गाम्भीर्यको कमी



कोरोना भाइरस नियन्त्रणमा सरकारले अपनाएको सतर्कता सोचलाई सबैले सराहना गरेका छन्। तर, सोचअनुसार काम नभएकामा भने सरकारको आलोचना पनि भएको छ। माध्यमिक शिक्षा परीक्षा स्थगित गर्नु, लामो दूरीका सवारी साधन रोक्नु, भिडभाडको अवस्था हुन नदिनु, छिमेकी मुलुकसँगका नाकाहरू बन्द गर्नु, ‘कोभिड–१९’ संक्रमणबाट बच्ने उपायबारे जनचेतना अभिवृद्धि गर्नु आदि प्रशंसनीय कार्य हुन्।

तर, भारतबाट नेपालस्थित आफ्नो घर फर्केका नेपालीमाथि जुन व्यवहार गरियो, त्यो भने आपत्तीजनक देखियो। बाँके जिल्लास्थित जमुनाह नाकामा अलपत्र परेका करिब साढे पाँच सय नेपालीलाई नेपाल प्रवेश गराउनु प्रशंसनीय कार्य थियो, तर उनीहरूलाई व्यवस्थित किसिमले राख्न नसक्नु र ‘क्वारेन्टाइन क्षेत्र’ तोडेर भाग्न विवश गराउनु भने गम्भीर आपत्तिको विषय बनेको छ।

बाँके जिल्ला प्रशासन कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले जमुनाह नाकाबाट नेपाल ल्याई स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा उनीहरूलाई क्वारेनटाइनका लागि राखेका थिए। महिला र बालबालिकाको समेत उल्लेख्य संख्या रहेको त्यस समूहले ‘कि उचित व्यवस्थापन गर कि त घर जान देऊ’ भनेर माग राखेको तर प्रशासनले उनीहरूलाई मानवोचित व्यवहार गर्न नसकेका कारण उनीहरू पर्खाल नाघेर भागेको भिडियो सार्वजनिक भएको छ।

निकै सानो संख्यामा रहेका सुरक्षाकर्मीले उनीहरूलाई रोक्न खोजेको तर उनीहरू जबरजस्ती पर्खाल नाघेर हिँडेको प्रहरीले बताएको छ। समाचारअनुसार सोमबार बिहान १० बजेभन्दा पहिले नाकामा आइपुगेकालाई ज्वरो नापेपछि नगर बसमा राखेर सीमानाकानजिकै सो क्याम्पसमा लगी राखिएको थियो। क्वारेन्टाइनका लागि छुट्याइएको स्थानमा कुनै सुविधा नभएको र एउटै कोठामा ३०–३५ जनालाई राखिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए।

उनीहरूमध्ये केही अघिल्लो दिनदेखि केही नखाएका पनि रहेको बताइएको छ। नगरपालिकाले व्यवस्था मिलाउँदा मिलाउँदै कत्ति पनि धैर्य नगरी अवस्थालाई गम्भीररूपमा नलिई नागरिकहरू भागेको भनेर उनीहरूलाई नै दोष लगाएको छ। तर, बाँके जिल्ला प्रशासन कार्यालय भने गैरजिम्मेवारीपूर्ण जबाफ दिन्छ, ‘हाम्रो रेकर्डमा भएका सबै छन्, को भाग्यो हामीलाई थाहा छैन’ भन्ने जबाफ स्वयं प्रमुख जिल्ला अधिकारीको छ।

यता, वर्तमान अवस्थामा कोरोना भाइरसको कुनै बिरामी नेपालमा नरहेको दाबी गर्दै आएका हाम्रा लागि दुःखको समाचार बनेको छ। फ्रान्सबाट कतार हुँदै यही चैत ४ गते नेपाल आएकी एक १९ वर्षे युवतीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

निष्कर्षमा, अपझट आएको विपद्का कारणले पनि हुनसक्छ, सरकारले जुन भावना देखाएको छ, त्यसअनुसार कार्यान्वयन गर्न भने सकेको छैन। सरकार अझ बढी गम्भीर भएर लाग्नु र नागरिकले पनि स्वास्थ्य सुरक्षा आफ्नै लागि हो भन्ने सचेतनाका साथ सहयोगात्मक भावनाका साथ कार्य गर्नु आवश्यक छ। अन्यथा, विश्व स्वास्थ्य संगठनले भनेझैं ‘चीन कडा अनुशासन र अनुगमनका कारण कोरोनाबाट मुक्त हुँदै छ, तर लापरबाहीकै कारण इटली र स्पेनमा थेग्नै मुस्किल हुने अवस्था’ सिर्जना हुनसक्छ। सरकार–जनता दुवै गम्भीर बनौं र अनुशासनमा रहौं।

प्रतिक्रिया दिनुहोस्