनलाई भने चलेका छैनन्।

लकडाउनको पहिलो दिन केही सर्वसाधारणहरु घर बाहिर हिडडुल गरेपछि जिल्ला सुरक्षा समितिको बैठक बसी थप कडाई गरिएको थियो बजारमा मानिसको चहलपहल बन्द गराउन बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चोक चोकमा उपस्थिति रहेको छ ।
बिरामी, औषधी तथा खाद्यान्न किनमेल गर्न निस्किएका स्थानीयलाई प्रहरीले केही सहुलियत प्रदान गरेको छ ।एम्बुलेन्स, औषधीको गाडी र संचारकर्मीहरुलाई भने रोक लगाइएको छैन ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुरमा कोरोनाको ब्यवस्थापनमा सरकारले जारी गरेको निर्देशन अनुसार काम भइरहेको बताउनुभयो । उहाँले अत्यावश्यक बस्तुका खरिदका लागि बिहान दुई घण्टा र बेलुका दुई घण्टाको समय छुट्याईएको र त्यस समयमा समेत हुल नगरि स्वास्थ्य सचेतता अपनाएर अत्यावश्यक सामान खरिद गर्न आग्रह गर्नुभयो ।

भक्तपुरका बिभिन्न अस्पताल कोरोना संक्रमित देखिएमा तयारी अवस्थामा रहेको समेत उहाँले जानकारी दिँदै यसको ब्यवस्थापनमा सरोकारवाला सबै पक्ष मिलेर लागेको बताउनुभयो। आदेश पालना नगर्नेलाई कानुन बमोजिम कारवाही हुने प्रजिअ पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्