कोरोना अपडेट : कतिको मृत्यु, कति संक्रमित ?



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वका १८५ मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणका कारण विभिन्न मुलुकका ११ हजार ४०२ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, विश्वभरका २ लाख ७५ हजार ९९७ जनामा कोरोनाको संक्रमण भेटिएको छ भने ९१ हजार ९५२ संक्रमित सफल उपचारपछि घर फर्किएका छन् ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

चीनको वुहानमा पहिलो पटक देखा परेको यो भाइरस अहिले विश्वभर फैलिने क्रममा छ । चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ भने ८१,००८ जना संक्रमित भेटिएका छन् । चीनमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन घट्दै गएको छ । त्यस्तै, चीनमा मात्रै ७१ हजार ७ सय ४० जना संक्रमित पूर्ण उपचारपछि घर फर्किएका छन् ।

अहिले चीनभन्दा पनि कोरोना प्रभावित मुलुक इटाली बनेको छ । कोरोना संक्रमणका कारण इटालीमा मात्र ४ हजार ३२ जनाको मृत्यु भइसेको छ । यस्तै, ४७ हजार २१ जनामा संक्रमण भेटिएको छ ।

त्यस्तै इरानमा १९ हजार ६ सय ४४ संक्रमित छन् भने १ हजार ४ सय ३३ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट स्पेनमा १ हजार ९३, फ्रान्समा ४५०, अमेरिकामा २६४, बेलायतमा १७७, नेदरल्याण्डमा १०६, दक्षिण कोरियामा १०२, जर्मनीमा ६८, स्वीटजरल्याण्डमा ५६ जनाले ज्यान गुमाएका छन् ।

विश्वका विभिन्न मुलुकमा भेटिएको कोरोना संक्रमण नेपालमा भने भेटिएको पुष्टि भएको छैन ।

प्रतिक्रिया दिनुहोस्