आईओसीको अडानमा खेलाडीको विरोध



लन्डन, (एजेन्सी) । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले सेड्युलअनुसार नै २४ जुलाईदेखि ९ अगस्टबीच हुने टोकियो ओलम्पिक आयोजना गर्ने अडान लिएको छ।

खेलाडी र आईओसी सदस्यले सो निर्णयको खुलेर विरोध गर्दै छन्। ग्रीसकी एथ्लीट र ओलम्पिक पोल भोल्ट च्याम्पियन केटरिना स्टेफानीडी र ब्रिटेनकी हेप्टाएथ्लेलिट केटरिना जोन्सनले यस निर्णयप्रति चिन्ता जनाएका छन्।

स्टेफानीडीले ट्वीटरमा उल्लेख गरिन्– ‘आईओसी चाहन्छ हामी र परिवारको स्वास्थ्यलाई खतरामा राखेर प्रशिक्षण गर। ४ महिनापछि होइन, उनीहरुले खेलाडीलाई अहिलेदेखि नै खतरामा राखिरहेका छन्।’

स्टेफानीले अगाडि लेखिन्– ‘यो एकदमै हैरान गर्ने निर्णय हो। ती खेलाडीको के हुन्छ, जो टिम स्पोर्टस्सँग जुडेका छन्। पौडी र जिम्नास्टिकको के होला ? यसका खेलाडीलाई एकै साथ अभ्यास गर्नुपर्ने हुन्छ। यस्तोमा उनीहरुलाई कोरोना संक्रमण हुने सम्भावना बढी हुन्छ।’

त्यस्तै जोन्सनले स्टेफानीको कुरालाई समर्थन गर्दै भनिन् कि आईओसी सबै बुझेर पनि खेलाडीलाई खतरामा राखिरहेका छन्। उनले आईओसीले खेलाडीलाई अभ्यास जारी राख भन्नु मुर्खता भन्दै बताइन्– ‘यो मुर्खता हो, म स्वयम् अभ्यासलाई दबाब महसुस गरिरहेकी छु। मेरा लागि यस्तो वातावरणमा स्वयम्लाई यी खेलका लागि तयार गर्न मुश्किल छ।’

तर आईओसीले कोरोनाभाइरसको बीचमा टोकियो ओलम्पिकको आयोजना कुनै आदर्श समाधान नभएको जनायो। आईओसीका प्रवक्ताले बताए कि यो एक असाधारण स्थिति हो, जसका लागि असाधारण समाधानको आवश्यकता छ। आईओसीले खेलाडीको सुरक्षाको ध्यानमा राखेर यस्तो समाधान खोजिरहेको पनि बताएको छ।

यस्तै ओलम्पिकका एक सदस्यले पनि आईओसीको निर्णयप्रति असन्तुष्ट जनाएको छ। उनले आईओसीको व्यवहार असंवेदनशील र गैरजिम्मेवारी रहेको बताए। उनले बताए– ‘यस भाइरसबाट मृत्युले गर्दा खेलाडी डराएका छन् र अभ्यास गर्न पनि इच्छुक भएका छैनन्।’

यसैगरी क्यानडाका आईओसी सदस्य तथा चारपटक आईस हकीमा स्वर्णपदक जितेका हेली वाइकन हाइजरले पनि चेतावनी दिएका छन्। उनले यो संकट ओलम्पिकभन्दा ठूलो भएको भन्दै बताए– ‘यस्तो संकटमा पनि आईओसीले ओलम्पिक आयोजना गर्नुभनेको असंवेदनशील र गैरजिम्मेवारी हो।’

तर आईओसीले लगातार ओलम्पिक आयोजना गर्ने भनेर ढिपी गरिरहे पनि बुधबार मात्रै टोकियोमा हुनुपर्ने जिम्नास्टिकको ओलम्पिक क्वालिफायर इभेन्ट रद्द गरेको छ। अघिल्लो दिन जापानकी ओलम्पिक समितिका उपप्रमुख कोरोना भाइरसबाट संक्रमित भएको पाइएको थियो। यसको बाबजुद आईओसीले डराउनुपर्दैन भनिरहेकोमा सबै आश्चर्यचकित भएको सञ्चारमाध्यमले जनाएको छ।

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण हुनेको संख्या विश्वमा २ लाख नाघिसकेको छ। त्यही मर्नेहरुको संख्या करिब ८ हजार पुगिसकेको पनि जनाइएको छ। यस भाइरसको नयाँ केन्द्र युरोप हो, जसमा इटालीमा सबैभन्दा बढी प्रभावित भएका छन्। इटालीमा मर्नेको संख्या २ हजार ५ सयभन्दा बढी रहेको छ।

प्रतिक्रिया दिनुहोस्