हेटौंडामा सकियो राणाकालीन क्षमापूजा



न्युज अफ नेपाल, हेटौंडा ।

 

मकवानपुरको धार्मिक तथा ऐतिहासिक शक्तिपीठ हेटौंडा–१० मा रहेको भुटनदेवी मन्दिरमा वार्षिक वीशासाय क्षमापूजा शनिबार भएको छ ।

 

१९०९ देखि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले वार्षिक वीशासय क्षमापूजा सुरु गरेका थिए । जंगबहादुर राणा शिकार खेल्ने क्रममा शिकार फेला नपरेपछि भुटनदेवी मन्दिरमा बली चढाएपछि शिकार फेला परेको इतिहास छ ।

 

त्यसपछि उक्त पूजालाई वर्षेनी निरन्तरता दिइँदै आएको भुटनदेवी मन्दिर व्यबस्थापन समिति अध्यक्ष राममान श्रेष्ठले बताउनुभयो । सम्पूर्ण नेपालीको सुखशान्ति र सम्बृद्धिका लागिसमेत पूजा गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 

पूजाका लागि सरकारी बजेट प्राप्त हुँदै आएकोमा २०४६ को जनआन्दोलनपछि अञ्चलाधीश कार्यालय विघटनहुँदा बजेट कटौती भएको छ । त्यसपछि स्थानीय निकाय, संघसंस्था, व्यबसायी, समाजसेवी र भक्तजनको आर्थिक सहयोगबाट पूजालाई निरन्तरता दिइँदै आएको छ ।

 

पूजामा कुखुरा, हाँस, बोका, पाठी, राँगा, परेवा र सुंगुरसहित सात प्रजातिका एक सय २८ बली दिइने प्रचलन छ । प्रत्येक वर्ष चैतमा शनिबार भुटनदेवी मन्दिरमा क्षमापूजा गरिँदै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 

क्षमापूजा गर्दा शक्तिस्वरुपा भुटनदेवी माताले शक्ति प्रदान गर्ने र सुखशान्ति र सम्बृद्धि रहिरहने जनविश्वास छ । ऐतिहासिक महत्व बोकेको क्षमापूजालाई संरक्षण गर्दे लैजानुपर्ने भक्तजन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्