खैराँती मास्टर !



नारायण खनाल, मालारानी-३,  अर्घाखाँची ।

(कविता)

वेखवर अभिभावकका
निश्चिन्त सुस्केराहरूसँगै
अतृप्त आत्मा बोकेर आएका
कलिला मनहरुमा

चेतनाको राँको बालिरहेको म
कथित असभ्य शहरमा बसेर
सगरमाथा भन्दा अग्ला अहम् गर्नेहरुलाई
रङ उडेका चित्र बनाउन उद्दत
सृष्टिका कलिला आत्माहरूमा
टेकासी हालिरहेको म

म आफैले तिमीलाई दिएको ज्ञानले
आँखाले सत्य देख्ने बनेपछि
तिमी आफैंले ,मलाई
दियौ कि यो उपमा ‘खैराँती मास्टर’
वा ती स्वतन्त्रताको मिठास चखाउने
माधुर्य सुवासका झंकारहरुलाई।

मेरो यही मात्र गल्ती थियो
रित्तै आएको तिमीलाई
भरिपूर्ण बनाएर पठाउनु
जीजिविषाको मसाल बाल्न सिकाउनु
खहरेका बगरहरुसँग जुधेर
शीतल समीरको स्नेह चखाउनु
अश्लील नजरवाणहरुलाई रोकेर
खुला आकाशमा नाच्न सिकाउनु

हो, त्यही गुनको बदला
तिमी आफैले, मलाई
दियौ कि यो उपमा‘खैराँती मास्टर’
वा ती आफ्ना आभाले अँध्यारो छोपेर
चाँदमा पुर्याउने किरणहरुका मञ्जरीहरुलाई ।

समाजको साँघुरो आँखाले नदेख्ने
मुस्कान भित्रका रहस्यहरु खोजेर
राष्ट्रका निधीको सम्मान दिई
आकाशको जस्तै सग्लो तृष्णा पुर्याइदिन
आफू प्वाँख काटिएको पंक्षी बनेर पनि
बिजुली झैं चम्कन र
नदिहरु झैं लम्कन सिकाइरहेको म

म आफैंले, तिमीलाई दिएको ज्ञानले
आँखाले सत्य देख्न सक्ने बनेपछि
तिमी आफैंले, मलाई
दियौ कि यो उपमा ‘खैराँती मास्टर’
वा ती जिब्रो निकालेर स्वादलिइरहेका
अजिङ्गरहरुबाट जोगाउने
जीवनका रक्षाकबचहरुलाई ।

म त
आफ्नै आमाको काख भेट्न
आतुर सन्तानहरुलाई
सकुशल घर पुर्याउन
हावाको गतिलाई निस्तेज पारेर
उडिरहने जहाज हुँ

तिमीले शब्दमा जोखेर मलाई
म कहिल्यै निर्जीव ठहर्दैन
किनकि शब्दका अभावले
कदापि आफ्नो सुवास
भुल्दैनन् फूलहरु ।

प्रतिक्रिया दिनुहोस्