सरकारले एसईई नरोक्ने



ईश्वरराज ढकाल, काठमाडौं ।

सरकारले एसईई परीक्षा नरोक्ने भएको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको अवस्थामा परीक्षा नरोकेको भन्दै अभिभावक महासंघलगायत सरोकारवाला निकायले भने असन्तुष्टि जनाएका छन्।
केही दिन शिक्षण संस्था बिदा दिन गरेको आग्रहलाई बेवास्ता गर्दै परीक्षा गर्न लागेको हो।

१ हजार ९ सय २५ केन्द्रमा करिब ५ लाख विद्यार्थीको सहभागिता हुने परीक्षामा सरकारले संक्रमणको चरणमा पुगेको अवस्थामा परीक्षा सञ्चालन गर्न लागेको हो। पछिल्लो तथ्यांकअनुसार हाल विश्वका १ सय २७ मुलुकमा कोरोना संक्रमण देखिइसकेको छ।

राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पूरा भइसकेको अवस्थामा परीक्षा गर्नुपर्ने सुझाव मन्त्रालयलाई दिएपछि चैत ६ गतेदेखि परीक्षा हुने पक्का भएको बताउँदै आएको छ। बोर्डले सबै परीक्षा केन्द्रमा स्वास्थ्य–कक्ष राखेर परीक्षा सञ्चालन गर्ने दाबी गरे तापनि अहिलेसम्म कुनै तयारी छैन। परीक्षा आउन ३ दिनमात्र बाँकी छ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य–कक्ष राखेर परीक्षा दिने तयारी भइरहेको दाबी गर्नुभयो। उहाँले स्वास्थ्य परीक्षणसहित परीक्षा दिने व्यवस्था गर्न शिक्षा मन्त्रालयलाई पत्र पठाएको जानकारी दिँदै भन्नुभयो– ‘हामी पूर्णरूपमा तयारी अवस्थामा रहेका छौं, सरकारी निर्णयअनुसार चल्नेछौं।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सो विषयमा छलफल भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘कोरोना संक्रमण हुनसक्ने विषयमा हामी संवेदनशील छौं, परीक्षाअघि नै केही निर्णय गर्नेछांै।’

शिक्षा मन्त्रालयमा आइतबार नै बसेको बैठकमा शिक्षा सचिव महेश दाहालले अवस्था हेरेर निर्णय गरिने बताउनुभएको थियो। ‘गम्भीर अवस्था आए लक डाउन गर्नसमेत पछि हट्दैनौं तर अहिले नै परीक्षा रोकिहाल्ने अवस्थामा छैनौं।’ –उहाँको भनाइ थियो।

अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले विश्वभर कोरोनाको सन्त्रास बढिरहेको अवस्थामा परीक्षा गर्नैपर्छ भनेर रटान गर्नु गलत भएको बताउँदै भन्नुभयो– ‘सरकार पाँच लाख बालबालिकाप्रति संवेदनशील नभएकाले गम्भीर समस्या परेको हो।’

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले केही दिनका लागि परीक्षा स्थगित गर्नु उचित हुने दाबी गर्दै भन्नुभयोे– ‘हामीले अघिल्लो बैठकमा नै परीक्षा स्थगित गर्नुपर्छ भन्ने धारणा राखेका थियौं, सरकारले चासो राखेन।’

‘हामीले पनि केही समयका लागि परीक्षा स्थगित गर्न सुझाएका छांै’, प्याब्सनका अध्यक्ष टीका पुरीले भन्नुभयो– ‘सरकारले अवस्था विश्लेषण गरेर निर्णय गर्ला कि हामीले हिजोको बैठकमा तत्काल परीक्षा रोक्दा समस्या नपर्ने जनाएका थियौं।’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि केही दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ।

बोर्डले भने ७७ वटै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पुगेर सम्पूर्ण तयारी भइसकेको अवस्थामा परीक्षा रोक्न नहुने जिकिर गरिरहेको छ।

परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुनेछन्। एउटा केन्द्रमा करिब ३ सय विद्यार्थी सहभागी हुने परीक्षामा एक जनालाई संक्रमण देखिए के गर्ने भन्ने विषयमा सरकारले पूर्वतयारी गर्न सकेको छैन।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बस्ने उच्चस्तरीय समितिले दैनिकजसो बैठक बसेर अवस्था विश्लेषण गरी परीक्षा सञ्चाालन गर्ने वा नगर्ने अवस्थामा पुग्ने बैठकमा जानकारी गराइएको थियो। शिक्षा सचिवको अध्यक्षतामा बसेको बैठकमा सचिव दाहालले परीक्षा लिने वा नलिने भन्ने विषयमा सरकारले निर्णय गर्ने जानकारी गराउनुभएको थियो।

शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले चिकित्सकले सुझाव दिएपछि मात्रै निर्णय गर्न उचित हुने बताउँदै भन्नुभयो– ‘कोरोना संक्रमण भएको मुलुकले मात्र विद्यालय बन्द गरेका छन्, नेपालमा संक्रमण देखिएको छैन भनेको अवस्थामा परीक्षा लिने वा नलिने भन्ने विषयमा सरकारले नै निर्णय गर्नेछ।’ परीक्षाअगाडि विद्यार्थी र अभिभावकलाई ढुक्क भएर परीक्षा दिने वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उहाँको भनाइ थियो।

शिक्षामन्त्री पोखरेलले सेल्फ क्वारेन्टाइनमा बसेर भए पनि परीक्षा सञ्चालन हुने बताउँदै आउनुभएको छ भने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले राष्ट्रियसभाको बैठकमा अवस्था हेरेर एसईईलगायतका परीक्षा स्थगित हुन सक्ने संकेत दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयले पनि कुनै परीक्षा नरोक्ने जनाउँदै आएको छ।

त्रिविले यही चैत दोस्रो सातादेखि भदौसम्म लगातार परीक्षा सञ्चालन गर्नेछ। त्रिविका उपकुलपति प्राडा. धर्मकान्त बास्कोटाले कसैलाई संक्रमण देखिए परीक्षा स्थगित गर्ने विषयमा छलफल हुने बताउँदै अहिलेकै अवस्थामा भने नरोक्ने जीकिर गर्नुभएको छ। उहाँले सबै परीक्षाकेन्द्रमा सावधानीका साथ परीक्षा सञ्चालन गर्ने बताउनुभयो।

सरकारले संक्रमण हुनुभन्दा पहिला नै सावधानी अपनाउँदै केही दिन शिक्षण संस्था बन्द गर्दा समस्यामा कमी आउन सक्ने सरोकारवालाको भनाइ भए पनि सरकार भने सबै परीक्षा गर्ने एकोहोरो अडान छ।

खखखखखखखख

प्रतिक्रिया दिनुहोस्