डिफेन्डिङ च्याम्पियन थ्रीस्टार बाहिरियो



विजय नेपाली, पोखरा

अाहा रारा गोल्डकपको डिफेन्डिङ च्याम्पियन रुस्लान थ्रीस्टार क्लब सेमिफाइनलबाटै बाहिरिएको छ।

पोखरा रंगशालामा निर्माणाधीन अवस्थामा रहेको फुटबल मैदानमा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले थ्रीस्टारलाई ३–० ले हराएको हो। पुलिसको जितमा निरकुमार राईले दुई तथा कप्तान भरत शाहले १ गोल गरेका हुन्। पुलिसले क्याराभान गोल्डकपसहित ५ पटकको आहा गोल्डकपको उपाधि चुमिसकेको छ। उता थ्रीस्टार पनि ५ पटकको आहा रारा गोल्डकप विजेता टिम हो।

पुलिस छैटौं पटकसमेत उपाधि उचाल्दै सर्वाधिक आहा रारा गोल्डकपको उपाधि जित्ने दाउमा रहेको छ भने सोही इतिहास बनाउन खोजेको थ्रीस्टारको सपनामा भने पुलिस बाधक बन्यो। अधिकांश नयाँ खेलाडी लिएर मैदान प्रवेश गरेको थ्रीस्टारले आफ्नो इतिहासलाई अघि बढाउन सकेन। खेलको शुरुआतीदेखि नै पुलिसको दबाबमा परेको थ्रीस्टारले गोलको अवसर सिर्जना गर्न सकेन।

पुलिसका कप्तान भरतले खेलको आठौं मिनेटमा गोल गर्दै टोेलीलाई १–० को अग्रता दिलाएका थिए। निरकुमारले भने खेलको ५१औं मिनेटमा गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाएसँगै थ्रीस्टार संकटमा परेको थियो। उनको सशक्त प्रहार थ्रीस्टारका गोलरक्षक पूर्ण चेम्जोङको हातबाट फुस्कदैं गोलमा परिणत भएको थियो। खेलको ७१औं मिनेटमा निरकुमारले व्यक्तिगत दोस्रो गोल गरे।

उनी खेलको म्यान अफ दि म्याचसमेत घोषित भए। जितसँगै पुलिसका मुख्य प्रशिक्षक अनन्तराज थापाले पुलिस फाइटिङ टिम रहेको प्रतिक्रिया दिए। युवाहरूको टिम भएकाले खेल निकै राम्रो रहेको बताए। थ्रीस्टारजस्तो टिमलाई जित्नु आफैँमा ठूलो कुरा रहेको उनले बताए।

उता थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले भने हारे पनि खेलबाट सन्तुष्ट रहेको बताए। ‘हाम्रा अधिकाशं खेलाडी नयाँ छन्, हामी टिम सेट गर्ने क्रममा नै छौँ यो बल्ल शुरुआत हो खेलाडीले सोचेभन्दा फरक खेल खेलेका छन्’ केसीले भने। खेलमा पुलिस जितको हकदारसमेत रहेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्