मातृशिशु मृत्यु न्यूनीकरण अभियान, प्रदेश–५ मा १० करोड



यमलाल भुसाल, बुटवल

तृशिशु रुग्णता तथा मृत्यु न्यूनीकरणका लागि प्रदेश–५ सरकारले १० करोडको लागतमा विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।
प्रदेश–५ सामाजिक विकास मन्त्रालयले प्रदेशका १२ जिल्लामा ३ सय ६३ वटा बर्थिङ सेन्टर सञ्चालन भए पनि उपलब्धि खासै नदेखिएकाले ती बर्थिङ सेन्टरलाई राम्रो उपकरणसहितको दक्ष जनशक्तियुक्त बनाउनका लागि विशेष कार्यक्रम शुरू गरेको हो।

 

सामाजिक विकास मन्त्रालयले बुधबार आयोजना गरेकोे पत्रकार सम्मेलनमा प्रदेश–५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेशमा मातृ शिशु स्वास्थ्यलाई सुरक्षित बनाउनका लागि संघीय सरकारले प्रदान गरेको १० करोड विशेष अनुदान रकमबाट प्रदेशका ग्रामीण क्षेत्रलाई समेट्ने गरी नर्सिङ कर्मचारीका लागि एसबीए तालिम, मेडिकल अफिसरका लागि एड्भान्स तालिम, ग्रामीण अल्ट्रासाउन्ड तालिम प्रदान गरिने जानकारी दिनुभयो।

त्यस्तै, म्याटनल डेलीभरी, बेबी वार्मर, सब्सन मेसिनसहित प्रसूति हुँदा तथा प्रसूति भइसकेपछि आमा तथा बच्चाको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने २६ प्रकारका इक्युपमेन्ट ग्रामीण क्षेत्रका बर्थिङ सेन्टरलाई उपलब्ध गराइने उहाँले जानकारी गराउनुभयो।

स्वास्थ्य तालिम केन्द्र बुटवलका निर्देशक डा. महेश्वर श्रेष्ठका अनुसार प्रदेशमा स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाको संख्या ५७ प्रतिशत रहेको छ। त्यस्तै, किशोरावस्थामै गर्भवती हुनेको संख्या १७ प्रतिशत रहेको छ। संस्थागत प्रसूतिलाई बढाउने र मातृ शिशु रुग्णता तथा मृत्यु न्यूनीकरण गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो।

कर्मचारी समायोजनअघि प्रदेश–५ मा झन्डै १ हजार ७ सय नर्स कार्यरत रहेका थिए। त्यसमध्ये ७ सय ५० जनाले मात्रै एसबीए तालिम प्राप्त गरेका छन्। यो जनशक्ति सुरक्षित प्रसूतिका लागि ज्यादै न्यून भएकाले यो वर्ष सामाजिक विकास मन्त्रालयले २ सय ९० जना नर्सिङ कर्मचारीलाई एसबीए तालिम प्रदान गर्दै छ। त्यस्तै, १२ जना मेडिकल अफिसरका लागि एड्भान्स एसबीए तालिम र ३० जनालाई ग्रामीण अल्ट्रासाउन्ड तालिम प्रदान गरिने आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश चापागार्इंले जानकारी गराउनुभयो।

यसरी तालिम प्राप्त कर्मचारीले ग्रामीण गर्भवती महिलाको मातृ र शिशुको अवस्था अध्ययन गर्ने र सामान्य प्रकृतिको भएका गर्भवतीलाई नजिकैको बर्थिङ सेन्टरमा जान सल्लाह दिनेछन् भने त्यसबाहेक कुनै प्रकारको जोखिम देखिन्छ भने उनीहरूलाई सोहीअनुसारको सुविधा भएको अस्पतालमा जान सल्लाह दिने निर्देशक चापागाईं बताउनुभयो।

मन्त्रालयले ग्रामीण बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न बनाउनका लागि ३ सय ३५ बर्थिङ सेन्टरमा अत्यावश्यकीय इक्युपमेन्ट प्रदान गर्ने तयारी गरेको हो। जसमा एउटा बर्थिङ सेन्टरलाई उपलब्ध गराइने सेटमा म्याटनल डेलीभरी, बेबी वार्मर, सब्सन मेसिनसहित २६ प्रकारका उपकरण रहनेछन्। त्यस्तै, ग्रामीण क्षेत्रमै करिब २४ वटा पोर्टेवल अल्ट्रासाउन्ड मेसिन पनि उपलब्ध गराउनेछ।

जसका माध्यमबाट तालिम प्राप्त जनशक्तिले गर्भवती आमा तथा बच्चाको अवस्था पत्ता लगाउन सक्नेछन्। यो कार्यक्रम सञ्चालनका लागि पनि स्थानीय सरकार अग्रसर हुनुपर्नेछ। स्थानीय सरकारको माग र त्यस क्षेत्रको आवश्यकताको आधारमा मात्रै सम्बन्धित स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गरिने मन्त्री बरालले बताउनुभयो।

दलित विभागमा रामकिशन
नेपाली कांग्रेस रूपन्देहीले दलित विभाग विस्तार गरेको छ। कांग्रेस रूपन्देहीका जिल्ला सदस्य रामकिशन विश्वकर्माको संयोजकत्वमा दलित विभाग विस्तार गरेको हो।
संयोजक विश्वकर्माले विभागलाई पूर्णता दिन जिल्लाका १७ जना दलित अगुवा तथा कार्यकर्तालाई सदस्यका लागि सिफारिस गरेका छन्। उहाँले पार्टी सभापति अब्दुल रज्जाकसमक्ष सदस्यहरूको नामावली प्रस्ताव गर्नुभएको हो।
पार्टीभित्रको दलित विभागलाई बलियो र संगठित बनाउनका लागि विभाग विस्तार गरिएको जनाइएको छ। कांगे्रसको विधानअनुसार विभिन्न विभाग गठन गर्ने क्रम चलेको छ।

 

प्रतिक्रिया दिनुहोस्