लगनमा बन्ने भयो लंग पार्क



नेपाल समाचारपत्र,काठमाडौँ ।

काठमाडौं महानगरपालिका–२१ को लगनटोलमा सुविधा सम्पन्न पार्क बन्ने भएको छ । खाली जग्गामा हरियाली प्रवद्र्धन गरी सो क्षेत्रमा निर्माण गर्ने योजना अनुसार कामपाले पार्क निर्माण शुरु गरेको हो ।

करीब चार रोपनी क्षेत्रफलमा फैलिएको लंगपार्कको काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो । २०७२ बैशाख १२ को भूकम्प अघिसम्म नेपाली सेनाले सिलखाना (हतियार भण्डारण) गर्न प्रयोग गर्दै आएको सो क्षेत्र अहिलेसम्म पनि भग्नावशेषका रुपमा रहँदै आएको स्मरण गराउँदै मेयर शाक्यले सोही स्थानमा पार्क निर्माणको योजना अघि बढाएको बताउनुभयो ।

उहाले भन्नुभयो– ‘हामीले ३२ वटै वडामा रहेका खाली जग्गाहरुको संरक्षण गर्दै पार्क निर्माणको अभियान अघि बढाएका छौँ । सोही योजना अन्तरर्गत लंग पार्क शिलान्यास भएको हो ।

भित्रि सहरमा घना बस्ती रहेको र खुला ठाउँ पनि निकै कम रहेको अवस्थामा ती क्षेत्रको संरक्षण र सर्वसाधारणलाई स्वच्छ हावा लिने वातावरण निर्माण होस भनेर नै यस्ता पार्क निर्माणको कामलाई तीव्रता दिएको उहाको धारणा थियो ।

ऐतिहासिकता जोगाउने र खुला ठाउँको विकास समेत गर्ने तयारीका साथ महानगरपालिका अघि बढेकाले स्थानीयको पनि राम्रो सहयोग प्राप्त भएको उहाँको भनाई थियो ।

‘आज हामीले यहाँ भव्य रुपमा स्थानीयको सहभागितामा शिलान्यास गर्ने तयारी गरेका थियौँ तर विश्वव्यापि रुपमै फैलिएको कोरोनाको संन्त्रासका कारण र सरकारले हिजो मात्रै जारी गरेको सूचनालाई समेत ख्याल गरेर सामान्य रुपमा शिलान्यास गरेका हौँ,’ शाक्यले भन्नुभयो ।

पार्कको सुन्दरतालाई बचाई राख्न रात्रीकालिन बत्तीको समेत व्यवस्था गरिएको र शारीरिक व्यायमका लागि पनि पार्क उपयुक्त हुने मेयर शाक्यको भनाई थियो ।

कामपा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि अष्टमंगल र पञ्चतत्वलाई समेत ध्यानमा राखेर पार्कको डिजाइन तयार पारेको आकासेपानी संकलन गर्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।

पार्कमा अपाङगमैत्री शौचालयको समेत व्यवस्था गरिएको छ । वडाध्यक्ष उदय चुडामणि बज्राचार्यले भिडभाडयुक्त भित्रि सहरमा यस्तो पार्क निर्माण हुँदा स्थानीयले खुला वातावरणमा स्वच्छ हावा प्राप्त गर्न सक्ने बताउनुभयो ।

तत्कालिन राजा रणोद्धिपसिंह (स्वामी अभयानन्द) को दरबार रहेको र त्यसअघि शाक्यहरुको बसोवास रहेको इतिहास देखिन्छ । त्यहाँ भेटिएको विहारको अवशेषबाट पनि त्यहि प्रमाणित हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण हामीले डिजाइनमा त्यो कुरालाई पनि ख्याल गरेर ऐतिहासिक र पुरातात्वविक महत्वलाई पनि ध्यान दिएका छौँ ।’

उहाँले सो दरवार विं. सं.१८९४ पछि सिलखानाका रुपमा परिणत भएको बताउनुभयो । शाक्यले पार्कको समग्र डिजाइन शंख आकारमा हुने जानकारी दिनुभयो । कंडेलरके एण्ड केजी र रमिता जेभीले निर्माणको जिम्मा पाएको पार्क २०७७ साल माघ मसान्तासम्ममा सम्पन्न गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्