गरिबीलाई जित्न नसकेका जीतबहादुर



न्युज अफ नेपाल, हेटौंडा ।

गरिबीका कारण रोगको उपचार गर्न नसकेका उनी लामो समयदेखि ओच्छ्यानमै थलिएका छन् ।

सुकुम्बासी बस्तीमा जस्ताले छाएको घर, भन्नलाई घरभित्र बसेको बेला पनि चौरमा बसेको झल्को दिने प्लाष्टिक र बोराले बारिएको जताततैबाट हावा छिर्ने भित्ता । त्यसकै भरमा बस्न बाध्य छन् उनी । पीडाको जञ्जिरमा आफ्ना सारा इच्छा चाहनालाई मार्दै घरको भुँईमा लडिरहन्छन् उनी ।

आर्थिक अभावका कारण उपचार गराउन नसकेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७, हरियाली निवासी ५४ वर्षीय जीतबहादुर तामाङ ओच्छ्यानमै थलिनुभएको हो । बुबा र आमाको प्यारालाइसिसका कारण मृत्यु भएको अनि बहिनीको क्यान्सरका कारण मृत्यु भएको पीडामा आफू यसरी मुढाझैँ बस्नुको पीडा असैह्य छ जीतबहादुरलाई ।

के दिन, के रात भुईंमा ओच्छ्यानमा सुत्न विवस हुनुहुन्छ उहाँ । दाहिने खुट्टा सुन्निएको छ । पूरै कालो भएको छ । जोकोहीले हेर्नसक्ने अबस्था छैन । घाउको पाप्रा र घाउको पीप सम्झँदाखेरि मनै भक्कानिएर आउँछ ।

सबैको मनमा कहाँ दया र माया हुन्छ र १ छरछिमेकी घरनजिक आउनै मान्दैनन् । कोही नजिक आइपुगे मुख थुनेर हिँड्ने गरिएको छ । उहाँलाई सहयोग गर्न आउनेलाई पनि रोग सर्छ भनेर त्यहाँ जान रोकिने अबस्था छ । गरिबीकै कारण उपचार खर्च अभावमा उहाँले निको हुने रोगको समेत उपचार नगरी बस्नुपर्ने बाध्यता छ ।

उपचार अभावमा उहाँको दाहिने खुट्टा कुहिएर टोलछिमेक नै दुर्गन्धित भएपछि केही स्थानीयबाट सहयोगमा आर्थिक संकलन गरी उपचार र खानपानको व्यबस्था गरिएको छ । तर, त्यो पर्याप्त छैन । छिमेकीले जेजस्तो व्यबहार गरे पनि आफूले विहान ढोका खोल्ने, चिया पकाउने खुवाउने गरेको स्थानीय सहयोगी प्रेमबहादुर बज्यु बताउनुहुन्छ ।

केही छिमेकीले नराम्रो व्यबहार गरे पनि उनलाई औषधी किनेर ल्याउने, आवश्यक सामान अनि उपचार गर्ने श्यामसुन्दर श्रेष्ठ, हरेक दिन आफ्नो छोराजस्तै हेरचाह गर्ने छिमेकी बज्यु र बहिनी नाता पर्ने एक महिलाले हरेक दिन खाना पकाएर खुवाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्