अब हेटौंडामै हुनसक्छ कोरोना परीक्षण



रोशन पराजुली,हेटौंडा।

विश्वमा कोरोना (कोभिड–१९) भाइरसको त्रास छ । यसले कम्तिमा १० हजारको ज्यान लिइसकेको छ । नेपालमा भने हालसम्म कोरोना प्रभावित नदेखिएको सरकारी दाबी छ ।यस्तो त्रासका बीच ब्याक्टेरिया, प्यारासाइटहरुका प्रजाति अध्ययन गर्न, भाइरसको स्वरुप परिवर्तनबारे बुझ्न हेटौंडामा स्थापित आधुनिक पोलिमर चेन रियाक्सन ल्याबलाई पूर्णक्षमतामा प्रयोगमा ल्याउन सकिएको छैन ।

उपकरण, केमिकल र जनशक्ति व्यबस्थापन हुन नसक्दा ल्याब पूर्ण प्रयोगमा ल्याउन नसकिएको हो । आवश्यक उपकरण हेटौंडामा भएर पनि कोरोना भाइरसको आशंका भए परीक्षणका लागि नमूना काठमाडौं नै पठाउनुपर्ने बाध्यता छ । संघीय सरकारमातहत रहेको ल्याबमा जनशक्ति अभाव हुँदा नियमित सञ्चालन हुनसकेको छैन ।

कोरोना भाइरस परीक्षणका लागि सुरक्षा उपकरण, केमिकल र जनशक्ति व्यबस्थापन हुन नसक्दा ल्याब प्रयोगमा ल्याउन नसकिएको हो । २०७१ सालमा दाताको सहयोगमा स्थापना गरिएको ल्याबमा हाल ल्याब टेक्निसियन निरीक्षक र ल्याब असिस्टेन्ट गरी दुई जना प्राविधिक कर्मचारी कार्यरत् छन् ।

३ जना माइक्रोबायोलोजिष्टको दरबन्दी थप गर्ने हो भने कोरोना भाइरस अध्ययन र परीक्षण हेटौंडाको यही ल्याबबाट हुनसक्छ । कोरोना कहरका कारण माइक्रोबायोलोजिष्ट डा.विजय बज्राचार्यलाई स्वास्थ्य विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा काज सरुवा गरेको छ ।

अधिकांश समय बन्द हुने ल्याबलाई नियमित सञ्चालन गर्ने हो भने बागमती प्रदेशको राजधानी हेटौंडामा भाइरस, ब्याक्टेरिया र प्यारासाइट अध्ययन गरी उपचार सहज बनाउन सकिने चिकित्सकहरु बताउँछन् ।

हेटौंडा उपमहानगरपालिका स्वास्थ्य तथा वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको उक्त ल्याबको स्तरोन्नति गरिए कोरोनाको परीक्षण हेटौंडामै सम्भव छ । उक्त मेसिनको क्षमता अभिबृद्धि गरिनुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले उक्त मेसिन प्रदेश सरकारको प्रतिष्ठाको विषय बन्ने र हेटौंडामा प्रादेशिक ल्याबसमेत स्थापित हुने भन्दै ध्यानाकर्षण गराउनुभयो । ‘हाल किनिने मेसिन भन्दा उक्त मेसिन निकै महंगो हो,’ उहाँले भन्नुभयो ।

केन्द्रका भेक्टर कन्ट्रोल निरीक्षक कुमार पोखरेलका अनुसार उक्त मेसिन चालु हालतमा छ । मलेरिया र डेंगुको परीक्षण भइरहे पनि आवश्यक रिएजेन्ट, प्राविधिक र प्राइमर नभएका कारण कोरोना परीक्षण गर्न नसकिने भन्दै उहाँले बीएसएल–३ लेभलको भौतिक पूर्वाधारको खाँचो औंल्याउनुभयो । जबकि, हेटौंडामा बीएसएल–२ लेभलको पूर्वाधार छ ।

ल्याब सञ्चालन भए मानव शरीरमा न्यून घनत्वमा रहने भाइरस परीक्षण र संक्रमण फैलिँदा फरक ठाउँमा भाइरसमा देखिने परिवर्तन अध्ययन गरी रोग पहिचान गरेर यहीं उपचार गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

कोरोना भाइरसको नेपालमा हालसम्म संक्रमित नभेटिएको सरकारले बताउँदै आएको छ । नेपालमा पनि कोरोना संक्रमण फैलिनसक्ने अबस्थालाई मध्यनजर गर्दै सरकारले मुलुक लगभग ‘लकडाउन’ गरिसकेको अबस्था छ ।

छिमेकी मुलुक भारतमा कोरोना फैलिएपछि नेपाल–भारतको प्रमुख नाका बीरगञ्ज र चीनको नाकाबाट नजिक रहेको बागमती प्रदेश कोरोनाबाट कति असुरक्षित छ भन्ने सन्दर्भमा प्रदेश सरकारले ध्यान दिइरहेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल बताउनुहुन्छ ।

छिमेकी भारतसँगको खुला सीमाका कारण कोरोना संक्रमित भारतीयहरु यहाँ प्रवेश गर्दा असुरक्षित हुन्छ भन्नु स्वभाविक भएको उहाँको भनाइ छ । बीरगञ्ज नाकामा कडाइसाथ भारतीयको स्वास्थ्य परीक्षण गरिएको मन्त्री जम्कट्टेलले बताउनुभयो ।

हालसम्म नेपाल–भारत खुला सिमाना बन्द गरिएको छैन । जसका कारण भारतीय मुख्य नाका बीरगञ्ज र चीनको नाकाबाट नजिक रहेको प्रदेशमा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै त्रास बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्