समाचार प्रभाव: सीमानाकामा स्वास्थ्य परीक्षण केन्द्र स्थापना



नेपाल समाचारपत्र, डडेल्धुरा

 

भित्रिमधेस क्षेत्रका सीमानाकाहरुमा स्वास्थ्य परीक्षण केन्द्र स्थापना गरिएको छ ।

 

भारतसँग सिमा जोडिएको डडेल्धुराको परशुराम नगरपालिकाले पनि सिमा नाकामा निगरानी बढाएको छ । विश्वभर संक्रमणको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्न सिमानाकामा हेल्थ डेस्क स्थापना गरिएको हो । भारतबाट नेपाल भित्रिने यात्रुको स्वास्थ्य परीक्षणका लागि बिहीबारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए ।

 

परशुराम नगरपालिकाको वडा नं ६ तातापानीस्थित सिसमझाला घाट र वडा नं ५ परिगाउँस्थित वाङघाट नाकामा हेल्थ डेस्क स्थापना गरिएको हो । हेल्थ डेस्कमा २–२ जना स्वास्थ्यकर्मी तथा आवश्यकताअनुसार सुरक्षाकर्मी खटाइएको परशुराम नगरपालिकाका प्रवक्ता गणेशप्रसाद जोशीले बताउनुभयो ।

 

परशराम नगरपालिकाको परशुराम रंगशालामा आइसोलेसन वार्डसमेत स्थापना गरेको उनले जानकारी दिनुभयो ।

 

कोरोनाको शंकास्पद बिरामीका लागि ४ देखि ५ शैयाको आइसोलेसन वार्ड स्थापना गरिएको हो । आवश्यकताअनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा स्वाथ्यकर्मी परिचालन तथा आइसोलेसन वार्ड क्षमता थप गर्न सकिने अधिकृत पनेरुले जानकारी दिए ।

 

भारतीय सिमासँग जोडिएका नाकाहरुमा स्वास्थ्य परीक्षण केन्द्र स्थापना हुन नसकेको सन्दर्भमा बुधबार नेपाल समाचारपत्र राष्ट्रियमा समाचार सम्प्रेषण भएपछि स्थानीय प्रशासनको दबाबमा बिहीबार स्वास्थ्य परिक्षण केन्द्र स्थापना गरिएको हो ।

 

यसअघि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गत फागुन २२ गते हेल्थ डेस्क स्थापन गर्न स्थानीय तहहरुलाई पत्राचार गरेको थियो । छिमेकी मुलुक भारतमा ७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

 

कोराना भाइरसको संक्रमण रोक्न मुलुकका विभिन्न सिमानाकाहरुमा कडीकडाउ गर्नुका साथै जनचेतनामूलक गतिविधिहरुका साथै स्वास्थ्य परिक्षण केन्द्र स्थापना भए पनि डडेल्धुराका सिमा नाकामा हालसम्म स्वास्थ्य परिक्षण केन्द्र स्थापना हुन सकेको थिएन ।

 

भारतीय सिमानाका जोडिएका परशुराम नगरपालिकाका वडा नं. ५ र ६ मा रहेका सिमा नाकामा हालसम्म जनचेतना अभिवृद्धि गर्ने किसिमका कुनै पनि काम नभएकोमा स्वास्थ्य परीक्षण केन्द्र स्थापना भएपछि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने परशुराम नगरपालिका–६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिँहले बताउनुभयो । भारतको सिमा क्षेत्रमा रहेका यहाँका नाकाहरुबाट दैनिक सयौं स्थानीय आवत–जावत गर्ने गर्दछन् ।

 

जिल्लाको झण्डै आधा जनसंख्या रहेको भित्रिमधेस क्षेत्रमा रहेका दुबै नाकाहरुमा स्वास्थ्य परिक्षण केन्द्र स्थापना भए पनि पहाडी क्षेत्रका बासिन्दाले प्रयोग गर्ने रुपाल नाकामा हालसम्म स्वास्थ्य परिक्षणका लागि हेल्पडेस्क स्थापना हुन सकेको छैन । रुपाल नाकामा सरकारले सामान्य पर्चा पोष्टरसमेत पु¥याउन नसकेको स्थानीय अगुवा मदन नाथले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्