चालकदेखि कार्यालय प्रमुखसम्म हाई अलर्ट, अत्यावश्यक काम बाहेक आवागमन नगर्न आह्वान 



मोतीराम तिमल्सिना, काभ्रे । 

कोभिड १९ संक्रमण हुन नदिन जिल्ला स्थित विपद सम्वन्धी गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्देशन अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले ९ वटा निर्णय गर्दै संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि विशेष ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले जिल्ला भित्र कुनै प्रकारका गोष्ठी, सेमिनार, सम्मेलन, भिडभाड लगायत मानिसहरु जम्मा नहुने सरकारको निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । कोभिड १९ को संक्रमणबाट बच्च अत्यावश्यक काम बाहेक आवागमन नगर्न जिल्लाबासीहरुलाई अनुरोध गरेको छ ।

अत्यावश्यक ग्यास, खाद्य सामाग्री, औषधीहरुको कृत्रिम अभाव हुन नदिन नियमित बजार अनुगमन गरी आपुर्ति ब्यवस्थालाई सहज बनाउन सबै निकायलाई पहल गर्न अनुरोध गरेको छ । जिल्ला स्थित सबै सरकारी कार्यालयहरुमा सुरक्षा सतर्कताका लागि कर्मचारी सहित सेवाग्राहिलाई कार्यालय परिसर प्रवेश गर्दा साबुन पानीले हात धोई सेनिटाईजर प्रयोग गरेर मात्रै प्रवेश गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनु भएको छ । जिल्ला स्थित सबै स्वास्थ्य संस्थाहरुको समन्वयमा स्वास्थ्य कार्यालयले कोभिड १९ सम्वन्धी क्युआरटी तयारी अवस्थामा राख्न, जिल्ला स्थित सम्पूर्ण स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक काम बाहेक विदा नछोड्ने, १३ वटै स्थानीय तहहरुले क्वारेन्टाईन र खुल्ला क्षेत्र अविलम्ब तोक्ने, सार्वजनिक यातायातका सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रुहरु ओसार पसार गर्न नदिने ब्यवस्था तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बैठकले सम्पूर्ण सरकारी कार्यालयका सवारी साधन सवारी चालक सहित जुनसुकै समयमा उपलब्ध हुन सक्ने गरी तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । बैठकमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको विशेष आमन्त्रण रहेको थियो । विष्णुदल गणका गणपति सुवास खड्का, जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौड्याल, शशस्त्र प्रहरी बल नेपाल नम्वर १५ गणका एसपी पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धानका प्रमुख सरोज निरौला, धु्लिखेल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, बनेपाका प्रमुख प्रशासकिय अधिकृत आनन्दराज पोखरेल, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा लगायतको सहभागिता थियो ।

बैठकले धुलिखेल र बनेपा अस्पताल लगायत अन्य क्षेत्रमा थप तयारी गर्ने निर्णय गरेको छ । कोभिड १९ को सम्पूर्ण सूचना स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र्र झा मार्फत सर्वसाधारणहरुलाई जानकारी गराउने गरी सुचनाको एकद्धार प्रणाली शुरु गरिएको छ ।

जिल्लामा रहेका विद्यालय र कलेज बन्द, सिनेमा हल, जिम र डान्सबार बन्द भएका छन् । त्यस्तै पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णयलाई कडाई गर्ने भएको छ । बजारमा ग्याँसको अभाव हुन नदिन बजार अनुगमन गरिएको छ । धुलिखेल नगरपालिकाले धुलिखेल नगरपालिका क्षेत्र रहेका मेडिकहरुको अनुगमन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्