कोरोनाको चपेटामा सेलिब्रेटी



विश्वप्यापी संक्रमणका रूपमा फैलिरहेको कोरोना भाइरसबाट विभिन्न देशका मानिसको दैनिक जीवनमै अवरोध आइरहेको छ। चीनको उहानबाट फैलिएको यो भाइरस हालसम्म ६० भन्दा बढी देशमा फैलिइसकेको छ भने विभिन्न देशका कयौं मानिसको निधन भइसकेको अवस्थामा यसबाट हलिउडका सेलिब्रेटी पनि अछुतो रहन सकेका छैनन्।

दुईपटक ओस्कार एकेडेमी अवार्ड जितेका प्रख्यात हलिउड अभिनेता, निर्माता, लेखक तथा निर्माता टम हयान्कस केही दिनअघि कोरोना भाइरसबाट पीडित भए। उनले यसको जानकारी आफ्नो ट्विटर अकाउन्टबाट दिएका थिए। उनले ट्विट गर्दै भनेका छन्– ‘म अस्टे«लियामा छु। मलाई केही थकान महसुस हुनुका साथै रुघा लागेपछि शरीरमा दुखाइ पनि हुन थाल्यो र ज्वरो पनि देखिएपछि अस्पताल गएँ।

दुनियामा चलिरहेको कोरोना भाइरसको जाँच गराउँदा पोजेटिभ रिपोर्ट आएको छ।’ उनको साथै उनको पत्नी रिटा विल्सनलाई पनि यो संक्रमण देखिएको थियो। यसपछि अस्पताल भर्ना भएका उनीहरू कोरोना भाइरसमुक्त भएपछि भने घर फर्किसकेका छन्। यससँगै उनी हलिउड जगत्का पहिलो कोरोना भाइरस संक्रमित सेलिब्रेटी बनेका छन्।

इटालियन अभिनेता लुका फ्रेजीले कोरोनाकै कारण केही दिनअघि आफ्नी बहिनी गुमाउनुपरेको छ। कोरोनाका कारण उनको बहिनीको मृत्यु भए पनि कोही पनि खोजखबर र मद्दतका लागि नआउँदा लुकाले बहिनीको निधन भएको दुई दिनपछि सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै आफ्नी बहिनीको कोरोना भाइरसका कारण मृत्यु भएको र आफूलाई कसैले पनि साथ नदिएका कारण उनको अन्तिम संस्कार गर्न असमर्थ भएको जनाएका थिए। उक्त भिडियोमा उनको पछाडि खाटमा उनको बहिनीको लास लडिरहेको देख्न सकिन्थ्यो।

जेम्स बन्डको फिल्म क्वान्टम अफ सोलेसमा काम गरिसकेकी अभिनेत्री ओल्गा कुरिलेन्को पनि कोरोना भाइरसको शिकार भइन्। उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत यसको जानकारी दिएकी थिइन्। उनले लेखेकी छन्– ‘कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएपछि घरभित्रै बन्द भएर बसिरहेको छु। म बिरामी छु। ज्वरोको साथै थकानजस्तो महसुस भइरहेको छ। तपाईंहरू पनि आफ्नो ख्याल राख्नुहोला।’ उनको यस प्रकारको खबर थाहा पाएपछि उनका फ्यानले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

टेलिभिजन सिरिज गेम अफ थ्रोन्सका अभिनेता क्रिस्टोफर हिवजु पनि कोरोना भाइरसको चपेटामा परेका छन्। उनले पनि यस कुराको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दिएका हुन्। ‘रुघाको लक्षण देखिएपछि जाँच गराउँदा ममा कोभिड–१९ को संक्रमण देखिएको छ। यसपछि म तथा मेरो परिवार घरभित्रै आइसोलेसनमा बसिरहेका छौं।’ –उनले लेखेका छन्।

एवेन्जर्स अभिनेता इदरिस एल्बालाई पनि कोभिड–१९ पोजेटिभ देखिएको छ। उनले आफूमा कोरोना भाइरसको कुनै पनि लक्षण महसुस नगरे पनि जचाउँदा भने पोजेटिभ देखिएकाले घरभित्र छुट्टै बसिरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि यसको असर प्रख्यात फिल्म अवार्ड कान्स फिल्म फेस्टिभलमा पनि देखिन सक्ने भएको छ।

कान्स फिल्म फेस्टिभलका प्रेसिडेन्ट पियारे लेस्क्योरले एक फ्रेन्च पत्रिकासँगको कुराकानीमा यदि मार्चको अन्तसम्म कोरोना भाइरस नियन्त्रणमा नआएमा कान्स फिल्म फेस्टिभल रद्द गरिने बताएका छन्। कान्स फिल्म फेस्टिभल मे १२ मा फ्रान्समा आयोजना गरिने तयारी गरिएको थियो। कोरोना भाइरस संक्रमणको खतराका कारण थुप्रै फिल्मको रिलिजसमेत स्थगित गरिएको छ।

अमेरिकी जर्मन मोडल हिडी क्लमले आफूलाई रुघाखोकी तथा ज्वरो लागेको र ठीक महसुस नगरेका कारण आफू अरूको सम्पर्कबाट टाढा रहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। केही दिन ओछ्यानमा पल्टिरहेको अवस्थामा एक भिडियो शेयर गर्दै आफूलाई कोरोना भाइरसको शंका लागेकाले चजाउने कोशिस गरे पनि नसकेको बताएकी थिइन्।

अहिले भने उनी रिपोर्टको प्रतीक्षामा छिन्। ‘आशा गर्छु यो मेरो साधारण रुघाखोकी होस्, तर पनि मेरो कारण अरूलाई समस्या नपरोस् भनेर घरमै बसिरहेको छु।’ –उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन्।

यसका साथै उनले आफ्नो पतिका साथ सिसा बाहिर र भित्रबाट चुम्बन गरिरहेको फोटो शेयर गरेकी छिन्। ताकि यदि उनमा कोरोना भाइरस संक्रमण भएको भए पनि पतिलाई सर्न नसकोस्। उनको यो फोटो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

हलिउड गायिका मइली साइरस पनि कोरोनाको डरका कारण अचम्मलाग्दो हर्कत गरेकी छिन्। उनले एक भिडियो सार्वजनिक गरेकी छन््। जसमा उनले आफैंलाई वासिङ मेसिनमा बन्द गरेको देख्न सकिन्छ। उनलाई कसैले खोजी गरिरहेको आवाजसमेत सुनिन्छ। कोराना संक्रमणबीच हलिउड अभिनेता रेयान रेनाल्डस र उनकी पत्नी ब्लेक लाइवली भने कोरोना पीडित व्यक्तिहरूको सहयोगार्थ जुटेका छन्।

उनीहरूले एक मिलियन अमेरिकी डलर फिडिङ अमेरिका तथा फुड ब्यांक क्यानडालाई दान दिएका छन्। रेयानले एक ट्विट गरेका छन्– ‘कोभिड–१९ को बुर्जुवा तथा गरिब परिवारमाथि धेरै नराम्रो प्रभाव परेको छ। मेरी पत्नी ब्लेक र मैले भएर एक मिलियन फिडिङ अमेरिका तथा फुड ब्यांक क्यानडालाई दान गरेका छौं।

यदि तपार्इंहरू पनि मद्दत गर्न चाहनुहुन्छ भने सक्नुहुनेछ। किनभने उनीहरूलाई तपाईंको जरुरी छ।’ रेयानको यस कार्यको सर्वस्व चर्चा भइरहेको छ। उनी त्यस्तो पहिलो सेलिब्रेटी हुन्, जसले कोरोना संक्रमण पीडितका लागि दान दिए।

 

प्रतिक्रिया दिनुहोस्