मनाङ १०औं पटक फाइनलमा



विजय नेपाली, पोखरा

 

पाचपटकको विजेता मनाङ मस्र्याङ्दी क्लब १८औँ आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

 

सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलको अन्तरले हराउँदै मनाङ १०औं पटक फाइनलमा पुग्यो। मनाङ आहा रारा गोल्डकपमा सर्वाधिक फाइनल प्रवेश गर्ने टिमसमेत भएको छ।

 

मनाङले आहा गोल्डकपमा ५ पटक उपाधि चुमेको छ भने ४ पटक उपविजेतामा चित्त बुझाएको थियो। त्यस्तै, क्याराभान गोल्डकपमा पनि मनाङ उपविजेतामै सीमित भएको थियो।

 

बिहीबार पोखरा रंगशालास्थित निमार्णधीन फुटबल मैदानमा भएको मनाङको जितमा फ्लोरेन्ट, विमल राना र अन्जन विष्टले गोल गरेका हुन्। खेलको चौथो मिनेटमा मनाङका फ्लोरेन्टले गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले अन्जन विष्टको पासमा गोल गरे। खेलको २९औं मिनेटमा विमल राना र ८१औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई जित दिलाए।

 

पहिलो हाफमा नै २–० ले पछि परेको आर्मीले पहिलो हाफको ४१औं मिनेटमा गोल गर्दै अग्रता घटायो। आर्मीका लागि कप्तान भरत खवासले गोल गरे। उनले सुमन अर्यालको क्रसमा नवयुग श्रेष्ठले दिएको हेडपासमा गोल गरे।

 

खेलको ८१औं मिनेटमा थप १ गोल खाँदै ३–१ को स्थितिमा पुगेको आर्मीले ८३औं मिनेटमा गोल गर्दै अग्रता घटाए। आर्मीका लागि दीप लामाले गोल गर्दै आर्मीको आश जगाए पनि पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो।

 

अत्यन्तै प्रतिस्पर्धात्मक खेलको १८औं मिनेटमा मनाङका अन्जनले गरेको प्रहारले जाली चुम्न सकेन। खेलको १९औं मिनेटमा आर्मीका कप्तान भरतको प्रहारलाई मनाङका गोलरक्षक सोजित गुरुङले बचाउ गरे। २२औं मिनेटमा आर्मीका सन्तोष तामाङको फ्रिकिकमा जर्जप्रिन्स कार्कीले प्रहार गरेको बल आकासियो।

 

मनाङका लागि २४औं मिनेटमा दयानन्द सिंहले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन्। ५९औं मिनेटमा विमल रानाको क्रस पासमा पेनाल्टी बक्समा अनमार्क रहेका अन्जनको हेडर आर्मीका गोलरक्षक विवश चौधरीले सहजै नियन्त्रणमा लिए।

 

६९औं मिनेटमा जर्जप्रिन्सको हेड क्रसबारबाट बाहिरियो। ७४औं मिनेटमा नवयुगको प्रहारलाई मनाङका गोलरक्षक सोजितले मुस्किलले पन्च गर्दै बचाए। लगत्तै कर्नरमा आएको बलमा सोजित नै बाधक हुँदा आर्मी बराबरीबाट चुक्यो।

 

मनाङले फाइनलमा नेपाल पुलिसको सामना गर्दै छ। ९ पटक आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिसले पनि ५ पटक उपाधि चुमिसकेको छ भने ३ पटक उपविजेतामा सीमित भएको टिम हो। पुलिस क्याराभान गोल्डकपको समेत विजेता टिम हो।

 

क्याराभानसहित आहा रारा गोल्डकपमा मनाङ र पुलिसको यो तेस्रो भेट हो। क्याराभान गोल्डकपमा पुलिस विजेता हो भने आहा रारा गोल्डकपमा भने दुईपटक मनाङ विजेता बन्न सफल टिम हो।

 

प्रतिक्रिया दिनुहोस्