प्रदेशसभाका कोरोना चर्चा : ‘आपत्कालीन स्थितिकालागि आवश्यक जनशक्ति तयार’



राेशन पराजुली,हेटौंडा ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसको संक्रमण बढ्न नदिन प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ ।प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले यसप्रति प्रदेश सरकार पूर्णरुपमा तयारी हालतमा रहेको बताउनुभएको हो । प्रदेशसभा सदस्यहरुले कोरोनालक्षित विषय उठाएका थिए ।

विशेष समयमा प्रदेशसभा सदस्यहरुले कोेरोनाको विषयमा छलफल गरेका थिए । संसद्मा मुख्यमन्त्री पौडेलले कोरोना भाइरसको प्रकोप र यसले निम्त्याउनसक्ने विपद्प्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । कोरोना भाइरसका विषयमा जनचेतनामूलक कामहरु भइरहेको बताउँदै उहाँले कोरोना भाइरसको जोखिम सम्भावितस्थलमा हेल्थडेस्क स्थापना गरिएको जानकारी दिनुभयो ।

भाइरसले निम्त्याउनसक्ने जनधनको क्षतिलाई मध्यनजर गरी आपत्कालीन स्थितिमा परिचालन गर्न आवश्यक जनशक्ति तयारी अबस्थामा राखिएको भन्दै कोरोना भाइरस देखिए उपचारका लागि आवश्यक व्यबस्था मिलाउन प्रदेशस्थित अस्पतालहरुलाई तयारी अबस्थामा राखिएको मुख्यमन्त्री पौडेलले स्पष्ट पार्नुभयो ।

जोखिम भएका प्रदेश नाकाहरुमा थर्मल चेकको व्यबस्था गर्ने तयारी छ । ‘प्रदेश सरकारले संघीय सरकार तथा स्थानीय तहसँग समन्वय गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि आआफ्नो कार्यक्षेत्रबाट काम गर्ने तयारी गरेको छ,’ उहाँले भन्नुभयो । प्रदेश सरकारले सशस्त्र प्रहरी बलसँग सहकार्य गरी ४० बेडको आइसोलेसन वार्ड तयार गर्ने योजनाअनुरुप अगाडि बढेको उहाँले बताउनुभयो ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको त्रासले बागमती प्रदेशसभा बैठक स्थगन गर्न सांसद्ले माग गरेका थिए । प्रदेशसभाको बैठकको विशेष समयमा बोल्ने सांसद्हरुले संक्रमणको जोखिम हुनसक्ने भन्दै सभा सञ्चालन नगर्न सभामुखसँग माग गरेका हुन् ।

सांसद् न्हुच्छेनारायण श्रेष्ठले सरकारले ठूला सभा, सम्मेलन, जमघट जस्ता गतिविधि नगर्न आग्रह गरिरहँदा प्रदेशका सबै माननीय जनप्रतिनिधिहरु बैठक बस्नु जोखिमको हिसाबले उपयुक्त नहुने भन्दै सभाको बैठक स्थगन गर्न आग्रह गर्नुभयोे ।सांसद् रिता माझीले कोरोनाको नाममा व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी सुरु भएको भन्दै यसलाई नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारलाई पूर्वतयारी र सचेतनालाई तीव्र बनाउन आग्रह गर्दै उहाँले यस्तो संक्रमणकालीन अबस्थामा प्रदेशसभा बस्नु कत्तिको उचित भन्दै प्रश्न गर्नुभयो ।बैठकको विशेष समयमा बोल्ने अधिकांश सांसद्ले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न प्रदेश सरकारसँग आग्रह गरेका थिए ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले कोरोनाबाट आत्तिनुपर्ने अबस्था नेपालमा हालसम्म नभएको बताउनुभएको छ । कोरोनाबाट नेपालमा संक्रमण नभएकाले आत्तिएर सरकारका कार्यक्रम नरोक्न उहाँले आग्रह गर्नुभएको हो ।

प्रदेशको प्रदेश विपद् व्यबस्थापन समितिको हेटौंडामा आयोजित बैठकमा उहाँले विश्वमा पनि कोरोनाबाट धेरै संक्रमित नरहेको बताउँदै भन्नुभयो–कोरोनाका कारण सरकारको काम रोक्नुभएन ।‘कोरोना देखिएको छैन । सबै कार्यक्रम रोकेरमात्र के गर्ने,’ उहाँले प्रश्न गर्नुभयो । सञ्चारमाध्यमलाई प्रयोग गरेर यसबारे सचेतना अपनाउन उहाँले सुझाउनुभयो । कोरोनालाई देखाएर कालोबजारी गर्न दिन नहुने भन्दै उहाँले नेपालमा यसबाट आत्तिनुपर्ने अबस्था नरहेको तर सचेत भने रहन आग्रह गर्नुभयो ।

प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट बेलैमा सचेत रहन तयारी गरिएको छ । यसबारे जानकारी गराउँदै आवश्यक तयारीका लागि बैठक बसेको हो । कोरोना रोक्ने तयारीअनुसार हाल प्रदेश आपूर्ति केन्द्र हेटौंडामा यसका लागि केही सामग्री स्टक राखिएको छ । केन्द्रमा २५ सेट पीपीएफ, एन ९५ मास्क एक सय ५० थान, २ हजार वटा सर्जिकल मास्क, थर्मल स्क्यानर ५ वटा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्