एट्लान्टाको जितमा इलिसिसको ४ गोल



लन्डन, (एजेन्सी)

स्लोभेनियाका फरवार्ड जोसिप इलिसिसको चार गोलको सहयोगमा इटालीयन सिरी ए क्लब एट्लान्टा पहिलोपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

स्पेनिस प्रतिद्वनद्वी भ्यालेन्सियालाई प्रि–क्वार्टरफाइनलमा समग्रमा ८–४ गोल अन्तरले पराजित गर्दै एट्लान्टाले पहिलोपटक अन्तिम आठको यात्रा तय गरेको हो।

पहिलो लिगमा एट्लान्टाले घरेलु मैदामनमा ४–१ को सहज जित निकालेको थियो। मंगलबार राति भ्यालेन्सियाको दर्शकविहीन बन्द रंगशालामा खेलिएको दोस्रो लिगको म्याचमा एट्लान्टाले ४–३ को संघर्षपूर्ण जित निकाल्यो। एट्लान्टाको जितमा सबै गोल इलीसीसको नाममा रह्यो। उनले चारमध्ये दुई गोल पेनाल्टीमार्फत गरेका थिए। यता केभिन गेमेरियोले दुई तथा फेरान टोरेसले गोल गरे पनि भ्यालेन्सियाको हार टार्न पर्याप्त रहेन।

एट्लान्टाले खेलको तेस्रो मिनेटमा नै अग्रता लिन सफल भएको थियो। माउक्टर डिएकहवीले इलिसिलाई लडाएपछि प्राप्त पेनाल्टीमा इलिसिस आफैँले गोल गर्न सफल भएका थिए। २१औं मिनेटमा केभिन गेमेरियोले बराबरी गोल फर्काए। ४३औं मिनेटमा इलिसिसले पेनाल्टीमा गोल गर्दै एट्लान्टालाई खेलमा पुनः २–१ को अग्रता दिलाएका थिए।

खेलको ५१औं मिनेटमा गेमेरियोले पुनः गोल थप्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। ६७औं मिनेटमा फेरान टोरेसले गोल गर्दै घरेलु टोलीलाई पहिलोपटक खेलमा ३–२ को अग्रता दिलाए। त्यसपछि एट्लान्टाको जोसिस इलिसिसले दुई गोल गर्दै जित पक्का गरे। उनले ७१औं मिनेटमा ह्याट्रिक पूरा गरे भने ८२औं मिनेटमा चौथो गोल थप्दै एट्लान्टाको जित पक्का गरे।

टोटेनह्याम बाहिरियो
इंग्लिस प्रिमियर क्लब टोटेनह्याम हट्सपर युईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ। मंगलबार राति जित्नैपर्ने खेलमा जर्मन प्रतिद्वन्द्वी आरबी लेइप्जिगसँग ३–० गोल अन्तरले पराजित भएपछि टोटेनह्यामको यात्रा प्रि–क्वार्टरफाइनलबाटै टुंगिएको हो। टोटेनह्याम समग्रमा जर्मन प्रतिद्वन्द्वीसँग ४–० ले पराजित भएको हो।

पहिलो लेगमा टोटेनह्याम घरेलु मैदानमा १–० ले पछि परेको थियो। रेडबुल एरिना लेइप्जिगमा घरेलु टोलीको जितमा मार्सेल सवित्जरले दुई तथा इमिल फोर्सवर्गले एक गोल गरे। खेलको १०औं मिनेटमा मार्सेल सवित्जरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

पेनाल्टी बक्स बाहिरको सवित्जरको प्रहार टोटेनह्यामका गोलरक्षक लोरिसको हातमा लाग्दै गोलमा परिणत भएको थियो। २१औं मिनेटमा सवित्जरले नै हेड गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। सवित्जरको हेडरलाई लोरिसले ठम्याए पनि गोल हुनबाट जोगाउन सकेनन्। ८७औं मिनेटमा इमिल फोर्सवर्गले गोल गरेपछि टोटेनह्यामको अघिल्लो चरण पुग्ने यात्रामा पूर्ण विराम लाग्यो।

 

प्रतिक्रिया दिनुहोस्