कोरोनाका कारण संकटकालको आवश्यक छैन ः आवे 



टोकियो, (एजेन्सी)

जापानका प्रधानमन्त्री सिन्जो आवेले जापानमा कोरोना भाइरस अर्थात् कोभिड–१९ को समस्या त्यति विकराल नभइसकेकाले हाल नै सरकारले संकटकालको घोषण गर्नु आवश्यक नरहेको शनिबार बताएका छन्।

राजधानी टोकियोमा आयोजित पत्रकार सम्मेलनमा उनले सो प्रतिक्रिया दिनुका साथै स्वास्थ्य विशेषज्ञहरूले कोरोनाको समस्या विस्फोट स्थितिमा नपुग्ने बताएको जानकारी पनि दिएका छन्। शनिबारसम्ममा जापानमा संक्रमितको संख्या १ हजार ४ सय २३ पुगेको छ। हालसम्म मृतकको संख्या २८ पुगेको एनएचकेले जनाएको छ।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ कोरोना भाइरसविरुद्ध लड्न राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। यस घोषणासँगै कोरोनाको महामारीबाट प्रभावित अमेरिकीहरूलाई तत्कालै राहत दिन ५० अर्ब अमेरिकी डलरसम्म खर्च गर्न सकिने पनि ट्रम्पले बताएका छन्।

‘स्टाफोर्ड ऐन’ अन्तर्गत राष्ट्रपतिले ‘सरुवा रोग आपत्काल घोषणा’ गरेपछि संघीय आकस्मिक व्यवस्थापन निकायले राज्य र स्थानीय सरकारलाई प्रकोपविरुद्ध लड्न बजेट दिन सक्ने भएको छ। यस घोषणाले सम्बन्धित निकायहरूलाई विद्यमान कानुनी अवरोध बेवास्ता गरेर राहत वितरण गर्न अनुमति प्राप्त भएको छ।

साथै, ट्रम्पले कोरोनाको संक्रमण रोक्नका लागि अमेरिकाका हरेक राज्यमा इमर्जेन्सी अपरेसन सेन्टर निर्माण गर्न निर्देशन दिइएको बताएका छन्। ‘राष्ट्रिय संकटकाल घोषणापछि वासिंगटनजस्ता संकटमा रहेका राज्यका लागि थप बजेट र स्रोत प्राप्त हुने भएको छ।

यसैगरी, अमेरिकाले २६ वटा युरोपेली देशबाट आउने गैरअमेरिकीहरूका लागि भ्रमण प्रतिबन्ध लगाएको छ। अमेरिकामा शनिबारसम्म ५० जना संक्रमितले ज्यान गुमाइसकेका छन्।

यसैबीच इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्यासम्ममा ५ सय नाघेको छ। इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको संख्या ५ सय १४ पुगेको हो। स्वास्थ्य अधिकारीहरूले शनिबार स्पेनमा थप १ हजार ५ सय संक्रमित भेटिएपछि संक्रमितको कुल संख्या ५ हजार ७ सयभन्दा बढी भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्