सरकार, नागरिक दायित्वको कुरा गरौं



भूगोलको मानचित्रमा देशको नक्सा कोरिएपछि देशको सम्पूर्ण हित, सुरक्षा, समृद्धि र सुशासनको निम्ति एउटा संयन्त्र तयार गरेको टिम हो सरकार⁄ हामीले तिरेको कर र विदेशमा गएर ५०–५५ डिग्रीमा श्रम बेचेर पठाएको पैसाले नक्सामा रहेको देश चलेको छ सरकार!

सरकार! बुझ्नुस् नागरिक र नागरिकको हृदयमा देशको माया रहुन्जेलसम्म मात्र सरकार रहने हो, सरकारका अंगहरू रहने हो। कोरोनाले विश्वलाई आक्रान्त पारेको बेला नागरिक चाहन्छ कि सरकारको हरकदम नागरिकको स्वास्थ्य र हितको निम्ति होस्। स्वस्थ नागरिक र सबल अर्थतन्त्र रहेसम्म देश बाँच्ने हो। देश बाँचेमात्र सरकार रहने हो। यो देशप्रतिको आस्था पनि हो, विश्वास र भरोसा पनि हो।

अवस्था प¥यो भने सरकारका अंगहरूले बेतलबीमा बसेर पनि कोरोनाविरुद्ध लड्नुपर्छ। नागरिकले पनि राज्यलाई हरसम्भव सहयोग गर्नुपर्छ। अवस्था प¥यो भने सबैलाई क्वारेन्टाइन राख्नु सक्नुपर्छ। रोग लाग्नुभन्दा अगाडिको साबधानी अपनाउनुपर्छ। सबैले होस्टेमा हैंसे थप्नुपर्छ। यो जटिल अवस्थामा सरकारका मन्त्रीहरूले मिडियामा जे पायो त्यही भन्नु भनेको आगोमा घिउ थप्नुजस्तै हौ। यो बेलामा पशुपतिनाथले हैन सबैको विवेक, सहयोग र नागरिकको समर्थनले मात्र महामारीसँग लड्न सकिन्छ। हेक्का रहोस् सरकार!
– वसन्त क्षितिज, काठमाडौं।

स्थानीय तहका अधिकार
जनता र देशको हितमा काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई २२ वटा कानुन बनाउने अधिकार दिइएको छ। यी अधिकारभित्र यस्ता विषय छन्। महानगर, उपमहानगर, नगर र गाउँपालिकामा विकृति रोक्ने, कर्मचारीलाई विषयगत काममा राख्न पाउने, फोहोर व्यवस्थापन गर्न सडक–नाला, ढल निकास बनाउने, वनस्पति, रंगशाला, खेलमैदान, फलफूल पसल, तरकारी पसल अन्य बजार व्यवस्था गर्ने, विद्यालय, संघसंस्थाको खालि जग्गामा तरकारी, फलफूल पसल राख्ने, स्वच्छ खानेपानी, ऊर्जाको व्यवस्थापन मिलाउने छन्।

त्यसै गरी घरजग्गा नक्सापासको दूरी हेरी मापदण्ड बनाउने, सडक बाटोको दूरीअनुसार चौडा बनाउने, रिङरोड छ भने अझ फराकिलो बनाउन कानुन बनाई लागू गर्ने पनि पर्दछ। यसै गरी नगरक्षेत्रभित्र स्वीकृतिविना प्लटिङ गर्न रोक्ने, जथाभावी बस्ती बस्न नदिने, भूमिहीन सुकुम्बासी नेपाली नागरिक भएमा उनको परिवार एकिन गरी खास सुकुम्बासीलाई प्रमाणपुर्जा दिलाई बसोबासको व्यवस्था गर्ने, राष्ट्रिय जंगल, चुरे भावरका जंगल एवं निकुञ्जमा पक्की घर हाली बसेकालाई मुआब्जा दिई हटाउने, आवश्यक पुलहरू निर्माण गर्ने, विषयगत विद्यालय खोली शिक्षाको व्यवस्था गर्ने आदि अधिकार पनि समेटिएका छन्। यी बुँदाका अधिकारलाई चाँडै लागू गर्न सबै स्थानीय तहका जनप्रतिनिधिलाई अनुरोध गर्छु।
– प्रेमबहादुर थापा, दाङ

प्रजातन्त्रप्रति व्यङ्ग्यवाण
‘प्रजातन्त्र’ संख्या पु¥याएर राष्ट्रिय स्वाभिमान, धर्म–संस्कृति, सद्भाव बेच्न सकिने ‘दलालतन्त्र’ हो। म यो प्रजातन्त्र किन मानौं देशभक्तिको सुगन्धित आकर्षण छैन भने ? म यो व्यवस्था किन मानौं मेरी मातृभूमि नेपालप्रतिको प्रेम छैन भने ? सफल प्रजातन्त्र भएका देशहरू जसमा अमेरिका, बेलायत, डेनमार्क, नर्बे, अस्ट्रेलिया, साउथ अफ्रिका, जापान इत्यादि जो एक–अर्का देशका सहयोगी देश हुन्, अर्कोतिर असफल प्रजातन्त्र भएका देशहरू जसमा इराक, सिरिया, लिबिया, सुडान जसले माथिका धनी देशहरूको स्वार्थका लागि सहयोगी बनेनन्।

यसको अर्थ के हो, प्रजातन्त्रको राजनीतिक प्रक्रिया तपाईं–हाम्रा आधारभूत आवश्यकता र विकासका लागि होइन, यो त एउटा सिंगो देशलाई राजनीतिकरूपले आफ्ना स्वार्थका लागि त्यस देशको प्राकृतिक सम्पदामा कब्जा गर्ने, आफू र आफ्नो देशको उन्नति अनुकूल हुने गरी राजनीतिक प्रक्रिया व्यवस्थापन गर्ने नम्बर गमेर विदेशीहरूले बनाएको आधारशिला हो। जसमा विदेशीहरूले खेल्न सक्ने सामाजिकरूपले पर्याप्त ठाउँ राखिदिने माध्यम मात्र हो।
मलाई माफ गर्नुहोला, मेरो देशको अनुभवले मलाई यही सिकायो। देशको उच्च नेतृत्वमा जोसुकै होस्, धनी देशमा यस प्रजातन्त्रले अमेरिकन, युरोपियन,

जापानिज जनतालाई धनी–सुखी–खुशी बनायो, तर हाम्रो देशमा शीर्ष भनिने केही नेता र तिनका कार्यकर्तालाई मात्र धनी–सुखी–खुशी बनायो, नेताहरूको दिन दुगुना रात चौगुना उन्नति गरायो। यो कस्तो प्रजातन्त्र हो नेपाल देश र नेपाली जनतालाई कंगाल बनाउने ? शीर्ष भनाउँदा नेता र उनका नजिकका कार्यकर्तालाई मात्रै धनी बनाउने यो कस्तो प्रजातन्त्र ? यो कस्तो प्रजातन्त्र हो नेपाली चेलिबेटीहरूलाई होटेलमा पु¥याउने, विभिन्न शक्तिको दुरुपयोग गरेर पार्टीको नेतृत्व सम्हालेका भ्रष्टाचारीलाई संसद्मा पु¥याउने ? यो कस्तो प्रजातन्त्र हो सक्षम जनशक्तिलाई खाडी मुलुक पठाउने, देशका प्राकृतिक सम्पदाहरू कोशी, महाकाली दिल्लीलाई बुझाउने ? यो कस्तो प्रजातन्त्र हो देशको उर्बर खेतीयोग्य जमिन बाँझो राख्न लगाउने, विदेशीका रासायनिक खाद्यसामग्रीहरू कमिसनका लागि आयात गर्न लगाउने ? यो कस्तो प्रजातन्त्र हो अधिकारका नाममा देशभित्र जनता मराउने, राजनीतिक उन्नतिका नाममा १२ र २५ बुँदे विदेशीका हितका लागि विदेशीमा गराउने, यो कस्तो प्रजातन्त्र हो ?
हे मेरा देशका नेताहरू हो, भन– यो कस्तो प्रजातन्त्र हो ? संख्या पु¥याएपछि हाम्रो राष्ट्रिय स्वाभिमान, धर्म, संस्कृति, सद्भाव बेच्न सकिने। हे वीर नेपाली हो, प्रजातन्त्र तपाईं–हामीले भोगेको जस्तो हो भने प्रजातन्त्र एउटा गौरवमय संस्थाको गरिमा भत्काउने दलालतन्त्र हो। प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण हेर्नुहोस् त, प्रहरी महानिरीक्षक हुन सक्ने गरी पुगेका सबै अफिसरहरू योग्य नै हुन्छन् नि। वरियताको क्रमअनुसार पदोन्नति गरेर संस्थालाई मर्यादित तथा संगठित बनाउने हो नि। जुन संस्थामा संस्कारको लागि युनिटी छैन वा गरिँदैन, म मेरो छोराछोरीलाई प्रहरी बन्न कहिल्यै प्रोत्साहन दिनेछैन। सबै नेपालीले पनि ठीक यही सोचेका होलान्।
प्रजातन्त्र झोलामा पैसा बोकेर भ्रष्टाचार गर्न पाऊँ भनी पद माग्नेलाई प्रमाणपत्र दिने दलालतन्त्र हो ? प्रजातन्त्र एउटा व्यक्ति, समाज, देशको नैतिकता, संस्कृति, सद्भाव पतन गर्ने दलालतन्त्र हो ? यो कस्तो प्रजातन्त्र हो, अमेरिकी, युरोपी आदि जनतालाई फाप्ने तर नेपाली जनतालाई नफाप्ने। प्रजातन्त्र दलालका लागि महालक्ष्मी हो तर आमगरिब नेपालीका लागि क्यान्सर हो। यो हाम्रो बालिनालीमा लाग्ने रोगजस्तै हो, जमिनको उर्बर शक्ति घटाउने रासायनिक मलजस्तै हो। यसका नीतिगत अन्तरवस्तु नेपाल र नेपाली नागरिकको हित हुने गरी सच्याउन वा परिवर्तन गर्न सकिँदैन। हजार रुपियाँको मासुभातमा हामीले आफ्नो भोट दिएर विगतमा १७ हजार निर्दोषहरूको हत्या भयो र भविष्यमा १७ लाख निर्दोषहरूको हत्या हुन सक्छ। त्यसमा म, मेरा छोराछोरी, मेरो परिवार वा मेरा आफन्तहरू पर्न सक्दैनन् भन्ने ठोकुवा गर्न सक्दिनँ। त्यसैले समग्र देश एकढिक्का भएर सजगताका साथ उपस्थिति जनाऊँ, दलालहरूको गलत क्रियाकलापको पतनका लागि।
– चक्र शाही, काठमाडौं।

 

प्रतिक्रिया दिनुहोस्