बलात्कार, हत्या र भ्रष्टाचार किन ?



अहिले बलात्कार, हत्या, भ्रष्टाचार लगायतका घटनाहरुले दिनप्रतिदिन सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो, टेलिभिजन भरिभराउ छ । यी घटनाहरुको अत्याधिक चर्चा परिचर्चाले समस्या अझै बढ्दै गइरहेको देखिन्छ । फाँसी लगायतका सजाँयहरुको माग सहितका आन्दोलन गरी समाधानका उपायहरुको वकालत गरिएको छ । एउटा घटनालाई समाधान गर्ने नाममा अरु अनेकौं घटना (समस्या) हरु सृजना गरिएको छ ।

वास्तवमा बलात्कार किन हुन्छ ? हत्या किन हुन्छ ? भ्रष्टाचार किन हुनछ ? हामी समस्याको बारेमा चर्चा त गर्छौैं, तर समाधानका लागि यी घटनाहरुको पछाडि गुप्त रहस्य र यथार्थ कारणलाई पहिचान गर्ने प्रयास गर्दैनौं । आज मानिस भौतिक सुखको चाहनामा इच्छाहरुलाई बिस्तार गर्दै गइरहेको छ । इच्छाहरुको सहज पूर्तिको अभिलाषा सहित कुष्ठित बनेको मानिसले ती इच्छाहरु अतृप्त भएपछि गलत क्रियाकलाप (पाप कर्म) गर्न प्रवृत्त हुन्छ ।

फलस्वरुप हत्या, बलात्कार, भ्रष्टाचार आदि समस्यारुको जन्म हुन्छ । यी समस्याहरुको जननी हो अतृप्त चाहना, असीमित इच्छाहरु र अनन्त कामनाहरु । यदि समस्या समाधान गर्ने हो भने चाहना, इच्छा र कामनाहरुलाई अन्त्य गर्नुपर्दछ । यी सबै गलत कर्मको कारण आत्माभित्रको अज्ञानतारुपी अन्धकार हो, उच्च मनोबलको अभाव हो, श्रेष्ठ लक्ष्यप्राप्तिको शुन्यता हो, सत्सङ्ग, सत्कर्म र सद्भावको कमी हो । समग्रमा यथार्थ नैतिक, चारित्रिक एवं आध्यात्मिक शिक्षाको कमी हो ।

जब मानवभित्र कामवासना प्रवल हुन्छ, तब बलात्कार जन्मन्छ । क्रोध प्रबल हुनेबित्तिकै झगडा, हत्या र हिंसाले जन्म लिन्छ । लोभले भ्रष्टाचारलाई जन्म दिन्छ । तनावका कारण डिप्रेशन र तत्पश्चात् सुसाइड जन्मन्छ । वास्तवमा दोषी को हो भन्ने कुराको सही पहिचान नगरिकन कसरी हामी दण्ड–सजाँयको वकालत गर्न सक्छौं ? विधिको शासन र न्यायका लागि त कर्म–कारणको सही पहिचान हुनु अति आवश्यक छ । शरीर त केबल साधन हो ।

कर्म गर्ने माध्यम मात्र हो । फाँसी दिनाले केबल साधनको विनाश हुन्छ, प्रवृत्तिको अन्त्य हुँदैन । समाजबाट विकृति र विसङ्गतिको अन्त्य हुँदैन । किनकि विकार र विकृतिले डेरा जमाएको छ आत्मामा । आत्मा न मर्दछ, न कसैले मार्न सक्दछ । शरीरको विनाशपछि आत्मा विकृति र विकार सहित अर्को शरीर लिन्छ, केबल अर्को शरीरमा स्थानान्तरण हुन्छ, समस्या यथावतै रहन्छ ………..

आध्यात्मिक शिक्षाले स्वयंभित्र अन्तर्निहित दिव्यतालाई जागृत गर्दछ । आन्तरिक सशक्तिकरणको प्रकटिकरण हुन्छ, ज्ञान प्रकास प्रदीप्त हुन्छ । समस्त विकार र कमजोरी भष्मिभूत हुन्छन् । जीवनको उन्मुक्त गगनमा आत्मा पंक्षी स्वतन्त्र भएर निर्वाद उड्दछ । आत्मिक दृष्टिको अभ्यासले एक अर्कामा दया भाव, करुणा भाव र स्नेह भावको जन्म हुन्छ । तरवार र बन्दुकका हातहरु होइन, सहयोग र सद्भावका हातहरु उठ्दछन् । वासना, घृणा र लोभलाई प्रेम, स्नेह र आत्मसंयमले प्रतिस्थापन गर्दछ ।

आध्यात्मिक शिक्षाले हाम्रो पुरानो र गलत मान्यताहरुलाई चुनौति दिन सिकाउँदछ । धर्ममा आधारित विश्वासलाई अन्धविश्वासमा परिणत हुन नदिन अनुभवको कसौटीमा कसेर व्यवहारिक र वैज्ञानिक धरातल प्रदान गर्दछ । आध्यात्मिक शिक्षा सकारात्मक जीवनशैलीको मार्गदर्शक हो ।

यस शिक्षा अन्तर्गतको राजयोग ध्यानको अभ्यासद्वारा न केबल संकल्प, तर संस्कार परिवर्तनको महानतम् अभ्यासको पृष्ठभूमि तयार हुन्छ । राजयोग ध्यानले एउटा यस्तो अग्नि प्रज्वलित गर्दछ, जसले पुरानो संस्कारको गहिराइमा पुगेर गलत (पाप) कर्मका हरेक कारणहरुलाई भष्म गरिदिन्छ । आध्यात्मिक शिक्षाले व्यक्तित्वलाई प्रभावशाली एवं मूल्यनिष्ठ बनाउँदछ । श्रेष्ठ संकल्पको विकास, विवेक शक्तिको विकास र मानवताको विकास गराउँदछ ।

साथै भय, चिन्ता र अविश्वासलाई समूल नष्ट गर्दछ । साथसाथै सम्बन्धमा सद्भावना, जीवनमा सन्तुलन, नागरिकमा कर्तव्यनिष्ठता, सेवामा निश्वार्थता र विश्वमा विश्वबन्धुत्वको विकास गराउँदछ । स्पष्ट छ, हरेक अन्धकारको समाधान केबल प्रकाश नै हो । जहाँ प्रकाश हुन्छ, त्यहाँ अन्धकार हुँदैन । जहाँ अन्धकार हुँदैन, त्यहाँ बलात्कार, हत्या र भ्रष्टाचार हुँदैन ।

एक सभ्य, सुसंस्कृत र मूल्यनिष्ठ समाज निर्माणका लागि ज्ञानसूर्य निराकार ज्योतिस्वरुप परमात्मा शिवबाबाले परम शिक्षक बनेर वर्तमान समय आफ्ना आत्मिक सन्तानलाई आध्यात्मिक शिक्षाले आलोकित गर्ने परम कर्तव्य गरिरहनुभएको छ । अतः परम शिक्षक शिवबाबाको छत्रछाँयामा बसेर यो शिक्षालाई ग्रहण गरौं । जीवनमा सर्वप्रकारका अन्धकारहरुलाई सदाका लागि समाप्त गरौं । कहिल्यै नभुलौं, आध्यात्मिक शिक्षाले प्रशिक्षित व्यक्ति माथि उल्लेखित पाप कर्ममा कहिल्यै प्रवृत्त हुँदैन । यही परमात्माको सन्देश हो र आदेश पनि ।

-प्रदीप रेग्मी
ब्रह्माकुमारि इश्वरीय विश्वविद्यालय, पोखरा ।

प्रतिक्रिया दिनुहोस्