कालोबजारीविरुद्ध कडाइ गर्न निर्देशन



नेपाल समाचारपत्र, काठमाडौं

विश्वमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेविरुद्ध निर्दयीपूर्वक कठोर रूपमा कारबाही गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताउनुभयो।

बुधबार बिहान समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरमा आयोजित स्थानीय प्रहरी र स्थानीय नागरिकको भूमिका विषयक अन्तक्र्रिया तथा संयुक्त प्रहरी मेस शुभारम्भ कार्यक्रममा उक्त कुरा बताउँदै डीआईजी पोखरेलले प्रहरी संगठनले प्रदान गर्ने सेवा प्रवाहलाई उत्कृष्ट बनाउन प्रहरी कर्मचारीले प्राप्त गर्ने सेवा सुविधालाई समेत सुधार गर्दै लैजाने बताउनुभयो।

कार्यक्रममा उठेका जिज्ञासालाई सम्बोधन गर्दै पोखरेलले ग्यास उत्पादक, वितरक, पेट्रोल पम्प, डिपो, स्यानिटाइजर र मास्क बिक्रेताको निग्रानी राख्न पनि निर्देशन दिनुभयो।

यो समयमा खाद्यान्न र औषधिमा पनि कालोबजारी हुन सक्ने भन्दै उहाँले सचेत रहन आग्रह गर्दै कोराना भाइरसका कारण उत्पन्न त्रासको वातावरणको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने व्यापारी तथा व्यवसायीविरुद्ध प्रहरीलाई सूचना उपलब्ध गराउनसमेत नागरिकलाई आग्रह गर्नुभयो।

कार्यक्रममा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले नागरिकलाई कोरोना भाइरसबाट बच्न सुझाव दिँदै समुदायले प्रहरीका कमीकमजोरी औंल्याउँदै प्रहरी र समुदाय बीचको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताउनुभयो।

सो अवसरमा काठमाडौं महानगरपालिका–१७ का वडाध्यक्ष नवीनकुमार मानन्धरले मेस सुधार विषयलाई खुलेर प्रशंसा गर्नुभयो।

सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीद्वारा सञ्चालित प्रहरी मेस सुधार अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरद्वारा नवनिर्मित प्रहरी मेसको शुभारम्भ गरिनुका साथै अपराध नियन्त्रण तथा शान्ति सुरक्षा प्रदान गरी समाजमा अमनचयन कायम गर्ने कार्यमा आ–आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान पु¥याउने महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष सिंह राठौरलाई पुरस्कार, अन्य १० जना महानुभावहरूलाई प्रशंसा पत्रसमेत प्रदान गरिएको  थियो।

प्रतिक्रिया दिनुहोस्