भक्तपुरमा २ जना आईसोलेसन वार्डमा, कोरोना संक्रमणको आशंका



पुष्कर बुढाथोकी, भक्तपुर । 

कोरोना भाइरस(कोभिड १९)को संक्रमणको आशंकामा भक्तपुरका २ जनालाई आइसोलेसन वार्डमा राखिएको छ ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले ४ जनामा कोरोना भाइरसको संक्रमणजस्तो लक्षण देखिएपछि उनीहरुलाई भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको बताउनुभयो ।तर आइसोलेसन वार्डमा राखिएका २ जनामा भने रिपोर्ट नेगेटिभ आए पछि उपचारपछि घर पठाइएको बताउनुभयो ।

बाँकी २ जनाको नाक तथा घाटीको श्राव (स्वायब) परीक्षणका लागि टेकु पठाइएको र भोली रिपोर्ट आउने बताउनुभयो ।उनीहरुलाई भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा सिफ्ट गरिएको छ । आइसोलेसन वार्डमा राखिएका दुईजना सरकारले नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाउनुअघि विदेशबाट घर फर्केका बताईएको छ ।

यता भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइन स्थलमा बस्नेहरुको संख्या ७३ पुगेको छ । ६७ जनाबाट सुरु गरिएको क्वारेन्टाइन स्थलमा अहिले ७३ जना पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले बताउनुभयो ।

विभिन्न देशबाट हवाई मार्गबाट नेपाल आइपुगेकालाई यहाँ राखिएको हो । विदेशबाट आएकाहरु अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड रहे अनुसार उनीहरु आफ्नै खर्चमा खरिपाटी क्वारेन्टाइनमा बसेका छन् ।

प्रहरी उपरीक्षक प्रधानका अनुसार क्वारेन्टाइनमा बसेकाहरुको पहिलो २४ घन्टाको घाटी तथा नाकको श्राब (स्वायब) भने लिइएको छैन । अब एकैपटक १४ दिनपछि मात्रै उक्त स्वायबको जाँच गरिने बताउनुभयो ।

नेपाल प्रहरी, स्थानीय निकायलको निगरानीमा उनीहरुलाई होमक्वारेन्टाइनमा राखिएको हो।तर उनीहरुमा कुनै त्यस्तो संकेत देखिएको जानकारी नआएको उहाँले बताउनुभयो ।यसरी क्वारेन्टाइनमा बस्नेहरु अधिकांश मलेसिया, दुवई, कतार लगायत राष्ट्रबाट फर्किएकाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्