‘सरकारको दाबीमा सत्यता छैन, नेपालमा पनि काेराेना संक्रमित छन्’ : डा. दिक्षित

'जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन'



न्युज अफ नेपाल, काठमाडौँ ।

वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपालमा कारोना संक्रमित बिरामी रहेको दाबी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. दिक्षितले आवश्यक परीक्षण नहुँदा बिरामीलाई संक्रमण नदेखिएको भन्दैेै कतिपयलाई त परीक्षण नै नगरी फर्काइएको बताएका छन् ।

उनले भने,‘कोरोना भाइरसको संक्रमित भएपनि अस्पतालबाट ८५ प्रतिशत रुघाखोकी लागेर हराउने र १२ प्रतिशतलाई जाँचै नगरी पठाइएको छ । डाक्टरको सिफारिस बिना आफुलाई शंका लागेमा जाँच्न पाउनुपर्छ, यसको सबै बन्दोबस्त मिलाउन म सरकारलाई आग्रह गर्दछु ।’

सरकारले आवश्यकता अनुसार मात्र बिरामी जाँच्ने उपकरण मगाउने भनेकोमा आपत्ति जनाउदै डा. दिक्षितले राष्ट्रको ढुकुटीबाट तुरुन्त मेशीन (परिक्षण किट) ल्याउन आग्रह गरेका छन् । उनले भने,‘परीक्षण किट तत्काल ल्याउनुपर्छ, ढिलाई गर्ने होइन ।’

उनले आवश्यक मेशीन फास्ट ट्रयाकबाट ल्याउनपनि सरकारलाई सल्लाह दिए । दिक्षितले हरेक नेपालीलाई स्वास्थ्यको अधिकार भएकोले रोग जाँच्न नपाएमा संविधान विपरित हुने भन्दै यस्तो आपतमा मेशीन नल्याउँदा जनता आक्रोसित भई सडकमा आउन बाध्य हुने तर्फ पनि सचेत गराए । उनले भने,‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन, तत्काल आवश्यक उपकरण ल्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्