बैंकमा भीड कम हुँदै



काठमाडौं, (नेस)।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको उच्च जोखिमका कारण बैंकमा ग्राहकको उपस्थिति पातलिएको छ। आइतबारको तुलनामा सोमबार आधाभन्दा कम ग्राहक बैंकिङ कारोबारका लागि बैंकमा पुगेको नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले अत्यावश्यकबाहेक अन्य अवस्थामा बाहिर ननिस्कन आग्रह गरेसँगै बैंकमा ग्राहकको उपस्थिति पातलिन थालेको हो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘ग्राहक तथा कर्मचारीको सुरक्षामा कुनै कमी गरेका छैनौं, यस्तै बैंकिङ सेवा पनि नियमित सञ्चालन गरिरहेका छौं।’

डिजिटल कारोबारमा केन्द्रित

नोटमा भाइरसको संक्रमण उच्च हुने विश्व स्वास्थ्य संगठनले बताएसँगै बैंकिङ कारोबारलाई डिजिटल बनाउन बैंकहरू लागि परेका छन्। ग्राहकलाई डिजिटल कारोबार गर्न तथा गराउनका लागि बैंकहरूले निशुल्क सेवा दिइरहेको शर्माले बताउनुभयो।

उहाँले भन्नुभयो–‘हामीले ग्राहकहरूको सहजताका लागि डिजिटल कारोबारमा निःशुल्क व्यवस्था गरेका छौं, सबैलाई डिजिटल भुक्तानीका लागि आह्वान गर्छौं।’

सेवा नियमित, समय हेरफेर

कोरोनाको जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थामा कर्मचारीको काम गर्ने तालिका हेरफेरको अभ्यास शुरू भएको छ। कतिपय बैंकहरूले कर्मचारीको तालिका हेरफेर गरेर काम गरिरहेको बताउँदै शर्माले भन्नुभयो–‘हामीले बैंकहरूलाई तालिका हेरफेर गरेर काम गर्न सुझाव दिएका छौं। कतिपयले त्यसलाई शुरू गरिसकेका छन्।’ कर्मचारीको तालिका हेरफेर गरिए पनि सेवा भने नियमित गरिएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्