काभ्रेमा चैत्र २ देखि ३१ हजार ९ सय ७२ बालबालिकालाई दादुरा- रुबेला खोप लगाइँदै



मोतीराम तिमल्सिना, काभ्रे ।

स्वास्थ्य कार्यालय काभ्रेले दादुरा रुवेला खोपको राष्ट्रिय अभियान जिल्लामा दुई चरणमा संचालन गर्ने भएको छ ।

पहिलो चरण चैत्र २ गते देखि १० गतेसम्म चारवटा नगरपालिका र ४ वटा गाउँपालिकामा संचालन हुनेछ भने दोश्रो चरणमा दुईवटा नगरपालिका र ३ वटा गाउँपालिकामा चैत्र १४ देखि २२ गतेसम्म संचालन हुनेछ । जिल्ला खोप समन्वय समिति काभ्रेले दुबै चरणमा सम्पन्न हुने खोप अभियानलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको थियो । बैठकको निर्णय तथा अभियानको तयारीका बारेमा स्वास्थ्य कार्यालय काभ्रेले विहिबार आयोजना गरेको पत्रकारहरुसँगको अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनु भयो ।

अभियानको पहिलो चरण भुम्लु, चौरीदेउराली, तेमाल र रोशी गाउँपालिका, मण्डनदेउपुर, धुलिखेल र नमोबुद्ध नगरपालिकामा संचालन हुने छ भने दोश्रो चरण बनेपा र पनौती नगरपालिका, बेथान्चोक, खानीखोला र महाभारत गाउँपालिकाकामा हुनेछ । ९ महिना देखी ५ वर्ष मूनीका बालबालिकाहरुलाई दादुरा रुवेला खोप दिई यि दुबै रोगहरु नेपालबाट निवारण गर्ने निर्णय गरेको प्रमुख झाले बताउनु भयो । यो पाँचौ राष्ट्रिय अभियान हो । जिल्लामा यो समुहमा ३१ हजार ९ सय ७२ बालबालिका छन् । बालबाकिलाहरुका लागि जिल्लामा ९ सय ६२ खोप केन्द्र तय भएका छन् भने १ हजार ९ सय २४ स्वयंसेवीका र १ हजार ८७ जना खोप कार्यकर्ता परिचालन गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

राष्ट्रिय अभियानहरु पहिलो २००४, दोश्रो २००८, तेश्रो २०१२, चौथौ २०१६ मा आयोजना गरिएको थियो । हरेक चार चार वर्षमा गरिने यो अन्तिम चरणको खोप कार्यक्रम हो । यो खोप लगाउने बालबालिकाहरुलाई उक्त रोगको अलावा झाडापखाला र विफरका रोगबाट समेत बालबालिकाहरुलाई बचाउन सकिन्छ । २०२३ भित्र नेपाललाई पोलियो र दादुरा रुवेला उल्मुलन गरिसक्ने लक्ष्य अनुसार कोहि बालबाकिलाहरुलाई नछुटाई उक्त खोप लगाउने अभियान शुरु गरिएको बैठकमा झाले जानकारी दिनु भयो । विशेषगरी इट्टाभट्टामा काम गर्ने तथा श्रममा जाने मजदुरका सन्तानहरु नछुटुन् भन्ने उदेश्यले हरेक खोप केन्द्रहरुमा त्यो उमेर समुहका बालबालिकाहरु ल्याउने गरी स्थानीय सरकारका प्रतिनिधिहरु तथा विभिन्न सरोकारवाला ब्यक्तिहरुलाई अनुरोध गर्ने निर्णय भएको छ ।

बाग्मती प्रदेशको नुवाकोट जिल्ला बाहेक सबै जिल्लाहरुलाई पूर्णखोप जिल्ला घोषणा गरिएको छ । अझै केहि बालबालिकाहरु खोप लगाउन नियमित खोपकेन्द्र जाने नगरेको तथ्याङ्कले देखाएको छ । उक्त अवधीमा सबै अभिभावकहरुले आफ्ना सन्तानहरुलाई उक्त खोप लगाई अभियान सफल बनाउन र रोगबाट बच्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्