बन्द नगरिए पनि दर्शकबिहीन सिनेमा हल



न्युज अफ नेपाल,हेटौंडा ।

सरकारले विभिन्न ठाउँमा हुने सभा, सम्मेलन तथा सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ । कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै सभा, सम्मेलन, मेला, महोत्सव, सप्ताह तथा अन्य कुनै सार्वजनिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले केही समयअघि सूचना जारी गरेको थियो । तर, हेटौंडामा रहेका सिनेमा हल भने बन्द गरिएका छैनन् ।

मकवानपुरमा रहेको दुई वटै हल सञ्चालनमै छन् । निकै कम दर्शकबीच हल सञ्चालन हुँदै आएका छन् । हाल पनि दुवै हलमा ३ समय नै शो चल्ने गरेको छ ।हेटौंडा–१०, बैंक रोडस्थित नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पहिलाको तुलनामा ७५ प्रतिशत दर्शक कम रहेको हल सञ्चालक कैलाश ढकालले बताए । हलका दर्शकलाई हात सेनिटाइजरले सफा गर्न लगाउने, प्रत्येक घण्टा सिटमा स्प्रे गर्ने र बाथरुपमा ह्याण्डवास सुबिधा उपलब्ध गराइएको उनले जानकारी गराए ।

दर्शकको स्वास्थ्यलाई मध्यनजर गर्दैै यस्ता कार्य गरिरहेको ढकालको भनाइ छ । ढकाल, चलचित्र संघ केन्द्रीय सदस्य हुन् । ढकालका अनुसार आउँदो शुक्रबारदेखि हल बन्द गर्ने योजना भने छ । निर्माण भएका चलचित्र कोरोना भाइरसको कारणले गर्दा मिति सरेपछि आफूहरुले हल केही समयका लागि बन्द गर्न लागेको उनले बताए ।

ओम्याक्स हलमा हाल हिन्दी र अंग्रेजी फिल्म चलिरहेको छ । हलका कर्मचारी दिनेश तिमल्सिनाका अनुसार हलमा दर्शकलाई मास्कबिना आउन दिइएको छैन । हलमा विभिन्न ठाउँमा सूचना टाँस गरिएका छन् । ‘फिल्मको सो भने कोरोना भाइरसको कारण रोकेका छैनौं,’ उनले भने ।

कोरोना भाइरसको संक्रमण हुनसक्ने जोखिमयुक्त स्थानमा सिनेमा हल पनि पर्दछ । सिनेमा हलमा धेरै दर्शक एकसाथ उपस्थित हुने कारण कोरोना भाइरसको संक्रमणको जोखिम धेरै हुनजान्छ । सिनेमा हलहरुले उचित सावधानी अपनाएको भने दाबी गरेका छन् । यद्यपि, शुक्रबारदेखि रिलिज हुने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरोनाकै कारण स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्