कोरोना भाइरसविरुद्ध नेपाल



कोरोना भाइरस (कोभिड–१९)को महामारी नेपालमा प्रवेश गर्न नसकोस् भन्ने उद्देश्यले सरकारले बुधबार लिएको निर्णय सराहनीय छ। सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लबलगायतलाई बन्द गर्ने निर्णय गरेको छ। यसैबीच आजबाट शुरू हुने भनिएको करिब पाँच लाख सहभागी हुने विद्यालय शिक्षा परीक्षा (एसईई) पनि हिजो अन्तिम समयमा आएर स्थगित गरिएको छ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले वैशाख १८ सम्मलाई ती क्षेत्र बन्द गर्ने निर्णय गरेको हो। बुधबार गरिएको निर्णयमा सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई एक महिनाका लागि बन्द गर्ने भनिएको छ। यसको अनुगमानको जिम्मेवारी गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ।
त्यसै गरी अर्को बुँदामा होटल, रेस्टुरेन्ट तथा सपिङ मलका सञ्चालकलाई हात सफा गर्ने स्यानिटाइजरलगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमितरूपमा डिस–इन्फेक्सन गर्न लगाउने पनि भनिएको छ। साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरूमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ।
त्यसै गरी, आज हुने भनिएको यस वर्षको एसईई परीक्षाका कारण पाँच लाख परिवार तत्कालका लागि तनावमुक्त भएका छन्। परीक्षामा सरकारले पूर्ण सावधानी अपनाई जाँच लिने भनेर दिउँसो जानकारी गराउने तर साँझ स्थगित भएको समाचार सम्प्रेषण गर्ने कामलाई भने सबैले त्रुटिपूर्ण व्यवहार भनेका छन्।
केन्द्रमा प्रवेश गर्नुअघि सबै विद्यार्थीको तापक्रम मापन गर्ने, टाढै बस्ने, सकभर साबुन–पानीले हात धोएर परीक्षामा सहभागी हुने, परीक्षामा हुलहुज्जत नगर्ने, सकभर परीक्षार्थीलाई कुनै व्यवधान नगर्ने आदि पूर्वाधारका साथ परीक्षा शुरू गर्ने भनिए तापनि यसले ठूलो जनसमुदायलाई तनावमा पारेको थियो।
चार लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी रहने परीक्षामा नियमित (साधारण)तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी सहभागी हुने स्थितिमा उनीहरूको परिवार र आफन्तको परिमाणको हिसाब गर्दा एकसाथ ठूलो जनसमुदाय तनावमा पर्ने निश्चित थियो।
परीक्षा लिने वा नलिने दोधारमा परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तिम समयमा परीक्षा लिने निर्णयमा पुगेको भन्दै हिजो दिउँसो समाचार सम्प्रेषण गर्ने तर साँझ स्थगित भएको जानकारी दिने काम भयो।
कोरोना भाइरसले नेपालीलाई पनि छुने हो कि भन्ने त्रासका बीच हुन लागेको विद्यालय तहको यस परीक्षामा कुनै भवितव्य परेको अवस्थामा दोष सरकारलाई जाने थियो। दोष एकातिर थियो भने नागरिकको सुरक्षा चुनौती अर्को पाटो थियो। यी सबै पक्षलाई ध्यान दिएर एसर्ईईलगायतका कार्यक्रम एक महिनाका लागि स्थगित हुँदा ठूलो चिन्ता लिनुपर्दैन जति कि जाँचको बीचमा दुर्घटना भएको भए चिन्ता हुनेथियो।

प्रतिक्रिया दिनुहोस्