पोखरा रंगशाला आइसोलेसनका लागि तयार



पोखरा, (नेस)

विश्वभर फैलिएकोे कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको अवस्थामा पोखरामा सचेतना अपनाउँदै पोखरा रंगशालामा आइसोलेसन तथा क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सक्ने गरी तयारी गरिएको छ।

सरकारले कोरोना संक्रमणबाट बच्न भीडभाड, नियमित कार्यहरूमा ध्यान पुर्याउन आग्रह गरेसँगै पोखरा रंगशाला पनि पहिलो चरणका लागि एक साता बन्द गरे पनि सरकारले चैत्र ९ देखि चैत्र २१ गतेसम्मलाई भीडभाड नगर्न आग्रह गरेको छ।

खेल क्षेत्रमा समेत निकै असर पारेको कोरोना भाइरसका कारण सधैँ व्यस्त हुने रगंशाला निकै सुनसान देखिएको छ। कोरोनाबाट जोगिन खेल संघहरूले प्रशिक्षण तथा प्रतियोगिताहरू स्थगित गरेको छ। कुनै पनि खेल गतिविधिसँगै सर्वसाधारण प्रवेशमा समेत रोक लगाए पनि देशलाई चाहेको खण्डमा आइसोलेसनको रूपमा प्रयोग गर्न सकिने भएको हो।

विश्वमा कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थामा पोखरा रंगशाला भने आइसोलेसनका लागि तयार पारिएको हो। पोखरा महानगरका विभिन्न अस्पतालमा गरी ९० बेडको आइसोलेसन वार्ड तयार गरिएको छ।

‘यतिबेला राज्य नै संकटमा पर्ने अवस्थामा छ, राज्यलाई आवश्यक परेको बेला रंगशालालाई पनि अस्पतालको रूपमा प्रयोग गर्न सकिनेछ’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य राजेश गुरुङले भने, –हामीसँग पूर्वाधारहरू छन् देशको स्थिति हेरेर राज्यलाई चाहिएको अवस्थामा प्रयोग गर्ने गरी तयारी अवस्थामा छौँ’ सदस्य गुरुङले भने।

रंगशालाभित्र रहको बहुउद्देश्यीय कभर्डहल, ब्याडमिन्टन हल र पुरानो ब्याडमिन्टन हल र अर्को एक हललाई आइसोलेसन वार्डको रूपमा प्रयोग गर्न सकिने गुरुङले बताए।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले नागरिकको स्वास्थ्य उपचार पहिलो प्राथमिकता भएको बताउँदै रंगशालाका पूर्वाधार अस्थायी आइसोलेसनको रूपमा प्रयोग गर्न सकिने बताए। ‘पोखरा रंगशालालाई आइसोलेसनको रूपमा प्रयोग गर्न सम्बन्धित निकायले चासो दिएमा हामी समन्वय गर्छौं।’ बरालले भने।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले महामारीको अवस्थामा रंगशालालाई प्रयोग गर्नु उचित कदम रहने बताए। ‘विश्वभर महामारीको रूपमा फैलिएको संक्रमणको समयमा खेलकुद क्षेत्रले तयार गरेको पूर्वाधारको पनि प्रयोग गर्न सकिनेछ’ योगीले भने।

 

प्रतिक्रिया दिनुहोस्