कैकेयी महाकाव्यको संक्षिप्त चर्चा



डा. घनश्याम न्यौपाने “परिश्रमी”

 

कविता, गीत–गजल, बालसाहित्य, समीक्षा, लघुकाव्य एवं खण्डकाव्यलगायतका कृतिका माध्यमबाट नेपाली साहित्यिक धरातलमा आफ्नो विशिष्ट पहिचान बनाइसकेका कवि गोविन्दराज विनोदीद्वारा विरचित कैकेयी नामक महाकाव्य शिखा बुक्स, काठमाडौंबाट प्रकाशित भई बजारमा आएको छ। यहाँ यसै कृतिको संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ।

 

संस्कृतको अध्यात्म रामायणलाई नेपालीमा भावानुवाद गर्ने काम सर्वप्रथम प्राथमिक कालमा नै भानुभक्त आचार्यले गरे। रामगाथालाई आदर्श राघव नाममा विचित्रमार्गी महाकाव्यका रूपमा रचना गर्ने काम आधुनिक कालमा आएर सोमनाथ सिग्द्यालबाट भयो। यस गाथाका पात्रहरूलाई लिएर विभिन्न काव्य, खण्डकाव्य रचिएका छन्।

 

यसै अनुक्रममा आएको हो महाकाव्यको स्वरूपमा कैकेयी पनि। यो पूर्णतः प्रख्यात बृहदाख्यानको कथावस्तुमा आधारित र मूलतः पद्यकवितात्मक लय ढाँचामा विरचित महाकाव्य हो। यस महाकाव्यको शिल्प र रूप पक्षमा खासै नवीनता देखिँदैन तापनि प्रस्तुतिको ढाँचा भने पृथक् दृष्टिगत हुन्छ। यो महाकाव्य अठार सर्गमा विभक्त छ।

 

पूर्वीय महाकाव्य सिद्धान्तबाट बढी प्रभावित परम्परावादी महाकाव्य भए पनि यसमा सर्गसंख्याको सूचन भने अंकानुक्रमको शीर्षकीकरण र त्यसैको कथ्यसारका आधारमा गरिएको छ। पद्यका पंक्तिपुञ्जहरूलाई परम्परित मान्यताकै आधारमा श्लोकवत अंकानुक्रममा संकेतन गरिएको छ। यसमा वर्णमात्रिक छन्दअन्तर्गतका अनुष्टुप र शालिनी नामक दुईवटा मात्र छन्दको प्रयोग भएको छ।

 

कविले महाकाव्यकी नायिका कैकेयीका एकालापलाई अनुष्टुप छन्दमा र हरेक सर्गान्तका एक–एक श्लोकमा आफ्ना भनाइलाई सारकथ्यका रूपमा शालिनी छन्दमा प्रस्तुत गरेका छन्। प्रस्तुत महाकाव्यमा नायिकाको चरित्रसँग महाकाव्यीय आख्यानको कथातन्तु आद्योपान्त जोडिएको छ। यसरी यस महाकाव्यको सकल कथामा अन्विति देखिन्छ।

 

उपसंंहारबाहेक यसका प्रत्येक सर्गमा नायिका कैकेयी म पात्रका रूपमा समाख्याता रहेकी छन्। यस महाकाव्यमा मंगलाचरणका विकल्पमा कविले प्रथम सर्गारम्भ पूर्व नै अभिवादन शीर्षकमा रचिएको चौध श्लोकको स्फुट रचनामा शब्दब्रह्म र वाणीसहित आदिकवि वाल्मीकि, व्यास, कालिदास, भारवि, तुलसीदास, भवभूति, भानुभक्त, कविशिरोमणि, लक्ष्मीप्रसाद, चक्रपाणि, युद्धप्रसाद मिश्रसमेत संस्कृत, हिन्दी र नेपाली काव्यजगत्का ख्यातनामा कविहरूलाई स्मरण गरेका छन्।

 

यसपछि सूत्रधार शीर्षकको चतुष्पदीमा कवि स्वयंको सूत्रधारका रूपमा उपस्थिति रहेको छ। कुन आख्यान वा अन्तर्वस्तु भएको कथ्यमा महाकाव्य लेखिँदै छ भन्ने कुराको वस्तुनिर्देशनात्मक संकेतन यिनै दुई प्रस्तुतिबाट भएको छ।

 

यस महाकाव्यको पहिलो सर्ग राज्याभिषेक सन्दर्भ शीर्षकमा रहेको छ। यसमा ६७ श्लोक छन्। यसमा राजा दशरथद्वारा रामलाई राज्यको उत्तराधिकारी घोषित गरिएको र राज्याभिषेकको तयारी भएकोमा कैकेयीको प्रसन्नताको कथ्य छ। दोस्रो सर्ग पूर्वस्मृति शीर्षकमा रहेको छ। यसमा पनि ६७ श्लोक नै छन्। यसमा कैकेयीले आफ्नो विगत सम्झेको प्रसंग छ।

 

तेस्रो सर्ग मन्थराको सल्लाह शीर्षकमा रहेको छ। यसमा ६५ श्लोक छ। यसमा कैकेयीलाई दासी मन्थराले राजासँग रामलाई वनवास र भरतलाई राज्यको माग गर्न सल्लाह दिएकी छ। चौथो सर्ग पूर्वप्रसंग शीर्षकमा रहेको छ। यसमा ७५ श्लोक छ। कैकेयीले देव–दानव युद्धमा राजालाई सघाएको प्रसंग छ। पाँचौं सर्ग वरयाचना शीर्षकमा रहेको छ। यसमा ६३ श्लोक छ।

 

यसमा कैकेयीले राजा दशरथसँग देव–दानव युद्धमा राजालाई सघाएबापत पाउने थाती राखेका दुई वर माग गर्दछिन्। छैटौं सर्ग राजाको अनुनय शीर्षकमा रहेको छ। यसमा ७९ श्लोक छ। यसमा राजाले यस्तो वर नमाग्न रानी कैकेयीसँग आग्रह गरेको प्रसंग छ। सातौं सर्ग राम वनप्रस्थान शीर्षकमा रहेको छ। यसमा पनि ७९ श्लोक छ।

 

कैकेयीले राजाको आग्रह अस्वीकार गरेपछि अन्ततः रामको वन प्रस्थानको कथ्य यस सर्गमा छ। आठौं सर्ग राजाको देहत्याग शीर्षकमा रहेको छ। यसमा ६९ श्लोक छ। रामको वन प्रस्थानलगत्तै पुत्रशोकले गर्दा राजा दशरथको देहावसान भएको कथा यसमा छ। नवौं सर्ग भरत आगमन शीर्षकमा रहेको छ। यसमा ७७ श्लोक छ। यस सर्गको कथामा रामको वन प्रस्थानपछि मावली देशमा रहेका भरतको अयोध्या आगमनको प्रसंग छ।

 

दसौं सर्ग भरतको राज्यव्यामोह शीर्षकमा रहेको छ। यसमा पनि ७७ श्लोक नै रहेको छ। आफ्नी माताका कारण रामलाई वनवास पठाइएको र राजा आफूलाई घोषित गरिएको जानकारी पाएका भरतले राजगद्दीमा आसीन हुन अस्वीकार गरेको सन्दर्भ यस सर्गमा रहेको छ। एघारौं सर्ग भरतराम मिलन शीर्षकमा रहेको छ। यसमा ७१ श्लोक रहेको छ।

 

भरत रामलाई खोज्न वनमा गएको र चित्रकूट पर्वतमा भेट भएको कथ्य यसमा छ। बाह्रौं सर्ग रामको दृढता शीर्षकमा रहेको छ। यसमा ७३ श्लोक रहेको छ। भरतले रामलाई अयोध्या फर्काउन निकै प्रयास गरेका भए पनि रामले नफर्कने दृढता व्यक्त गरेको प्रसंग छ यस सर्गमा। तेह्रौं सर्ग भरतद्वारा प्रतिनिधित्व शीर्षकमा रहेको छ। यसमा ७३ श्लोक रहेको छ।

 

यसमा रामले मात्र नभएर गुरु वशिष्ठ र राजा जनकले समेत रहस्य खोलेर सम्झाएपछि रामका प्रतिनिधिका रूपमा राज्य चलाउने गरी भरत फर्केको कथा छ। चौधौं सर्ग कैकेयीको पश्चाताप शीर्षकमा रहेको छ। यसमा ६७ श्लोक रहेका छन्। मूलतः यस सर्गमा रामलाई वनवास पठाउने भूमिका आफूले खेलेकी कैकेयीमा पश्चाताप बोध भएको कथा छ। पन्ध्रौं सर्ग ऋतु परिवर्तन शीर्षकमा रहेको छ।

 

यसमा ६ वटै ऋतुको छोटोछरितो वर्णनका साथै राम वन प्रस्थान गरेको चौध वर्ष व्यतीत भइसकेको र यसबीचमा कैकेयी मनमा कुनै खुसी नभएको कुरा उल्लेख छ। सोह्रौं सर्ग राम प्रत्यागमन शीर्षकमा रहेको छ। यसमा ६३ श्लोक रहेका छन्। यस सर्गमा राम चौध वर्ष वनवास पूरा गरी अयोध्या फर्केको कथा छ। सत्रांै सर्ग क्षमायाचना शीर्षकमा रहेको छ। यसमा ७७ श्लोक रहेको छ।

 

यसमा आफ्नै मागका कारणले चौध वर्ष वनवास पूरा गरी अयोध्या फर्केका रामसँग कैकेयीले क्षमायाचना गरेको प्रसंग छ। अन्तिम अर्थात् अठारौं सर्ग उपसंहार शीर्षकमा रहेको छ। यसमा ७९ श्लोक रहेको छ। यस सर्गमा कवि स्वयं समाख्याताका रूपमा उपस्थित भएका छन् र काव्यनायिका कैकेयीको चरित्र र क्षमताको वर्णन गरेका छन्।

 

यस महाकाव्यअन्तर्गतका पहिलोदेखि सत्रौं सर्गसम्म मपात्रका रूपमा नायिका कैकेयीलाई नै सर्वद्रष्टा समाख्याता बनाइएको छ भने अन्तिममा कवि स्वयं समाख्याता बनेका छन्। यसै क्रममा मातृमहिमा र वात्सल्यको चर्चा पनि गरेका छन्। वस्तुतः कैकेयी रामगाथाका आधारमा अनादृता नारीका रूपमा प्रख्यात छिन्। कविको भने उनीप्रति सहानुभूति र सद्भाव रहेको छ।

 

केकय देशका राजा अश्वपति र रानी पृथ्वीकी सुपुत्री तथा युधाजितकी सहोदर बहिनी कैकेयी शस्त्रविद्या प्रशिक्षित र शास्त्रविद्याकी पनि ज्ञाता थिइन्। उनको रूप र ज्ञानको चर्चा सबैतिर सुगन्धझैं फैलिएको थियो।

 

राजा दशरथले उनीसँग विवाह गर्ने सन्दर्भमा केकय नरेशबाट मेरी छोरी राजमाता बन्न पाउनुपर्छ भनेर राखेको माग स्वीकार गरेका थिए भने देव–दानव युद्धमा राजालाई बचाएकी कैकेयीलाई दुईवटा वर माग्न आग्रह गर्दा पछि माग्नेछु भनेकी र दासी मन्थराको सल्लाहबाट रामलाई वनवास र भरतलाई राजा घोषित गरियोस् भनी वर माग गरेकी कैकेयी दोषी होइनन् भन्ने कविको जिकिर रहेको छ।

 

कैकेयी नामकृत प्रस्तुत महाकाव्य मूलतः उपजीव्य ग्रन्थ आर्ष महाकाव्य रामायणको प्रख्यात कथावस्तुमा सिर्जना भएको छ। यसलाई सीताहरणसँग जोडेर लंका भने पु¥याइएको छैन। नायिका कैकेयीकै चरित्र, क्रियाकलाप र मनोदशामा यसको आख्यान आद्यन्त अगाडि बढेको छ। शैलीगत दृष्टिले यो पूर्वीय महाकाव्य परम्पराकै एउटा नवीन उपलब्धि हो।

 

कवि विनोदीले रामगाथालाई नायिका प्रधान बनाएर यस महाकाव्यमा नयाँपन दिएका छन्। यत्ति मात्र होइन, कैकेयीप्रतिको आजसम्मको लोकदृष्टि गलत रहेको कुरालाई सप्रमाण सबल ढंगले उठाएर उनलाई निष्कलङ्कित बनाउने उद्देश्यसमेत राखेका छन्। पूर्वीय महाकाव्य सिद्धान्तअनुसार प्रत्येक सर्गमा छन्द परिवर्तन हुने वा विविध छन्दको प्रयोग गर्नुपर्ने मान्यतालाई कविले आत्मसात् गरेका छैनन्।

 

महाकाव्यमा कम्तीमा आठ सर्ग र सहस्राधिक श्लोक हुनुपर्छ भन्ने पूर्वीय मान्यताका आधारमा यस कृतिले महाकाव्यीय स्वरूप प्राप्त गरेको छ। एउटा महाकाव्य एउटै छन्दमा लेखिनुपर्छ भन्ने पाश्चात्य महाकाव्य सिद्धान्तको मान्यता हो। तर, पूर्वीय महाकाव्यमा पनि यसको प्रभाव देखिन्छ। यस महाकाव्यमा विविध प्रकारका अनुप्रास, उपमा, रूपक, उत्प्रेक्षा, दृष्टान्त, शङ्कर, अर्थान्तरन्यास, सन्देह, सम्भावनालगायतका केही प्रसिद्ध अलङ्कारको प्रयोग व्यापकरूपमा भएको पाइन्छ।

 

यसमा राजनीति, कूटनीति, द्वेषनीति, रुष्टता, पश्चातापबोध, सहनशीलता, नारीवादी चिन्तन, मातृवात्सल्य, सत्ताव्यामोह, भ्रातृप्रेम जस्ता विषयहरूको प्रभावकारी प्रस्तुति रहेको छ। गम्भीरतापूर्वक अनुगमन गर्दा यस कृतिमा महाकाव्यीय संरचनाका दुर्बलता न्यून र सबलताको आधिक्य दृष्टिगोचर हुन्छ। कविले यसै कृतिको अभिवादनमा भनेका छन्–

 

बृहत् श्रीरामगाथाको यो सानो अंश केवल कचौराले उबाएको महासागरको जल (श्लोक १३)

 

तर, यसरी कचौराले उबाएको महासागरको जल नेपाली साहित्यमा महाकाव्यको रूपमा आएको छ, जुन स्वागतयोग्य छ।

 

प्रतिक्रिया दिनुहोस्