एनसीएसएसद्वारा सहयोग हस्तान्तरण



नेपाल समाचारपत्र, काठमाडौं

 

नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले किड्नीबाट ग्रसित वीर अस्पतालमा उपचाररत कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङ (सेते दाइ) को उपचारार्थ संकलित रकम हस्तान्तरण गरेको छ।

 

समाजले सञ्चालन गरेको ‘एनसीएसएस सेते दाइ सहयोग अभियान’ मा संकलित नगद ५० हजार रुपियाँ सहयोग रकम हस्तान्तरण गरेको हो। एनसीएसएसले आइतबार वीर अस्पतालमा उपचाररत जयबहादुर तामाङकी पत्नी निरमाया तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो।

 

मैदानका कर्मचारी तामाङ पछिल्लो १२ दिनदेखि वीर अस्पतालमा मिर्गौलाको उपचार गराइरहेका छन्। नेपाली क्रिकेट समर्थकहरूको संस्था एनसीएसएसले आज चौथो दिन जारी अभियानमा कुल ८७ हजार २ सय ८० रुपियाँ संकलन गरेको थियो।

 

जसमध्ये ५० हजार हस्तान्तरण गरेको हो भने बाँकी ६ हजार ३ सय ५० रुपियाँ बिरामीको बैंक खातामा जम्मा गरेको छ। त्यसैगरी, ३० अजार ९ सय ३० रुपियाँ भने घोषणा भए पनि उठ्न बाँकी रहेको एनसीएसएसले जनाएको छ। दोस्रो चरणको रकम एनसीएसएसले आगामी चैत्र १४ गते हस्तान्तरण गर्ने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्