माथिल्लो तामाकोसीको बाँधमा पानी परीक्षण



चिरञ्जीवी मास्के, दोलखा ।

स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्राविधिक परीक्षण शुरू भएको छ।

सोमबारबाट आयोजनाको बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट, स्टपलगलगायत अन्य हेडवर्कसका संरचनाको प्राविधिक परीक्षण शुरु गरिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताउनुभयो।

परीक्षणको पहिलो दिन सोमबार बाँधमा चार मिटर पानी राखेर परीक्षण शुरू गरिएको प्रवक्ता न्यौपानेले बताउनुभयो। बाँधको १९७२ मिटरदेखि १९७६ मिटरसम्म पानी राखेर परीक्षण शुरू गरिएको न्यौपानेको भनाइ छ। परीक्षणको काम आवश्यकताअनुसार दुई हप्तासम्म चल्न सक्नेछ।

परीक्षणको क्रममा जलाशय (बाँध) तथा बालुवा थिग्राउने पोखरीमा पानी भरेर बाँध, इन्टेक, गेट, स्टपलगलगायत अन्य हेडवर्कसका संरचनामा चुहावट हुने नहुने बारेमा हेरिने छ र कतै त्यस्तो समस्या देखियो भने सुधार गरेर पुनः परीक्षण गरिने जनाइएको छ।

आयोजनाको काम अहिलेसम्म ९९ दशमलव ४ प्रतिशत सकिएको र आगामी असारभित्र एउटा टर्वाइनबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताउनुभयो।

आयोजनामा ६ वटा टर्वाइन रहेको र प्रत्येक टर्वाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने पनि आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो।

२०६७ भदौ १७ गतेबाट मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको यस आयोजनामा भूकम्प र तराई आन्दोलन तथा लामोसाँघु चरिकोट सडकको स्तरोन्नतीको कारणले निर्माण सम्पन्न हुने अवधिमा विलम्व हुन गएको आयोजना प्रमुख दिनेशजंग राणाले बताउनुभयो।

वर्तमान कार्य प्रगतिको आधारमा यस आयोजनाबाट २०७७ असार मसान्तसम्म परीक्षण उत्पादन शुरु गरिने र कुनै समस्या नभए त्यसले निरन्तरता पाउने आयोजना प्रमुख राणाको भनाइ छ।

दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निमार्णाधीन आयोजनाको लागि ब्याज बाहेक ४९ अर्ब २९ करोड लागत प्रक्षेपित गरिएको जनाइएको छ।

३६ अर्बमा निर्माण सम्पन्न हुने भनिए पनि विभिन्न कारणले आयोजनाको लागत बढेको तर अहिले पनि यो आयोजना नेपालको सबैभन्दा सस्तो आयोजना नै हुने आयोजना प्रमुख राणाले बताउनुभयो।

 

 

प्रतिक्रिया दिनुहोस्