काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु आदेश



 

मोतीराम तिमल्सिना,काभ्रे ।

टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि तनावग्रस्त बनेको काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलञ्चोकले जिल्ला सुरक्षा समितिको बैठकपछि आज (मङ्गलबार) बिहान ९ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले कर्फ्यु आदेशको अवज्ञा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनका अनुसार प्रशासनले पनौतीको पूर्व शंखु जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र, पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म, उत्तरमा बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र दक्षिणमा देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ।

प्रहरीले स्थानीयहरुको भिडलाई नियन्त्रणमा लिन राती १७ राउण्ड अश्रु ग्याँस हवाई फायर गरेको थियाे भने १५ राउण्ड हवाई फायर गरेको थियाे ।

प्रहरीको हवाई फायर र स्थानीयहरुले प्रहार गरेको ढुंगाबाट प्रहरीका हवल्दार दीलिप बुढाथोकी लगायत स्थानीय घाइते भएका छन । घाइतेमध्ये बनेपामा उपचार हुन नसकेपछि हर्कबहादुर तामाङ र साजन चौधरीलाई काठमाडौँ रिफर गरीएको छ भने अन्यको बनेपा अस्पतालमा उपचार भईरहेको छ । स्थानीयहरुले दोषि चालकलाई कारवाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।

पनौतीबाट खोपासीतर्फ जादै गरेको बा ५ ख ५४८० नम्बरको टिपरको ठक्करबाट खानीखोला १ निवासी २६ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरीको मृत्यु भएको हाे ।

छोरीलाई टिपरले ठक्कर दिएपछि बचाउने क्रममा आमालाई पनि ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताए । उपचारको लागि शिर मेमोरियल अस्पताल ल्याईएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । खानीखोलास्थित कालिका प्राविको प्रधानाध्यापक रहेकी गोले विरामी भएपछि जचाँउनको लागि बनेपा आएकी थिइन् ।

आमाछोरीको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले पनौतीमा प्रदर्शन गरेका हुन् । पनौती क्षेत्र हुँदै दैनीक ५ सय भन्दा धेरै टिपरहरु संचालन हुँदै आएका छन् भने काभ्रेमा दैनीक १ हजार ५ सय टिपरहरु चल्ने गरेका छन् ।

पनौती क्षेत्रमा स्थानीयहरुले रातिको समयमा टिपर संचालनमा रोक लगाएका छन् । टिपर चालक रोशी गाउँपालिका ६ का नवराज थापा र टिपर प्रहरी नियन्त्रणमा छन् । मृतकका श्रीमान बैदेशिक रोजगारको क्रममा बाहिर छन् । बाबु जगत गोलेसँग जचाउँन पनौती आउने क्रममा उनलाई टिपरले ठक्कर दिएको हो ।

प्रतिक्रिया दिनुहोस्