कोरोनाका नाममा १४ दिने आशोच

- कपिल काफ्ले 



हिन्दु धर्मावलम्बीहरु मृत्युको आशोच १३ दिन बार्छन्, विश्वका नागरिकले एकसाथ अनुशासित भएर १४ दिन लामो आशोच बार्ने हो भने मात्र ज्यानमारा कोरोना भाइरसबाट मुक्त हुने अवस्था देखिएको छ ।

कर्मकाण्डका विद्वान पं. गोविन्द रिजाल भन्नुहुन्छ, गरुढ पुराण र निर्णयसिन्धुमा मृतकका नाममा १३ दिनआशोच बार्ने, आशोच बार्दा सरसफाइमा रहने, छुवाछुत नगर्ने, अलग्ग बस्ने र आफै पकाएर खाना खाने कुरा गरिएको छ ।

खोप र औषधिको आविस्कार भइनसकेको र विश्वमै महामारीको स्वरुप लिइसकेको कोरोना भाइरस (कोभिड–१९) बाट मुक्त हुनका लागि पनि यति नै अवधि ‘क्वारेन्टाइन वा लकडाउन’ मा बस्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

‘शरीरमा संक्रमण भएको भाइरसले व्यक्ति पिच्छे प्रकट हुने अवधिभिन्न–भिन्न लिन्छ’ भारतको पुनेस्थित रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार निकट सम्पर्कबाट सर्ने कोरोना भाइरस बढीमा १४ दिनभित्र प्रकट हुन्छ । १४ दिनभित्र पनि प्रकट नभए कोरोना भाइरस संक्रमण नभएको प्रमाणित हुन्छ ।

संक्रमित व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा थुक–खकार आदिबाट अर्को व्यक्तिमा सर्ने यो भाइरस बोल्दा र सास फेर्दा पनि निकटमा रहेको व्यक्तिलाई सर्न सक्छ । संक्रमितले छोएको बस्तुमा पनि निश्चित अवधिसम्म कोभिड–१९ को किटाणु रहन सक्ने केन्द्रले उल्लेख गरेको छ ।

‘यो अत्यन्त सजिलै सर्ने भाइसमध्ये एक हो’ सिडिसीले उल्लेख गरेको छ,’ कोरोना भाइरसको लक्षण नदेखिएको व्यक्तिले पनि यो रोग सार्नसक्छ । संक्रमित वस्तु छुँदा पनि संक्रमण हुने भाइरसको मुख्य सवारीका रुपमा व्यक्तिको हातलाई लिइएको छ, यस्तो हात जब नाक, मुख र आँखामा लाग्छ तब रोग सर्छ ।

चैत ११ देखि सात दिनका लागि देशैभर लागु हुनेगरी सरकारले ‘लकडाउन’ घोषणा गर्नुको कारण पनि व्यक्ति–व्यक्तिबीच संक्रमण नहोस् भनेर नै हो । तर, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण समितिका सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार लकडाउनको अवधि अर्को सात दिन थपिन सक्छ । ज्ञवाली भन्नुहुन्छ, ‘सरकारले औपचारिक रुपमा कुनै निर्णय गरिसकेको त छैन, तर छिमेकी भारत जो सँग हाम्रो खुला सिमाना छ, ले २१ दिन लामो लकडाउन गरेका कारण र विश्वका विकसित मुलुक पनि यसको चपेटामा नराम्रोसँग परेको सन्दर्भ हेर्दा, अर्को सातदिन लकडाउन थपिने सम्भावना छ ।’

लकडाउनका कारण आम परिवारले संक्रमणबाट सुरक्षित हुने अवसर पाए पनि रोजगारीका लागि छिमेकी भारतमा पुगेका हजारौं नागरिक भने यसबेला विभिन्न ठाउँमा अड्केका छन् । नयाँदिल्लीमा अड्किएका केही नेपालीहरु जो नेपालस्थित आ–आफ्नो घर आउन चाहन्थे, सवारी साधनको अभावका कारण सडकमै अलपत्र छन् । यसरी अलपत्र पर्नेहरुमा भर्खरका सुत्केरी आमाहरु पनि रहेका छन् ।

लकडाउन अर्थात् आपत्कालीन अलगबसाइको अवस्था नेपालका लागि त नयाँ अनुभव हो नै विश्वका धेरै मुलुक यस अवस्थालाई जीवनमा पहिलो पटक अनुभव गर्दै छन् । त्यसैले यस्ता समस्यालाई सामान्य रुपमै लिइएको छ ।

एकातिर बाध्यताका कारण आपत्कालीन अलगबसाइ सम्भव भएको छैन भने अर्कातिर यसलाई खेलाची ठान्ने र रमिताका रुपमा लिने नागरिकहरु पनि देखिएका छन् । विद्यालय बन्द भएकाले घरै बसेका बालबालिका खुला ठाउँमा समूहमा खेलिरहेका देखिन्छन् भने तास खेलेर समय बिताउने वयस्कहरु पनि भेटिन्छन् । नेपालमा आजसम्म भेटिएका तीन संक्रमितमध्ये एक सञ्चो भएर काममा फर्किसकेका र अन्य दुई व्यक्तिको काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

लकडाउनको उद्देश्य ‘समुदायको स्तरमा कोरोना भाइरसको संक्रमण नहोस् भन्ने नै हो’ । मन्त्री ज्ञवाली भन्नुहुन्छ, व्यक्तिगत स्तरमा संक्रमण भए नियन्त्रण गर्न सकिन्छ, तर समुदायलाई नै रोग लाग्यो भने स्थिति भयावह हुन्छ भन्नेमा सरकार सजग छ । तर, यस स्तरको सजगता नागरिकमा देखिएन ।

सञ्चारमाध्यम र चिकित्सकहरुले बारम्बार रोग नियन्त्रणका उपायहरु बताए पनि नागरिक स्तरबाट राज्यले पूर्ण रुपले साथ पाएको देखिन्न । कुनै पनि व्यक्तिबाट ६ फिट टाढा रहने, ठूलो भेलाको आयोजना नगर्ने, अनुहारमा हात नलाने, व्यक्तिगत वस्तु अरुलाई प्रयोग गर्न नदिने, ह्याण्डिल–साँचो, रेलिङ जस्ता बारम्बार विभिन्न व्यक्तिको हात पर्ने सामानको सुद्धीकरण गर्ने, यस्ता वस्तु छोएपछि साबुनपानीले विधिपूर्वक हातधुने, रोग प्रतिरोधात्मक शक्ति बढाउने भोजन र व्यायाम आदि गर्ने जस्ता कार्यप्रति नागरिकमा गाम्भीर्य देखिन्न ।

अमेरिकन कलेज अफ फिजिसियन (एसिपी) ले चीनको हुबेई प्रान्तबाट कोरोना भाइरस सुरु भई २४ मुलुकमा फैलिएपछि अध्ययन गरी तयार पारेको आलेख अनुसार बढी पाको उमेरका व्यक्तिलाई संक्रमणबाट मुक्त हुन बढी समस्या देखिएको छ । संक्रमित ६९ (३८ प्रतिशत) महिला, १०८ (६० प्रतिशतपुरुष) र ४ (२ प्रतिशत) अन्य लिङ्गीबीच भएको अध्ययनका सहभागीहरुको मेडियन उमेर ४४.५ रहेको बताइएको छ । कस्ता व्यक्तिलाई कोरोना भाइरस लागेको छ भनेर हेर्दा अधिकांश भर्खरै बाहिरबाट यात्रा गरी आएका (१६१) को संख्या अधिक पाइएको छ । यसरी यात्रा गरेका व्यक्तिसँगको सम्पर्कबाट रोग सर्नेहरु पनि छन्, तर उनीहरुको संख्या न्यून छ ।

नेपालमा पाइएका कोरोना भाइरसका तीन संक्रमित पनि चीन, फ्रान्स र खाडी मुलुकबाट नेपाल आएका हुन् । यात्रार सामाजिक सामीप्य यस भाइरसको मुख्य स्रोत सावित हुन्छ । तर, यसले हामीलाई मार्नुअघि यसको अन्तिम क्रियाकर्म गर्नु आवश्यक छ । पं. रिजाल भन्नुहुन्छ, ‘क्रिया–कर्मको विधि छ, चौथो पुस्ताभित्रको भए १० दिन, पाँच पुस्ता भए सातदिन, ६ पुस्ताभएचार दिन, सात पुस्ता भए तीनदिन, आठ पुस्ताभए एक दिन र नौ पुस्ताभए एक प्रहर आशोच बार्नुपर्छ, १० पुस्ताको व्यक्तिको आशोच स्नान गरेर पूरा हुन्छ ।’ तर हामी विधिपूर्वक कोरोना भाइरसको आशोच बारिरहेका छैनौं, अझै समय छ– अनुशासनमा रहौं, अन्यथा बेलायती राजकुमार चार्स र हलिउड सुपरस्टार टम ह्याङ्कसलाई समेत नछोड्ने कोरोनाले विचरा नेपालीलाई के बाँकी राख्ला !

प्रतिक्रिया दिनुहोस्