कोरोनाले प्रदेशसभा अधिवेशन अन्त्य



 राेशन पराजुली,हेटौंडा। 

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले सभाको हिउँदे अधिवेशन बिहीबार मध्यरातदेखि अन्त्य गर्न सिफारिस गरेको छ । प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि बैठकले सिफारिस गरेको हो । संसद् बैठकमा कोरोना भाइरस संक्रमण हुने भएकाले बैठक स्थगित गर्न सांसद्हरुले माग गरेका थिए । त्यसलाई मध्यनजर गरेर बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठक बसेको हो ।

बागमती प्रदेशसभा बैठकमा समितिमा रहेका केही विधेयकबाहेक अन्य विधेयक पास गरिएको छ । बिहीबार दुई विधेयक पास गरिएका छन् । बैठकले स्थानीय तहका पदाधिकारी, सदस्यहरुको सेवासुबिधाको संशोधन गर्न बनेको विधेयक, २०७६ र प्रदेशमा युवा परिषद् गठनको व्यबस्था गर्न बनेको विधेयक, २०७६ लाई सर्वसम्मत् पारित गरेको हो ।

बैठकमा मुख्यमन्त्री पौडेलका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले स्थानीय तहका पदाधिकारी, सदस्यको सेवासुबिधाको संशोधन गर्न बनेको विधेयक र सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशमा युवा परिषद् गठनको व्यबस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

तत्कालीन प्रदेश नम्बर–३ सभा बैठकबाट स्थानीय पदाधिकारी सदस्यका लागि पारिश्रमिक र सुबिधा उपलब्ध गराउने सम्बन्धि ऐन, २०७५ लाई पारित गरी प्रमाणीकरण भइसकेको थियो । अन्य विधेयक समितिमा छलफलमा रहेको र वर्षे अधिवेशनमा पास गर्ने तयारी गरिएको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्