माथिल्लो तामाकोसीको बाँधको परीक्षण



नेपाल समाचारपत्र, काठमाडौं । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको आइतबार निरीक्षण गर्नुभएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको तामाकोसीको बाँध तथा (सिन्डिकेटर बेसिन) बालुवा थिग्र्याउने पोखरीको प्राविधिक परीक्षण शुरू भएपछि मन्त्री पुन निरीक्षणमा जानुभएको हो।

गत सोमबारबाट पानी जम्मा गर्न शुरू गरिएकामा आइतबार पोखरी भरिएको छ। २२ मिटर उचाई तथा ६० मिटर चौडाइको बाँध निर्माण गरिएको छ। आठवटा ढोका रहेको बाँधमा चारवटा डिसेन्डर बेसिन राखिएका छन्। बेसिनमार्फत मुख्य सुरुङ हुँदै पावर हाउससम्म पानी पुर्याइन्छ। बाँधको परीक्षण सफलतापूर्वक सम्पन भएको छ। बाँध र पोखरीको प्राविधिक परीक्षण सफल भएकामा मन्त्री पुुनले आयोजनाका पदाधिकारी, ठेकेदार, परामर्शदाता र निर्माण युनिटलाई धन्यवाद दिनुभयो।

बाँध, सुरुङ र पावर हाउसको निरीक्षणपछि मन्त्री पुनले निर्धारित मितिमै बाँकी काम सम्पन्न गर्न आयोजनाका पदाधिकारी, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिनुभयो। भूकम्पलगायत कारण आयोजना निर्माणमा ढिलाइ भए पनि अब भने समयमै काम सक्नुपर्ने उहाँको भनाइ थियो।

परीक्षणका काम चालू आर्थिक वर्षमै सक्ने र आगामी असारसम्ममा परीक्षण उत्पादन थाल्ने गरी काम अघि बढाउन मन्त्री पुनको निर्देशन थियो।
आयोजनाको ठाडो सुरुङमा ३ सय ५५ मिटर लामो पेनस्टक पाइप जडान गरिएको छ। तल्लो ठाडो सुरुङमा २ सय २० मिटर र माथिल्लो ठाडो सुरुङमा १ सय ३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो।

तल्लो ठाडो सुरुङमा १ सय ४७ र माथिल्लो ठाडो सुरुङमा १ सय ७१ मिटर पाइप जडान गर्न बाँकी छ। पाइप जडानको काम आगामी वैशाख महिनाभर सकिन्छ। त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङका बीचमा रहेको तेर्सो भागमा पाइप जडान गरिनेछ। त्यसका लागि करिब डेढ महिना लाग्नेछ। असारमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसपछि बाँकी पाँच युनिटबाट पनि क्रमशः उत्पादन गर्ने कार्यतालिका रहेको तामाकोशी आयोजनाका अध्यक्ष एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्