विप्रेषण आप्रवाह घट्यो



नेपाल समाचारपत्र, काठमाडौं ।

चालू आर्थिक वर्षको सात महिनाको अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेर ५१३ अर्ब २१ करोड रुपियाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८ दशमलव ५ प्रतिशतले बढेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा शून्य दशमलव २ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१ दशमलव ७ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७ दशमलव ५ प्रतिशतले घटेको थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा शून्य दशमलव ६ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ दशमलव ९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर आय १ दशमलव १ प्रतिशतले ह्रास भई ५७९ अर्ब ९४ करोड रुपियाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ दशमलव ३ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्