मेचीपारी जोड्ने झोलुङ्गे पुल नबन्दा स्थानीय पीडित



उत्तम नेपाल, भद्रपुर ।

 

गाउँलाई भद्रपुर शहरसित जोड्न भनेर पाँच वर्षअघि बनाउन थालेको झोलुङगे पुल अलपत्र छ । मेची पारिको गाउँसम्म जोड्ने गरी झापाको भद्रपुर ३ मै मेची नदीमा झोलुङगे पूल निर्माण सम्पन्न नहुँदा स्थानीयको दैनिक जीवन कष्टकर बनेको छ । निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा नाघेको ३ वर्ष हुन लागेपनि पुल अधुरै रहेको छ ।

 

पुल सम्पन्न हुन नसक्दा वर्षायाममा शिक्षक–विद्यार्थी र त्यहाँका वासिन्दाले ठूलै कठिनाइ व्यहोर्नु परिरहेको छ । निर्वाचनका बेला स्थानीय तहदेखि, प्रदेश र सङ्घसम्मका उम्मेदवारले यही पुललाई निर्वाचनको नारा बनाएर गाउँलेबाट जनमत बटुलेका थिए । नदीमा पानीको बहाव बढेसँगै स्थानीयवासी त्रसित बनेर बाँच्नु बाहेक बिकल्प नभएको उहाँहरुको भनाइ छ ।

 

भारतले आफ्नो क्षेत्रतिर यही वर्ष पक्की तटबन्ध बनाएपछि बस्ती पूर्वपट्टि बग्ने मेची नदीले पनि अब नेपालतिरै कटान गर्ने अनुमान लगाएका छन् । यसले टापुका बासिन्दालाई अर्को सङ्कट थपेको छ । भौगोलिक रूपमा सदरमुकामसँग जोडिन नसकेको मेचीपारिको सो गाउँलाई विशेष प्राथमिकतामा राखिनुपर्ने स्थानीयको माग छ ।

 

हिउँदमा नेपाली भूमि आवत जावतमा सहजता भए पनि वर्षादमा सदरमुकाम आउन भारतीय भूमिको साहरा नलिइ उपाय नभएको उहाँहरु बताउँनुहुन्छ । कृषिमा आश्रित आदिवासी समुदायका ५ सय परिवार वसोबास गर्ने यस गाउँमा नेपाल सरकारको अनुभूति कम हुने गरेको पाइएको छ । वडा कार्यालय आउन समेत नदी पार गर्नुपर्ने हुन्छ ।

 

तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुलका लागि बजेट विनियोजन गरी ठेक्का लगाएको थियो । भ्याटसहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयाँमा निल गिरी निर्माण सेवा प्रा.लि. बानेश्वर काठमाडांैले २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो । २ सय ८० मिटर लम्बाई र १३ मिटर चौडाईसहितको झोलुङ्गे पुलको निर्माण कार्य १८ महिना अर्थात् २०७३ फागुन ६ गते सम्पन्न हुने गरी निर्माण व्यवसायी युवराज डाँगीले ठेक्का लिएका थिए ।

 

२०७६ साउनसम्म आइपुग्दा ८० प्रतिशत बजेट लगिसकेको कम्पनीको काम भने अन्दाजी ६० प्रतिशत सम्पन्न गरेको छ । समयमा पुल नबनाएका कारण विकट समस्या उत्पन्न भइरहेको वडा नम्बर ३ की अध्यक्ष कमला थुलुङ्ले बताउँनुभयो । पटक– पटक ठेकेदारलाइ भने पनि हुन्छ मात्र भन्ने गरेको तर पुल सम्पन्न नभएका कारण डुङ्गाको सहारा लिनु परेको उहाँको भनाइ छ ।

 

विभागले पुलको डिजाइन पुन ः परिवर्तन गरेका कारण ढिलाइ भएको ठेकेदार निलम डाँगीले बताउँनुभयो । अबको दुइहप्ता भित्र निर्माण सम्पन्न भइ पुल सञ्चालन हुने उहाँले आश्वासन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्