स्वदेशी लगानीको बाह्रसिंगे बियरको रुपन्देहीका होटल व्यवसायीद्वारा स्थलगत अध्ययन



यमलाल भुसाल,बुटवल। 

याक ब्रिविङ्ग कम्पनी प्रा.ली.को निमन्त्रणामा रुपन्देहीका होटल व्यबसायीले उक्त कम्पनीको बियर उद्योगको स्थलगत अध्ययन गरेका छन् ।
याक ब्रिविङ्ग कम्पनी प्रा.ली.ले उत्पादन सुरु गरेको ‘बाह्रसिंगे बियर’को बारेमा व्यबसायीलाई जानकारी गराउनकालागि होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीलाई संस्थागत निमन्त्रणा गरेको थियो ।

कम्पनीको निमन्त्रणा अनुसार होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीको कार्यसमितिका पदाधिकारी, सदस्य, टोल समितिका संयोजकहरु, अग्रज व्यबसायी सहितको टोलीले चितवनको ईच्छामनकामना गाउँपालिका कुरिन्टारमा रहेको ‘बाह्रसिंगे बियर’को उद्योग र त्यसको उत्पादनका बारेमा स्थलगत अवलोकन गरि जानकारी लिएको संघका महासचिव माधवकुमार खनालले जानकारी गराउनु भयो ।

रुपन्देहीबाट गएको टोलीलाई उद्योगका सञ्चालक रबि केसीले स्वदेशी लगानीमा सञ्चालित उद्योगको उत्पादन प्रवद्र्धन गर्न र त्यसबाट फाईदा लिन समेत होटल व्यबसायीलाई आग्रह गर्नुभयो । सरकारले बाह्य लगानी आह्वान गरिरहेका वेला स्वदेशी लगानी स्वदेशमै गरिएको बताउँदै उहाँले स्वदेशी लगानीको संरक्षण र प्रवद्र्धन गर्न सरकार तथा व्यबसायीलाई समेत आग्रह गर्नुभयो ।

उहाँले १ अर्व ५० करोड लगानीमा बियर उद्योग सञ्चालनमा ल्याएको जानकारी गराउँदै हाल उक्त उद्योगको मासिक ४ लाख केस (पेटी) उत्पादन क्षमता रहेको जानकारी गराउनु भयो । त्यस अवसरमा होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले स्वदेशी उत्पादनलाई व्यबसायीले प्रोत्साहन तथा प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कम्पनीका बजार प्रतिनीधि प्रितिम गिरीले नयाँ बियरको बारेमा प्रकाश पार्दै याक ब्रिविङ्ग कम्पनी प्रा.ली.कै टिमले यति डिष्ट्रिलरीबाट ब्लाक चिम्नी, वर्ड दरबार, ८८४८, लगायतका मदिरा उत्पादन तथा बजारीकरण गर्दै आएको जानकारी गराउनु भयो । याक ब्रिविङ्ग कम्पनी प्रा.ली.ले नयाँ उत्पादन गरेको ‘बाह्रसिंगे बियर’ क्यान र बोटल तथा प्रिमियम र स्ट्रोङ् दुबैमा रहेको पनि उहाँले जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्